Thursday, September 2, 2010

तीज गीत मा मिले कांग्रेस माओबादी र एमाले

बसन्ती बास्तोला
स्याङ्जा, भाद्र १६ - 
वातावरण बिग्रँदै छ, 

हाम्लाई  पीर पर्‍या छ

सम्बन्धित निकायले खै 

के गर्‍या छ ?

सधंैजसो गाइने रुनाधुना र सासु-बुहारीको विषयभन्दा भिन्न गीत यसपटक महिलाले गाए ।  पुतलीबजारमा आयोजना गरिएको तीज गीत प्रतियोगिताका सहभागीले यसरी वातावरणको कुरासमेत उठाउँदा आयोजकसमेत दंग परे । देशमा तीन दल नमिलेर प्रधानमन्त्रीको चुनाव पाँचौंपटक पनि विफल भएको बेला तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका भ्रातृसंगठनका महिलाले प्रतियोगिताको संयोजन गरेर मेलमिलापको उदाहरण प्रस्तुत गरेका थिए । प्रतियोगितामा गीत पनि त्यस्तै गाइए ।

देश विकास गर्ने भए 

महिला एकजुट बनांै है 

अघि बढ्ने भए...

यसरी नै महिला एकजुट बनेका थिए कार्यक्रममा क्षेत्र नं १ को जिम्मा नेपाली कांग्रेसकी मखमली श्रेष्ठ, क्षेत्र नं २ को माओवादीकी लक्ष्मी पौडेल र क्षेत्र नं ३ को जिम्मा एमालेकी देवी थापाले सम्हालेका थिए । गल्याङ, वालिङ र पुतलीबजारमा प्रतियोगिता गरी त्यसबाट उत्कृष्ट भएका १३ समूहलाई १८ गते सदरमुकाम पुतलीबजारमा फेरि प्रतिस्पर्धा गरिनेछ । सधैंजसो आमा समूह आयोजक हुने यसपटकको प्रतियोगितामा जिविस, कृषि विकास कार्यालय, महिला विकास कार्यालय, गैरसरकारी संस्था महासंघलगायतका एक दर्जनभन्दा बढी संघसंस्था थिए । 

वातावरण, कृषि, सरसफाइ र महिलाहिंसाको विषयमा गीत गाउन लगाएर आफूहरूले विकासको काम गर्न खोजेको कृषि विकास कार्यालयका प्रमुख चेतनाथ अधिकारीले बताए । उनले भने, 'कृषि नभई देश चल्दैन तर कृषिको कदर कहिल्यै हुँदैन ।' यसपटक सहभागीले बढी कृषिकै गीत गाएपछि भने अधिकारी हाँस्दै ताली पिटिरहेका थिए । त्यो दृश्य देखेपछि कांग्रेस नेतृ सरस्वती तिवारीले जिस्काइन्, 'कृषिको सरको त आज भुइँमा खुट्टा छैनन् ।' 

भुइँमा खुट्टा त महिला नेतृहरूको पनि थिएनन्, मूल्यांकन टिमका संयोजक तथा लोक गायक अजुर्न गैरेलाई बीचमा गीत गाउन पठाएर उद्घोषकसमेत रहेकी एमाले नेतृ तारा शर्मा गीत सुरु नगर्दै नाच्न पुगिन् । उनलाई साथ दिन पुगे कांग्रेस नेतृ सरस्वती तिवारी र निर्मला पोख्रेल । रातै साडी लगाएर कम्मर मर्काई मर्काई नाच्नेको कमी थिएन । यस्ता नाचलाई गीतले पनि साथ दिइरहेको थियो । सधैं सुनेभन्दा फरक गीत सुन्न पाएपछि दर्शक दिक्क थिएनन् । बांखोलाकी कल्पना श्रेष्ठले भनिन्, 'गीत त यस्तो पो राम्रो हुन्छ ।' गीतमा प्लटिङ गरेर खेतीयोग्य जमिन मासिएको समेत कुरा उठेको थियो । 

खेतीयोग्य जमिनको संरक्षण गरांै

उजाडिएको डाँडाकाँडा संरक्षण गरांै । 

बिदेसिन परेको, पुरुषले मात्र असर पाएका र आफूहरू प्रधानमन्त्री बन्न पाए संविधान बनाउनेसम्मका कुरा गीतमा उठाइएका थिए ।

 

No comments:

Post a Comment