Wednesday, November 24, 2010

स्याङजा सबैभन्दा बढी सुन्तला उत्पादन हुने जिल्ला

सुन्तलाको उत्पादन बढे पनि बजारमा कम

सुन्तलाको उत्पादन उल्लेख्य बढे पनि बजारमा भने त्यसअनरूप आउने गरेको छै्रन ।


साढे २ लाख टनभन्दा बढी सुन्तला उत्पादन भए पनि मुख्य बजारमा भने १२ गुनाभन्दा कम आउने गरेको तथ्यांकबाट देखिएको छ । आर्थिक वर्ष २०६६/६७ मा २ लाख ६० हजार ८ सय ५४ टन सुन्तला उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । तर कृषि वस्तु निर्यात प्रवर्द्धन कार्यक्रम, कृषि विभाग सुन्तला तथा जुनारको आयत निर्यात सर्वेक्षण प्रतिवेदन २०६६ का अनुसार देशको प्रमुख बजारमा २३ हजार टनको हाराहारीमा मात्रै सुन्तला खपत हुने गरेको छ । निर्यातको परिमाण पनि ज्यादै कम रहेकाले उत्पादित सुन्तला कहाँ खपत भयो भन्ने स्पष्ट जानकारी सरकारी निकायसँग पनि छैन । आव २०६५/६६ मा ८ सय ३० टन ताजा सुन्तला र १० हजार ६ सय ५६ टन जमेको सुन्तलाको जुस निर्यात भएको थियो ।


दुर्गम र यातायात अभावले उत्पादनको ठूलो परिमाण स्थानीयस्तरमै खपत हुने गरेको हुन सक्ने मन्त्रालयका प्रवक्ता हरि दाहाल बताउँछन् । 'प्रभावकारी संकलन, सस्तो ढुवानी, कोल्डस्टोरेजको व्यवस्था, बजार र मूल्यको सूचना समयमै किसानलाई दिनसके उत्पादन थप वृद्धि भई किसानको आयस्तर वृद्धि हुने निश्चित छ,' उनले संवाददाताहरूसँग भने । 


पश्चिमाञ्चल विकास क्षेत्रका पहाडी जिल्ला सुन्तला उत्पादनमा केन्द्रविन्दु मानिन्छन्, जसले कुल सुन्तला उत्पादनको करिब ४० प्रतिशत ओगट्छन् । स्याङजा सबैभन्दा बढी सुन्तला उत्पादन हुने जिल्ला हो । त्यसपछि लमजुङ, तनहुँ, सल्यान, काभ्रे, गोरखा, धादिङ, तेह्रथुम र धनकुटा क्रमशः सुन्तला बढी फल्ने जिल्लामा पर्छन् ।


सुन्तलाको अनुसन्धान र विकासका लागि राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटालाई तोकिएको छ । क्षेत्रीय केन्द्रका रूपमा रसुवा, पोखरा, दैलेख र डडेलधुरालाई पहिचान गरिएको छ ।



No comments:

Post a Comment