Monday, October 4, 2010

पढाएर फर्केकी १९ वर्षीया शिक्षिका बेपत्ता !

चिठीमा भनिएको छ- मलाई नखोज्नू-
टेकनारायण भट्टराई, पाल्पा, असोज १८- विद्यालयबाट पढाएर फर्केकी १९ वर्षीया शिक्षिका बेपत्ता भएको पाँच दिन बिते पनि उनका बारेमा केही पत्तो लाग्न सकेको छैन। स्याङ्गजाको दक्षिण भेगमा पर्ने रत्‍नपुर गाविस–४ की विमला खनाल बाटोबाटै बेपत्ता भएकी परिवारले जनाएको छ
घरदेखि आधा घण्टा टाढा रहेको गण्डकी ब्राइट फ्युचर बोर्डिङ स्कूलकी शिक्षिका खनाल विद्यालयबाट बेलुका ५ बजे घरतर्फ फर्केकी थिइन्। तर उनी ५ दिन हुँदासम्म घर नआएपछि परिवारले खोजी गरिदिन इलाका प्रहरी कार्यालय रत्‍नपुरमा निवेदन दिएका थिए।

कालीगण्डकी नदी किनारको खोरियाघाट भन्ने स्थानमा नदी छेउमा उनको मोवाइल, पछ्यौरी र कापीको पानामा लेखिएको चिठी प्रहरीले फेला पारेको बताएको छ। घरबाट पढाउन विद्यालय पुग्न उनलाई दैनिक कालीगण्डकीको पुल तरेर आइजाइ गर्नुपर्थ्यो।

'खोजतलासको क्रममा मोवाइल र पछ्यौरी फेला पार्‍यौं, सँगै चिठी पनि रहेछ', रत्‍नपुरका प्रहरी प्रमुख  श्याम ओलीले भने- चिठीमा मलाई अब नखोज्नु भनेर लेखिएको छ। युवतीले नदीमा हाम फलेको हो वा कसैले अपहरण या हत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको ओलीले बताए। 'चिठीका अक्षर युवतीको हो वा होइन भनी विद्यालय र परिवारसँग भेटेर परीक्षण गर्छौं'- उनले भने। प्रहरी र स्थानीयले नदLमा हाम फालेको हुन सक्ने भन्दै नदीमासमेत खोजी गरेको उनले बताए।

युवतीका काका विनोद खनालले पारिवारमा कुनै तनाव पनि नभएको र आत्महत्या गर्ने कुनै सङ्केत नदेखिएकाले अपहरण वा हत्या भएको हुनसक्ने शङ्का रहेको बताए। 'कुनै पारिवारिक तनाव पनि छैन र उसले आत्महत्या गर्नुपर्ने कारण केही देखिँदैन। उसको व्यवहार पनि सामान्य थियो'- उनले भने। उनले रातको समयमा गाउँदेखि नजिकैको बजार गल्याङबाट सिद्धार्थ राजमार्ग हुँदै अपहरण गरिएको हुन सक्ने शङ्कासमेत व्यक्त गरे

No comments:

Post a Comment