Tuesday, November 2, 2010

मादल बनाउन भ्याइनभ्याइ

आधुनिक संस्कृतिका बाजाको प्रयोग बढे पनि ठाउँठाउँमा खुलेका युवाक्लब, आमा समूह र ग्रामीण भेगका मानिसहरूले उत्तिकै अभिरुचिपूर्वक मादल किन्ने गरेको व्यवसायीहरू बताउँछन् । अझ वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेर बिदामा घर फर्केकाहरूले यो वर्ष मादल किन्नमा विशेष चासो देखाइरहेकाले व्यवसायीहरू उत्साहित भएका छन् ।
लोक–संस्कृतिको प्रतीकका रूपमा रहेका मादल, खैंजडी, तबला, डमरुलगायतका वाद्यवादनका सामानहरू लोप हुँदै गई आधुनिक बाजाले बजार पाइरहेको अवस्थामा पनि व्यास–२, भोर्लेटारचोकमा मादलपसल खोलेर बसेका दीपेन बस्नेत र उनकी पत्नी मञ्जु बस्नेतलाई यतिबेला मादल बनाउने चटारो छ । 
ऋतु म्युजिक सेन्टरका प्रोप्राइटरसमेत रहेका बस्नेतले मादल, खैंजडी, डमरु र तबला बनाई प्रशस्त आम्दानी गरिरहेका छन् । बजारमा आधुनिक बाजाको माग भए पनि ग्रामीण क्षेत्रमा भने यस्ता बाजाले प्राथमिकता पाउने गरेको दीपेनको भनाइ छ । लोकसंस्कृतिका पारखी नै आफ्नो ग्राहक भएको उनले बताए । 
दैनिक १५ जना ग्राहकले मादलसहितका परम्परागत बाजा खरिद गर्ने उनले जानकारी दिए । उनका अनुसार तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा र स्याङ्जा जिल्लाबाट यस्ता बाजाको माग बढी हुने गरेको छ ।
परम्परागत बाजाकै व्यापारबाट उनले मासिक ३० हजारभन्दा बढी आम्दानी गर्ने गरेका छन् । सोही आम्दानीबाट उनले दमौलीमा १३ लाखको लागतमा घर निर्माण गरिसकेका छन् । 
तिहारमा अघिल्लो वर्ष क्यासेटको माध्यमबाट देउसी¬–भैलो खेल्ने गरेकाहरूले पनि यो वर्ष मादल नै प्रयोग गर्ने बताएकाले बढी मादल बिक्री हुने अपेक्षा गरेको बस्नेतले बताए । “लोक–संस्कृतिको संरक्षण गर्ने हो भने पनि यस्ता बाजाहरूको प्रयोग गर्नुपर्छ,” उनले भने । 
त्यस्तै व्यास–१० का बुद्धिबहादुर वादी पनि यतिबेला मादल बनाउनमै व्यस्त छन् । करिब २० वर्षदेखि मादल बनाउने पेसामा लागेका उनी आफ्नो कामबाट सन्तुष्ट भएको बताउँछन् । 
उत्तीसको काठ, बाख्रा, गोरु तथा गाईको छालाबाट मादल बनाइने गरेको छ । दमौली मादल पसलका प्रोपाइटर रहेका बुद्धिबहादुरले मादलका कच्चा पदार्थहरूको अभावमा आफूहरूले सोचेभन्दा कममात्र मादल उत्पादन गर्न सकिएको बताए । 
उनले मादल बेचेर मासिक १५ हजारसम्म आम्दानी गर्ने गरेका छन् । उनको मादल तनहुँका अतिरिक्त लमजुङ, कास्की, गोरखा, बाग्लुङ, पर्वत, स्याङ्जालगायतका ठाउँमा खपत हुने गरेको छ ।
भजनकीर्तन, रतौली, लोक तथा दोहोरी गीत, देउसी भैलोलगायतका कार्यक्रममा मादलको प्रयोग हुँदै आए पनि अहिले आधुनिक बाजाहरूमा मानिसको आकर्षण बढ्दै गएकोमा उनी दुःखित छन् । “अहिले धेरै आधुनिक बाजातर्फ आकर्षित छन्,” उनी भन्छन्, “यसरी आधुनिक बाजातर्फ आकर्षित बढ्दै जाँदा लोकसंस्कृति लोप हुन जान्छ ।”
मादल बनाउने र बिक्री गर्ने पेसालाई पछिल्लो पुस्ताहरूले चासो नदिएकोमा पनि उनी उत्तिकै दुःखित छन् । पछिल्लो समयमा पश्चिमी संस्कृतिलाई बढवा दिने गरी देउसी खेल्नुभन्दा आफ्नै मौलिक सस्कृति झल्कने मादलको तालमा भैली देउसी खेल्न सके नेपाली संस्कृतिको संरक्षणमा टेवा पुग्ने उनी बताउँछन् । 
 

No comments:

Post a Comment