Thursday, November 18, 2010

शालिग्राम शिलाको अवलोकन गर्न पर्यटकहरू को भिड !

लक्ष्मीप्रसाद सापकोटा कालीगण्डकी ,१ मंसिर
नेपाल पर्यटन वर्ष नजिकिँदै छ, तपाईं प्राकृतिक वातावरणबीच रमाउँदै धार्मिक पर्यटनको लाभ लिन चाहनुहुन्छ भने स्याङ्गजा सिमाना मा पर्ने दक्षिण पर्वतको शालिग्राम गाविस तपाईंका लागि सही गन्तव्य हुनसक्छ । यो ठाउँ धौलागिरि, लुम्बिनी र गण्डकी गरी तीन अञ्चल तथा पर्वत, स्याङजा र गुल्मी जिल्लाको सीमामा पर्छ ।
स्याङजाको वालिङ नगरपालिका हुँदै कालीगण्डकीको मिर्मिसम्म सडकको राम्रो सुविधा भएकाले विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला रहेको सेतीवेणी बजारसम्म सहजै पुग्न सकिन्छ ।


यहाँ धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिने शालिग्राम शिलाको अवलोकन गर्न स्वदेश तथा विदेशबाट ठूलो संख्यामा पर्यटकहरू आउने गरेका छन् । हिन्दु धर्ममा शालिग्राम शिलालाई भगवान् विष्णुका रूपमा पुज्ने गरिन्छ । शालिग्राम शिलाको दर्शन गरेर भाकल गरे आफ्नो मनोकामना पूरा हुने जनविश्वासका साथ यहाँ आउनेको आकर्षण बढेको हो ।
यहाँ अहिले दैनिक एक हजारभन्दा बढीको संख्यामा आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेका छन् । हिन्दु धर्मालम्बीहरू शिलामा पूजापाठ गर्ने, भाकल गर्ने गर्छन् भने विदेशी पर्यटकहरू प्राकृतिक सौन्दर्यमा रमाउँदै तस्बिर खिच्ने गर्छन् ।
विश्वमै कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला भएको स्थान अहिले नेपालका अधिकांश जिल्लाका विद्यालयको शैक्षिक भ्रमणको केन्द्रबिन्दुसमेत बनेको छ
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र निर्माणका क्रममा कालीगण्डकीमा बनेको जलाशयमा करिब ७ किलोमिटरभन्दा लामो स्टिमर सेवा सञ्चालन भएपछि पनि पर्यटकहरूको आवागमनमा वृृद्धि भएको स्थानीय व्यवसायी रेशमराज न्यौपानेले बताए । ०५८ सालदेखि नेपालमै पहिलोपटक व्यावसायिक रूपमा जलयातायात सञ्चालनमा आएपछि तीन जिल्लाको संगममा पर्ने सेतीवेणी बजारमा पर्यटकहरू आउन थालेका हुन् । 


अवलोकनका लागि आउने पर्यटकहरूसँग थोरैमात्र शुल्क लिने हो भने पनि करोडांै संकलन गर्न सकिने शिला संरक्षण समितिले जनाएको छ, तर अहिलेसम्म कसैबाट पनि शुल्क लिने गरिएको छैन ।
शिला अवलोकन गर्न दैनिक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थी, सयांै आन्तरिक पर्यटक र तीन दर्जनभन्दा बढी बाह्य पर्यटकहरू आउने गरेको स्थानीय समाजसेवी हिमलाल न्यौपानेले बताए ।
यहाँ अन्य समयमा भन्दा विभिन्न चाडबाडका समयमा बढी भीड लाग्ने गर्छ । हरिबोधनी एकादशी, बालाचतुर्दशी, वैशाखेसंक्रान्ति, माघेसंक्रान्ति, श्रीपञ्चमी लगायतका चाडपर्वमा निकै भीड हुने गरेको स्थानीय पुजारी केशवराज न्यौपाने बताउँछन् ।
अहिले पर्यटकहरूको बढ्दो आवागमनसँगै जलाशयमा सञ्चालन हुँदै आएको १० वटा स्टिमरलाई भ्याइनभ्याई छ भने सेतीबेणी बजारमा समेत दैनिक लाखौं रुपैयाँको कारोबार हुन थालेको छ ।
तर सेतीबेणीमा पर्यटकहरूका लागि आवश्यक सबैखाले सुविधाहरू नभएकाले लामो समय बस्न भने सकिँदैन । साँझ पर्नेबित्तिकै बासको खोजीमा कुश्मातिर नलागे बिचल्ली परिन्छ । संगम स्थलमा एउटा पनि व्यवस्थित होटलसमेत नभएको तथा बसोबासका लागि राम्रो वातावरण नभएकाले बाह्य पर्यटकहरूको कम आकर्षण भएको स्थानीय शालिग्राम उच्च माविका प्राचार्य अशोकसिंह पाण्डेले बताए ।

यसलाई पर्यटकीय गन्तव्य बनाउनका लागि होमस्टेको अवधारणा विकसित गर्नुपर्ने खाँचो छ । नेपालकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हुनसक्ने भएकाले पनि यसलाई प्रबद्र्धन गर्न चासो दिनुपर्ने स्थानीयवासीहरू बताउँछन् । पर्यटन वर्ष–२०११ लाई मध्यनजर गर्दै शालिग्राममा पर्यटकको आकर्षण वृद्धि गर्न अतिथि सत्कार गृह, पर्यटकीय होटल निर्माण गर्ने तथा मनोरञ्जन व्यवस्था गर्ने तयारी भइरहेको छ
शिलाको विकास र प्रवद्र्धनका लागि गत वर्ष महायज्ञसमेत लगाइएको थियो । महायज्ञमा संकलित १ करोड ३९ लाख रुपैयाँ सोही क्षेत्रको पर्यटकीय विकासका लागि खर्चिन लागिएको छ । दुर्गम क्षेत्रमा रहेको शिलाको प्रचार–प्रसारका लागि जिल्ला विकास समिति पर्वतले केही सहयोग गरेको भए पनि छिमेकी जिल्ला गुल्मी र स्याङजाले भने कुनै पहल नगरेको सेतीवेणीवासीहरूले गुनासो गरेका छन् ।
सबै दृष्टिले महत्वपूर्ण क्षेत्र मानिएको सेतीवेणीलको प्रवद्र्धन र प्रचार–प्रसार गर्न सके पर्यटन वर्ष–२०११ मा हजारांै वाह्य र लाखौं आन्तरिक पर्यटकहरूलाई भित्र्याउन सकिने प्राचार्य पाण्डेको भनाइ छ ।

1 comment:

  1. well done esyangja. this attempt should b continued so that syangja b a special site for visitors in 2011 visit year

    ReplyDelete