Sunday, October 24, 2010

सिर्सेकोट नमुना पर्यटकीय गाउँ बन्दै


By Prakash Dotel.


गाउँलाई ग्रामीण पर्यटकीय स्थलका रूपमा विकसित गराउँदै स्थानीय वासीहरू विश्वका पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् । नेपाल भ्रमण वर्ष १९९८ मा स्याङ्जाको दरौं सिरुवारीलाई नेपालकै पहिलो नमुना ग्रामीण पर्यटकीय गाउँका रूपमा विकास गरेपछि हौसिएका जिल्लाका ग्रामीण भेगका बासिन्दाहरू गाउँलाई पर्यटकीयस्थल बनाउन एकजुट भएर लागेका छन् ।
स्याङ्जा सदरमुकामबाट दक्षिणतर्फ सिद्धार्थ राजमार्गको करिब ४० किलोमिटर पार गर्दा आउने तीनदोबाटे गाबिसको बायाँटारीबाट पश्चिमतर्फको कच्ची सडकबाट करिब २० किलोमिटरको यात्रापछि पुगिने गाउँ सिर्सेकोट–३ मैदान नमुना पर्यटकीय क्षेत्र उन्मुख गरुङ गाउँ हो । गुरुङको बाहुल्यता रहेको सिरुवारी गाउँ पर्यटकीय गाउँ बनेपछि सिर्सेकोटका गृहिणीहरू आफ्नो गाउँलाई पर्यटकीय क्षेत्र बनाउन कम्मर कसेर लागेका थिए । गरे के हुँदैन भन्ने सन्देशसमेत गृहिणीहरूले दिएका छन् । 
पछिल्लो तीन वर्षमा स्थानीय गृहिणीहरूको सक्रियतामा गृहिणी समूह गठन गरी महिलाहरूको सहकार्यले अहिले मैदानको गुरुङ गाउँ नमुना पर्यटकीय क्षेत्र उन्मुख छ । गृहिणीहरूको सक्रियतामा होमस्टे तालिमबाट प्राप्त ज्ञान र सीपलाई गाउँका घर–घरमा प्रयोगमा ल्याइएको छ । 
सिर्सेकोट अवलोकनका लागि आउने पर्यटकको सख्यामा समेत वृद्धि भएको छ । विगतका वर्षमा एकादुई आउने पर्यटकको संख्या वृद्धि भएर अहिले सयौको संख्यामा पुगेको स्थानीय गृहिणीहरू बताउँछन् ।
स्थानीय गृहिणीहरूको अगुवाइमा स–साना बालबालिकादेखि वृद्ध–वृद्धासम्मले गर्नेे बाजा–गाजासहितको गुरुङ संस्कृति झल्काउने घाटु नाच, सालैजोजस्ता गीतमार्फत गरिने स्वागतले पर्यटकहरू मख्ख पर्छन् । स्थानीय गृहिणीहरूको स्वागत र सम्मानले त्यहाँ पुग्ने पर्यटकहरूले आफ्नो बसाइलाई केही दिन लम्ब्याउने गरेको समेत बताइन्छ । 
नमुना पर्यटकीय क्षेत्र उन्मुख त्यहाँ न कुनै होटल छ, न कुनै रेस्टुराँ नै छ, अवलोकनका लागि गाउँमा आउने पर्यटकलाई घर–घरमा भाग लगाएर स्थानीय स्तरमा उत्पादित वस्तुबाट तयार पारिएको खानेकुरा खुवाई पर्यटकलाई सम्मान र सत्कार गर्ने प्रचलन रहेको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।
अवलोकनका लागि नमुना पर्यटकीय क्षेत्र उन्मुख गाउँ सिर्सेकोट–३, मैदान पुग्ने पर्यटकहरू आफ्नो मनोभावना पूरा होस् भनेर त्यहाँको प्रख्यात अकलादेवीको मन्दिरमा पुुग्छन् । धार्मिक रूपले पनि निकै महत्वपर्ण मानिएको उक्त मन्दिरमा भगवानको रूप धारण गरेकी महिला एक्लै सुत्केरी भएको किंवदन्तीमा उल्लेख छ । किंवदन्तीका उल्लेख भएअनुरूप उक्त स्थललाई धार्मिक पर्यटकीय स्थलका रूपमा समेत विकास गर्न सकिने विश्वास स्थानियवासीको छ । 
मनोभावना पूरा हुने अपेक्षासहित मन्दिर दर्शनका लागि स्याङ्जा, पर्वत र गुल्मी जिल्लाबाट आउने दर्शनार्थीहरूको दिनहँुजसो ठूलो भीड लाग्ने गर्छ । देशका विभिन्न मठमन्दिरमा पुग्दा कसैले नसुन्ने गरी आशीर्वाद दिने र लिने प्रचलन रहिआए पनि अकला मन्दिरमा पुग्दा त्यहाँका पुजारीले चर्को स्वरमा आशीर्वाद लिने चलनसमेत रहेको छ ।
गृहिणीहरूले आफ्नो गाउँलाई सधैं सफा राख्न गरेको प्रयास उदारणीय र अनुकरणीय रहेको छ । सिर्सेकोट पर्यटन विकास तथा व्यवस्थापन समिति मार्फत स्थानीयवासी गृहिणी तथा पुरुषहरूको सक्रियतामा विभिन्न रचनात्मक कार्य गर्दै आइरहेका छन् ।
पर्यटकलाई आर्कषण गर्नका लागि तयार पारिएको कुडुले घरमा राखिएको परम्परा झल्कने वस्तुहरूले पर्यटकहरू पुर्खा सम्झन बाध्य हुन्छन् । कुडुले घरको अवलोकन गर्दा आधुनिकताको नाउँमा पुर्खाले गरेका रचनात्मक काम भुलिएको अनुभूति गर्ने गरेको स्थानीयवासी बताउँछन् ।
निकै अग्लो पाहाडको चुचुरोमा रहेको सिर्सेकोटलाई नेपालकै नमुना गाउँ बनाउन खानेपानी बाधक बनेको छ । उच्च भागमा रहेको क्षेत्रमा पानीको स्थायी स्रोत नभएका कारण पानीको व्यवस्था मिलाउन निकै खर्चिलो रहेको स्थानीय गृहिणी दुर्गा गुरुङले बताइन् । उनी भन्छिन्, “पानीका समस्याले पर्यटक आकर्षणका थप काम गर्न सकिएको छैन ।”
सिर्सेकोटलाई ग्रामीण पयटकीय क्षेत्रका रूपमा उचित विकास गराउन नेपाल पर्यटनबोर्ड तथा जिल्लास्थित संघ–संस्थाहरूले विभिन्न समयमा महत्वपूर्ण सहयोग गरेको स्थानीय युवा समाजसेवी श्याम गुरुङले बताए । नेपाल पर्यटन वर्ष २०११ लाई अवसरका रूपमा सदुपयोग गर्दै सिर्सेकोटलाई विश्वका पर्यटकसामु परिचित बनाउने अभियानमा यतिबेला गृहिणीहरूले थप सक्रियता देखाएका छन् !




http://tinyurl.com/2vf927n

No comments:

Post a Comment