Tuesday, November 16, 2010

वालिङमा केण्डी ट्रिनिटी कप सेभेन-ए-साइड फुटबलप्रतियोगिता सुरु

वालिङ,
ट्रिनिटी क्लब वालिङ स्याङ्जाको आयोजनामा सोमबारदेखि वालिङमा केण्डी ट्रिनिटी कप सेभेन-ए-साइड फुटबल प्रतियोगिता सुरु भएको छ।
वालिङस्थित खेलमैदानमा भएकोप्रतियोगिताको उद्घाटन गर्दै नेपाल सेभेन-ए-साइड फुटबल महासङ्घका अध्यक्ष नवीन पुनले ग्रामीण भेकमा पनि खेल्न सकिने यो खेलले गर्दा धेरै खेलाडीले राहत पाएकोमा खुसी व्यक्त गरे।
उनले महासङ्घको उत्पादन वालिङकै महिला खेलाडी सजना राना अहिले राष्ट्रिय टीममा परेकोमा महासङ्घले गर्व गरेको र ग्रामीण भेकका खेलाडीहरुलाई स्थान दिने भन्ने आफूहरुको उद्देश्य केहीमात्रामासफल पनि भएको दाबी गरे।
उनले क्लबले सेभेन-ए-साइड प्रतियोगिता गरेको प्रशंसा गर्दै महासङ्घको तर्फबाट क्लबलाई रू. १० हजार सहयोग दिने घोषणा गरे।
इलाका प्रशासन कार्यालय वालिङका प्रमुख केशवराज शर्माले खेलकुदले शान्तिको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
भूपू सैनिक उमाविका प्राचार्य पूर्णबहादुर थापाले शिक्षाले हरेक व्यक्तिको मानसिक विकास तथा खेलकुदले शारीरिक विकास गर्ने बताए।
सो अवसरमा वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ले. यामबहादुर गुरुङ, वालिङ नगरपालिकाका निवर्तमान उपप्रमुख दीलिपप्रताप खाँड, क्लबका सल्लाहकार शमशेर गुरुङले पनि प्रतियोगिताको सफलताको कामना गरेका थिए।
क्लबले खेल हेर्ने दर्शकको सुविधालाई ध्यानमा राखेर एक लाख खर्चेर एक हजार दर्शक अट्ने क्षमताको फलामको प्यारापिटसमेत निर्माण गरेको छ।
मङ्सिरको ४ गतेसम्म चल्ने फुटबलमा कास्की, स्याङ्जा, पाल्पा, रूपन्देही,नवलपरासीका गरी २४ वटा टीमको सहभागिता रहेको एन्फा स्याङ्जाका अध्यक्ष तथा क्लबका सल्लाहकार एल.बी ज्वारचनले जानकारी दिए। प्रतियोगिताको मुख्य प्रायोजक केण्डी डट कम रहेको छ।
उद्घाटनका अवसरमा वालिङ युनाइटेड र भुम्रे भकुण्डे रामबाच्छा युनाइटेडबीच बीच शो म्याच खेलाइएको थियो।सो खेल दुर्इ-दुर्इ गोलको बाबरीमा टुङ्गिएको थियो। मङ्गलबारदेखि औपचारिकरूपमा प्रतियोगिताका खेल शुभारम्भ हुनेछन्।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद ५० हजार एकसय एक, द्वितीय हुने टीमलाई नगद ३० हजार एक सय एक, तृतीय हुने टीमलाई नगद १५ हजार एक सय एक र चौथो हुने टीमलाई नगद १० हजार एक सय एक, शिल्ड,मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।
क्लबका अध्यक्ष दुर्गाबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा बालविद्या विकास उमाविका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए।

No comments:

Post a Comment