Saturday, December 11, 2010

गरगहना धितो राखेर सडक निर्माण मा जुटे आमाहरु

स्याङ्जा २४ मङ्सिर -
 गरगहनालाई बैंकमा धितो राखेर स्याङ्जाको एलादी गाविसका आमाहरुले आफ्नो गाउँसम्म पुग्ने चार किलोमिटर ग्रामीण सडक निर्माण गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको सिमाना रत्नेदेखि जिमिरे भोर्लेडाँडा खाल्टे देवीस्थानसम्मको ग्रामीण सडक एलादी गाविसको स्थानीय मालिका आमा समूहको सकि्रयतामा निर्माण गरिएको हो । 

गाउँगाउँको विकास हुन सकेमात्रै देशको विकास हुन्छ भन्ने मान्यतामा आधारित भएर स्थानीय व्यक्तिहरु, बैँक, आमा समूह, क्लबहरुसँग ऋण तथा सहयोग जुटाएर गाउँमा पुग्ने सडक निर्माण गरिएको मालिका आमा समूहकी अध्यक्ष लोकमाया गुरुङले जानकारी दिनुभयो । सो सडक निर्माण गर्दा कुल रु ९ लाख १८ हजार ५०० खर्च लागेको समेत अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- "सुरुमा बाटो खन्दा स्थानीय संघसंस्था, व्यक्तिहरुसँग ऋण सापटी गरेर बाटो निर्माण गरियो तर अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको छ" । 


आमा समूहको सक्रियतामा रत्नेदेखि खाल्टे देवीस्थानसम्मको सडकको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद धनराज गुरुङले गर्नुभयो । सभासद गुरुङले त्यो बाटोको स्तरोन्नतिका लागि रु १ लाख संसद् विकास कोषबाट उपलब्ध गराइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको आमा समूहकी अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सडक निर्माणपछि सो भेगमा फल्ने सुन्तला तथा अन्य कृषि उपजहरु बिक्रीका लागि बजार लैजान सजिलो भएको छ ।

No comments:

Post a Comment