Wednesday, December 8, 2010

पञ्चासेमा पर्यटक बढे

ई  स्याङ्गजा रिपोर्टर ,
सरकारले सन् २०११ लाई पर्यटनको पूर्वसन्ध्यामा पञ्चासे घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्वत, कास्की र स्याङजा जिल्लाको सिमानामा पर्ने पञ्चासे क्षेत्रमा यो वर्ष विगतभन्दा बढी संख्यामा पर्यटक आएका हुन् ।

विगतमा फाट्टफुट्ट मात्र पर्यटक देखिने गरेकामा हिजोआज दैनिक सयौंको संख्यामा आन्तरिक र बाहय पर्यटक घुम्न आउने गरेका छन् । 'वर्षौंपछि यहाँको मौसम सफा र सुन्दर भएको छ,' पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले भने, 'त्यसैले पञ्चासेबाट देखिने मनोरम दृश्य हेर्न पर्यटकको घुइँचो लागेको हो ।' पञ्चासेबाट पाल्पा, कास्की, पर्वत, बागलुङ र स्याङ्जा सदरमुकाम प्रस्ट देखिन्छन् ।

यो क्षेत्रबाट पश्चिमाञ्चल क्षेत्रका अन्नपूर्ण, गणेश, धौलागिरिलगायत एक दर्जन हिमशृंखला एकैसाथ देखिन्छन् । अधिकांश आन्तरिक र बाह्य पर्यटक कास्कीको सिधानेसम्म गाडी रिजर्भ गरेर आउने र त्यहाँबाट

मनोरम दृश्य नियाल्दै पैदल पञ्चासे पुग्ने गरेका छन् ।

'पर्यटन वर्ष सुरु हुन लागेकाले होला पञ्चासेमा पर्यटक नआएको दिन छैन,' पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङले भने, 'यो वर्ष दोब्बरभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् ।' काठमाडौं, पोखरा, चितवन लगायतबाट शैक्षिक भ्रमणका लागि ठूलो संख्यामा विद्यार्थी, शिक्षक आउने गरेका छन् ।

पञ्चासे क्षेत्रमा पर्याप्त होटल नहुँदा विदेशी पर्यटक भने पाल टाँगेर बस्ने गरेका छन् । उनीहरू त्यसैमा रम्ने गरेको स्थानीयहरू बताउँछन् । आन्तरिक पर्यटक दुई र विदेशी पर्यटक चार दिनसम्म यो क्षेत्रमा बस्ने गरेको उनीहरू बताउँछन् । 

भ्यु टावर निर्माण गरिएकाले पर्यटकलाई दृश्य अवलोकन गर्न सजिलो भएको छ । यहाँ ताल र मन्दिर पनि निर्माण गरिएको छ । नेपालकै सबैभन्दा बढी १ सय ४ थरीका सुनाखरी यही क्षेत्रमा पाइन्छ ।

पञ्चासे जडिबुटीका लागि पनि परिचित स्थान हो ।

'घुम्न आउने आगन्तुक जति सबैको सक्दो सेवा गरिरहेका छौं,' अध्यक्ष गुरुङले भने, 'पर्याप्त खानेपानीको अभावले समस्या पारेको

छ ।' पञ्चासेसम्म खानेपानीका लागि प्रक्रिया अगाडि बढाइए पनि विस्तार हुन नसकेको उनले बताए । पञ्चासे कास्की र पर्वतबाट ३५/३५ किमि र स्याङ्जाबाट ४० किमि दूरीमा

छ । पर्वतको आर्थर, चित्रे र कास्कीको भदौरे गाविसमा होमस्टे सेवा सुरु गरिए पनि अधिकांश पर्यटक त्यहाँसम्म पुग्न झन्झट मानेर पञ्चासेमै बस्ने गरेका छन् । बिहानीपख देखिने सूर्योदयको दृश्य क्यामेरामा कैद गर्न पर्यटकको भीड लाग्ने गरेको पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङ बताउँछन् । उनका अनुसार बाला चतुर्दशीका दिन विशेष मेला लाग्ने गरेको छ । गत बाला चतुर्दशीमा २० हजार भन्दा बढी भक्तजनको उपस्थिति रहेको उनले बताए ।

पञ्चासे क्षेत्रमा होटल व्यवसाय पर्याप्त मात्रामा नभएको र पर्यटकलाई सेवा सुविधा दिने उद्देश्यका साथ व्यवसाय विस्तार गरी धेरैको संख्यामा पर्यटक भित्र्याउने अभियान थालनी गरिने गुरुङले बताए ।

No comments:

Post a Comment