Sunday, October 31, 2010

पञ्चेबाजाले बुझायो कन्डम दिवस

स्याङ्जा, कार्तिक १३ -
'विहे पो रहेछ कि क्या हो ?' पञ्चेबाजाको धुन सुनेर पुतलीबजारकी मनमाया श्रेष्ठले  भनिन् । बाजाको धुन सुनेर अचम्म मान्दै घरबाट निस्किन् । उनले धेरै समयपछि पञ्चेबाजाको धुन सुनिन् ।

लहरै प्लेकार्ड बोकेर हिँडेका मानिस घरी-घरी गीत पनि गाउँथे र नाच्थे पनि । भेटेका मानिसलाई कन्डमसमेत बाड्थे । यसरी बाँडिएको कन्डम लिन कतिले लाज माने कतिले डर । कोहीले लिएर खल्तीमा राखे र कतिले बाटोमै फ्याके । जे गरे पनि घर-घरबाट निस्किएर हेरे र उनीहरूले कन्डम दिवस भन्ने थाहा पाए ।

यस पटकको राष्ट्रिय कन्डम दिनलाई पञ्चेबाजाले धेरै प्रचार प्रसारको काम गरेको अनुभव गरे स्याङ्जा सर्पोट गुप्रका कार्यक्रम संयोजक विजय ज्ञवालीले । उनले भने, 'सयांै मानिसले नसक्ने काम एउटै धुनले गरिदियो ।'

जिल्ला एड्स समन्वय समितिको आयोजनामा जिल्लाका ठूला बजार पुतलीबजार, वालिङलगायतका स्थानमा बाजा, गीत, नाच र खेलसहित कार्यक्रम सम्पन्न गरियो ।

रमाइला कार्यक्रम आयोजना भएका कारण सूचना दिनसमेत सजिलो भएको थियो । बाजा र गीत सुन्न मानिस जम्मा भएका थिए । त्यही मेसोमा आयोजकले 'कन्डमको सही प्रयोग गरौं, प्रयोग गर्न लाज नमानांै' भन्ने सन्देश सुनाइहाले ।

यसरी कार्यक्रम गरेकामा जापनिज स्वयंसेवी नुतन र विनिता पनि अचम्म परे । जिल्ला स्वास्थ्य कार्यालयमा काम गर्ने नाओको इनाडोमे नेपाली नाम विनिताले भनिन्, 'सूचना दिने र प्रचार प्रसार गर्ने यो सजिलो र राम्रो तरिका

रहेछ ।' 'दोहोरो सुरक्षाका लागि कन्डमको पहुँच बढाआंै' भन्ने नारा बोकेर र्‍यालीमा सहभागी भई बजार डुलेका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख र सर्वसाधारण सूचनामूलक गीत गाएर नाचे ।

पत्रकारलाई सम्मान

कन्डम दिवसको अवसर पारेर जिल्लामा एचआईभी एड्सको क्षेत्रमा उत्कृष्ट समाचार लेखेबापत पत्रकारद्वय प्रदिप कोइराला र लोकनाथ मरासिनीलाई सम्मान गरिएको छ ।

पुतलीबजारमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले मरासिनी र वालिङमा आयोजित कार्यक्रममा डाक्टर समाज गौतमले कोइरालाई जनही १५ सय रुपैयाँ र प्रमाणपत्रले सम्मान गरेका थिए ।

जिल्ला एड्स समन्वय समितिको छनोटमा गत वर्षदेखि २ पत्रकारलाई यो पुरस्कार दिइँदै आइएको छ ।

No comments:

Post a Comment