Wednesday, October 6, 2010

घाटा लागेपछि जिप बन्द

बसन्ती बास्तोला 
स्याङ्जा, आश्विन १९ -
बाडखोलादेखि तनहुँको दुलेगौंडा सडकमा चल्ने जिप सेवा घाटा लागेपछि बन्द गरिएको छ । 

व्यवसायीले जिविस कर र महँगो तेल हालेर गाडी चलाउँदा खर्च नै उठ्न धौधौ भएकाले सेवा बन्द गर्नुपरेको बताए । उक्त बाटोमा पुतलीबजारको बाडखोलादेखि नयाँबजार, पौवेगौडे, टक्सार र मौरीयासम्म जिप चल्छ ।

व्यवसायीले भाडा वृद्धि नगरेसम्म आफूहरूले सेवा नचलाउने बताए । छोटो रुटमा पुरानो भाडादरमा जिप चलाउँदा घाटा बेहोर्नुपरेकाले जिप चलाउन नसकेको व्यवसायी समितिका सचिव रामचन्द्र पोखरेलले बताए । उनले भने, 'व्यवसाय हो, घाटामा कसरी चलाउनु ?' यस रुटमा कायम गरिएको भाडादर तेलको मूल्यवृद्धि हुनुभन्दा पहिले तोकिएको उनले बताए । यसरी दसैंको बेला जिप नचल्दा यात्रु मर्कामा परेका छन् । सदरमुकामदेखि र बाहिरबाट आउने आफन्तसमेत जिप नचल्दा चिन्तित छन् । हिँड्ने बानी बिगि्रएको र सामान बोक्न नसक्दा समस्या भएको टक्सारकी माया रानाले बताइन् । उनले भनिन्, 'पहिला त हिँडिएको हो, अब नसकिने रहेछ ।'

जिप नचल्दा दसैंलाई चाहिने खाद्यान्न समेत गाउँ लान नसकिने भएको छ । यसरी यात्रुलाई समस्या परेपछि सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले चाडवाडको बेलामा एक्कासि यातायात बन्द नगर्न व्यवसायीसँग आग्रह गरेका छन् । बरालले भने 'व्यवसायीलाई मर्का परेको भए कानुनबमोजिमको प्रक्रिया पूरा गरेर मात्र भाडा बढाउन उपयुक्त हुन्छ ।'

No comments:

Post a Comment