Sunday, October 31, 2010

स्थानीयतहबाटै ९८ किवा विद्युत् उत्पादन

कात्तिक १३, स्याङ्जा । स्याङ्जाको विकट गाउँ चित्रेभञ्ज्याङ्का वासिन्दाले रू. ३ करोड १८ लाखको लागतमा पुतपुते जलविद्युत् योजना-२ सम्पन्न गरेका छन् । यसको उत्पादन क्षमता ९८ किलोबाट रहेको योजना निर्माण समितिका अध्यक्ष खिमबहादुर थापाले बताए । चित्रेभञ्ज्याङसँगै जोडिएको मग्याम चिसापानी गाविसस्थित वडा नम्बर ९, दोभानको पुतपुते खोलाबाट सो परिमाणको विद्युत् उत्पादन गरिएको हो । उत्पादित विद्युत्बाट सो गाविसका ८ सय ३४ घरधुरी लाभान्वित भएका छन् । उनीहरूले सरकारी दरमा बिजुली प्रयोग गर्न पाउने बताइएको छ ।

सो योजनामा स्थानीय बासिन्दाको रु. ८७ लाख, ऊर्जा विकास विभागको रू. १ करोड ३१ लाख, जिल्ला विकास समिति स्याङ्जाको रू. २० लाख, चित्रेभञ्ज्याङ गाविसको रू. ४ लाख लगानी रहेको छ । बाँकी रकममध्ये स्थानीयवासीसँग रू. ४१ लाख र मुक्तिनाथ विकास बैङ्कबाट ३५ लाख ऋण लिएको समितिका अध्यक्ष थापाले बताए । 

'योजना सम्पन्न गर्न ठूलो रकम खर्च भए पनि बिजुली बाल्न पाएकोमा सबै खुशी छन्,' उनले भने, 'उपभोक्ताबाट उठेको रकमले पहिला बैङ्कको ऋण तिर्ने छौँ ।' पुतपुते जलविद्युत योजना २०६५ सालको अन्त्यबाट शुरू भई गत असोजको दोस्रो हप्तामा पूरा भएको थियो । योजनाको दशैँअघि परीक्षण प्रसारण गरिएको हो ।

एक हप्तादेखि गाउँ पूरै झिलीमिली भएको योजना निर्माण समितिका सल्लाहकार मनोरथ शर्माले बताए । पुतपुते खोलाबाटै मग्याम चिसापानी गाविसका जनताले विगत २ वर्षदेखि करीब ८० किलोबाट क्षमताको विद्युत् उत्पादन गरी उपभोग गर्दै आएका छन् । पछिल्लो पटक सम्पन्न  योजनालाई पुतपुते दोस्रो नामकरण गरिएको छ

No comments:

Post a Comment