Friday, November 5, 2010

मृगौला रोगी मगरद्वारा सहयोगको अपिल


स्याङ्गजाली रिपोर्टर !
कार्तिक १९ ,
स्याङ्जा विरुवा अर्चले-३ स्थायी घर भएका  ३९ वर्षका गणेशबहादुर रानाले आफ्नोे दुवै मृगौला निस्क्रिय भएको भन्दै जीवन रक्षाका लागि सबैलाई अपिल गरेका छन्।
पोखरामा युवा जागरण समूह, पोखराले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो अपिल गरेका हुन्। आर्थिकस्तर कमजोर भएका मगरको एक श्रीमती र दुर्इ छोरा रहेको र उनको  कमाईबाट नै घर चल्ने भएकाले आफ्नोे जीवन रक्षाका लागि सबैसँग अपिल गरिएको उनले बताए।
मृगौला प्रत्यारोपणका लागि १६ लाख र हप्तामा दुर्इपटक डाइलोसिस गर्नुपर्ने डाइलोसिस गर्दा हप्तामा पाँच हजार खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो।
पत्रकार सम्मेलनमा युवा जागरण समूहले गणेश बचाउ अभियानका लागि दुर्इ हजार सहयोग रकम हस्तान्तरण गरेको छ। आर्थिक सङ्कलन उपसमितिका अध्यक्ष तथा पीडितका बावु लेमबहादुर रानालाई समूहका अध्यक्ष हुमनाथ बरालले उक्त रकम हस्तान्तरण गर्नुभएको हो।
त्यस्तै कार्यक्रममा आदिवासी जनजाति पत्रकार समूह कास्कीका उपाध्यक्ष बीबी आलेले एक हजार, मानव विकास मञ्च, नेपालका केन्द्रीय अध्यक्ष तथा पत्रकार पौडेलले पाँच सय र पोखरा-१७ का भीमबहादुर मास्कीले दुर्इ हजार र दिनेश कार्की र मिनु कार्कीले एक हजार रूपैयाँ हस्तान्तरण गर्नुभयो।
पीडित मगरलाई सहयोग जुटाउन युवा जागरण समूहले आगामी दिनमा सङ्घसंस्थासँग सहयोगको अपिल गर्नुको साथै घरदैलो कार्यक्रमको आयोजना गरिने उपाध्यक्ष टीकाप्रसाद पौडेलले जानकारी गराउनुभयो।
उनलाई सहयोग गर्न चाहनेले फेवा फाइनान्सको खाता नं ००२०००००३३१ मा रकम जम्मा गर्न सकिने छ। पीडितलाई अर्च जुटाउन उनकै पिता लेमबहादुर रानको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ। जसअनुसार पम्पासिन पुन, मानबहादुर राना, लोकबहादुर थापा, हरिप्रसाद आचार्य, विनोद आचार्य, जीवनसिंह थापा, बेनबहादुर गुरुङ, गंगाराम मानान्धर, राजीव गुरुङ र मिनु कार्की रहनुभएको छ। पीडित मगर केही समय कतार बसेर नेपाल फर्किएका हुन् स्याङ्जामा बस्दै आएका उनी उपचारका लागि पोखरामा आएको तीन महिना भएको छ

No comments:

Post a Comment