Monday, November 15, 2010

हाम्रो समाजमा अझै पनि औषधि खाने कि पेट भर्ने भन्ने समस्या छ !

कार्तिक २८ - बसन्ती बास्तोला
'आमा तपाइर्ंलाई भिटामिन पुगेको रहेनछ ।' एक वृद्धालाई जाँचिसकेपछि डाक्टर अभिषेक बहादुर सिंहले भने । 'भिटामिन भनेको के हो बाबु ?' बिरामीको उल्टो प्रश्नले डाक्टरलाई धेरै समय अचम्मित पारेन । कारण उनले भेटेका भिटामिन नपुगेको यी पहिलो बिरामी होइनन् ।  विकट गाउँमा पेटभरि खान नपाएको मानिसको अवस्था थाहा हुनेलाई यो कुरा नौलो लाग्दैन । गाउँघरमा बिहान खाए बेलुका के खाऊँ भन्ने अवस्थाका उनीजस्ता बिरामी धेरै छन् ।

भिटामिन नपुगेर बिरामी परेको कुरामा बिरामीलाई पटक्कै विश्वास छैन । काठमाडौंदेखि ठूला डाक्टर आएका छन्, उनले छोएपछि च्वाट्टै हुन्छ भ्ान्ने ठानेर उनी टन्टलापुर घाममा मिचिएर लाइन बसिन् ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल र पर्यावरण संरक्षण मञ्चको संयुक्त आयोजनामा रत्नपुरमा सञ्चालित मेडिकल र दन्त स्वास्थ्य शिविरमा परीक्षण गरिएकामध्ये ८० प्रतिशत बिरामी भिटामिन नपुगेका थिए । शिविरमा जँचाउन डोलामा बोकेर समेत बिरामी ल्याइएको थियो । एकै घरका ४ जनासम्म बिरामी थिए । यस्तो अवस्था देखेर पनि धेरै शिविरमा विकट गाउँ पुगेर उपचार गरेका डाक्टर सिंह र डाक्टर प्रनिता भट्ट पोख्रेललाई अचम्म लाग्नै छाडिसक्यो । यस्ता समस्या समाधान गर्न स्वास्थ चौकीमा भिटामिन र डाक्टर हुनुपर्ने उनीहरू बताउँछन् । यसरी एक दिन या हप्तासम्म लाग्ने  शिविरले सबै बिरामीलाई भेट्न सक्ने अवस्था रहँदैन ।

बिरामी आफूलाई भिटामिन नपुगेको  थाहा हुँदैन । अस्पताल त उनीहरू केही गर्न नसक्ने अवस्था भएपछि मात्र पुग्छन् । त्यो पनि ऋण पाए र तिर्न सक्ने आँट भयो भने मात्र उपचार सम्भव हुन्छ । गाउँमा गरिबीसँगै अशिक्षा उत्तिकै व्याप्त छ । धेरैको आफ्नो जग्गा छैन, हुनेको पनि सिंचाइ पुग्दैन । पहाडमा तरकारी उत्पादन हुँदैन । दिनभर काम गरी चामल किनेर खान्छन् । किनेरै खान परेपछि चामलै खाऊँ भन्ने हुन्छ । कोदो, मकै र गहुँमा जस्तो भिटामिन चामलमा छैन । त्यही किनेको चामल पनि पेटभरि खान पाउँदैनन् । तरकारी भनेको भात निल्नका लागि खाने कुरा हो भन्ने मानसिकता मात्र होइन बाध्यतै छ ।

भात निल्नका लागि पकाइने सुख्खा गेडागुडीको झोल या नुनखुर्सानीको झोलपानीले  सन्तुलित भोजन बन्दैन अनि उनीहरू बिरामी भई नजिकको फार्मेसीमा जान्छन् । निःशुल्क भनिएको स्वास्थ्य चौकीमा औषधि पाइँदैन्, अस्पताल टाढा

छ । फार्मेसीका मानिसले अन्दाजका भरमा औषधि दिन्छन् । शिविरमा धेरै यस्तै बिरामी भेटिए जो मलेरिया भए पनि  टाइफाइडको औषधि खाइरहेका थिए, त्यो पनि डोज नपुग्ने अनि त बिरामी बाँच्ने सम्भावना कम भइहाल्यो ।

दैनिक काम गरे मात्र खान पाउने स्थानीयवासी बिरामी परेपछि थप मारमा पर्छन् । बिरामी परे पनि काम नगरी खान पाइँदैन, उपचार त परै जाओस् । दैनिक खेतीकिसानी र मजदुरी गर्ने बालकदेखि वृद्धसम्मलाई बढी सन्तुलित आहारको आवश्यकता पर्छ तर यहाँ त मान्छेलाई चाहिने आधारभूत पौस्टिक तत्त्व नै पुगेको छैन । यसरी भिटामिन नपुगेपछि बिरामीलाई सबै अंगमा असर गर्छ ।

 शिविरमा यस्ता बिरामी धेरै थिए जसलाई सबै अंगमा समस्या थियो ।  गाउँलेहरू आँखा, दाँत, प्राथमिक उपचार, छाला सबैको उपचार हुने ठाउँमा पुग्थे । यस्तो अवसर गाउँमा मुस्किलले आउँछ । स्वास्थ्यको पहुँचबाट टाढा रहेको विकट गाउँमा कम्तीमा वर्षमा ३ पटक स्वास्थ्य शिविर ल्याउनसके केही राहत हुने शिविरका डाक्टर बुद्धिमान श्रेष्ठले बताए ।  'हामी कम्तीमा वर्षको  दुई महिना गाउँका शिविरमा बिताउँछौं,' उनले भने । दुर्गम क्षेत्रमा सानोतिनो जानकारीको कमीले सामान्य बिरामी पनि उपचार नपाएर थलिएको डाक्टर श्रेष्ठको अनुभव छ  ।

जिल्ला सदरमुकाम र ठूला सहरमा १ किलोमिटर कट्न नपाउँदै सुविधायुक्त अस्पताल भेटिन्छन् । गाउँमा दिनभर हिँड्दा पनि स्वास्थ्य चौकीको सुविधा छैन । सुविधायुक्त अस्पताल पुग्न बाटो र यातायात अभाव छ । सिकिस्तै परेको बिरामी उपचार गर्न एकपटक टाढाको अस्पताल पुगे पनि गरिबीका कारण दोस्रोपटक पुग्ने अवस्था छैन । औषधि निरन्तर गर्न र भनेका बेला जँचाउन पटकपटक जान नसकेपछि बिरामी निको हुँदैन । यस्तो अवस्था गाउँका मानिसले कहिलेसम्म भोग्ने ? यसमा सरकारको दायित्व के हो ? यस विषयमा बहस त धेरै हुन्छ तर परिणाम गाउँसम्म पुग्नै पाउँदैन ।

No comments:

Post a Comment