Sunday, October 24, 2010

दशैं कै बाँकि कुरा :वचन पूरा नभएपछि नेताले टिका लाएनन् !

टेक नारायण भट राई 


कात्तिक ७- गाउँमा बिजुली बत्ती बालेरै छाड्ने र बत्ती नबाले दशैँको रातो टिका नलगाउने, परिवारलाई पनि नलगाइदिने वाचा गरेका स्याङ्गजा साँखर गाविसका क्रियाशील राजनीतिक दलका प्रमुखले बचन पुरा नभएको भन्दै दसैँ टिका लगाएनन्। १४ वर्ष अघि बिजुली बाल्न साखँरका केही वडामा बिजुली पोल गाडिए पनि अहिलेसम्म एउटै वाडमा पनि विजुली बलेको छैन।
दशैँमा गाविसमा बत्ती भित्राएरै छाड्ने नेताले सार्वजनिक रुपमा लिखित प्रतिवद्धता गरेका थिए।
प्रतिवद्धता पुर नभएपछि नेता आफूले पनि टिका लगाएनन् भने परिवारलाई पनि लगाइदिएनन्। भदौ १९ गते शनिबार युवाहरुले आयोजना गरेको गाविस स्तरीय भेलामा तीन राजनीतिक दलका नेताले डेढसय गाउँलेको माझमा प्रतिवद्धता गरेका थिए। बिजुली ल्याउन नेता सक्रीय नभएको भन्दै जनगुनासो आएपछि उनीहरुले प्रतिबद्धता गरेका थिए।
नेपाली कांग्रेस गाउँ पार्टी सभापति ज्ञानेश्वर बस्ताकोटी, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष तारानाथ ढकाल र एकीकृत नेकपा माओवादी गाउँ कमिटी सचिव तिलकचन्द्र ढकालले टिका नलगाएका हुन्। उनीहरुले परिवारका सदस्यलाई पनि टिका लगाइदिएनन्।
'दशैंका दिन सबै एकैठाउँ जुट्यौ र खिन्न भएर बस्यौं।' एमालेका ढकालले भने, 'दसैंको दिनभर परिवार पनि निन्याउरो मुख लगाएर बसे। वृद्ध बुबको हातबाट टिका लगाउन पनि पाइएन।'
जनतामाझ गरेको बचन पुरा नभएकोले नैतिक जिम्मेवारी लिँदै टिका नलगाएको माओवादी सचिव ढकालले बताए। कांग्रेस सभापति बस्ताकोटीले विकास निमार्णलाई प्राथमिकता दिएको बताए। 'टिका लगाउन नपाउँदा खिन्नता त भयो तर टिका भन्दा विकास ठूलो मान्यौं।'

कार्यक्रमको आयोजना गर्ने युवा अगुवा शंखर पोखरेलले नेताले वाचा अनुसार प्रसस्त प्रयास गरेको बताए। 'सफल हुन नसकेपनि प्रयास गर्नुभयो।' उनले भने, 'बाचा गरेकै अर्कोदिन सवै मिलेर विद्युत प्राधिकरण र जिविसमा जानुभयो, जिल्लाबाट नहुने भएपछि काठमाडौ सम्म पुग्नु भो।'
साँखर विद्युत उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद पोखरेलले विद्युत विस्तारका लागि सबै सामाग्री पाएको तर सबमिटर नपाएर दसैंमा बत्ति नबलेको बताए। उनले दसैँको दिन तीन नेतासँगै आफूले पनि दिन बिताएको बताए।
'मैले टिका त लगाएँ तर मन खुसी भएन। साथीहरुलाई ढाडस दिएर बसेँ।दसैंमा नबलेपनि सबै सामान जुटेको छ, यसै महिना विजुली भित्रन्छ होला।' उनले थपे, 'देशकै ठूलो विद्युत आयोजना भएको जिल्लाका हामी 'बत्ति मुनीको अँध्यारोमा' छौं।

No comments:

Post a Comment