Sunday, October 3, 2010

बिपन्न लाई बाख्रा सहयोग

by Prakash Dotel 
सहारा समुह स्याङ्जाले अपेरोन नेपालको आर्थिक सहयोगमा जिल्लामा रहेका विपन्न परिवारका ६३ महिलाहरुलाई आयआर्जनमा टेवा पुर्‍याउन निःशुल्क बाख्रा वितरण गरेको छ। सहारा समुहको महिला लघु उद्यमशीलता तथा सशक्तिकरण कार्यक्रम अन्तर्गत स्याङ्जाका २० गाविसमा रहेका महिला समुह मार्फत छनौट भएका विपन्न परिवारका महिलाहरुलाई २/२ वटा बाख्रा वितरण गरिएको हो। ६३ महिलाहरुलाई प्रति परिवार करिव ५ हजार मुल्यका १ सय २० बाख्रा निशुल्क वितरण गरिएको थियो। अपेरोन नेपालको आर्थिक सहयोगमा सहारा समुहको आयोजनामा सदरमुकाममा दुई दिने बाख्रा पालन तालिम संचालन गरि बाख्रा वितरण गरिएको थियो।
बाख्रा वितरण गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले नेपालको विकासमा महत्वपुर्ण भुमिका रहेका महिलाहरु पछाडी परेको बताउँदै, समाजमा महिलाहरु अगुवा भए मात्रै विकासले सार्थकता पाउने जिकिर गरे।
त्यस अवसरमा वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारी, डा. कल्याण श्रेष्ठ, मुक्तिनाथ विकास बैंकका डण्डपानी ढकालले यर्थाथमा नयाँ नेपाल निर्माणको नारालाई व्यवहारमा उतार्न महिलाहरुको शैक्षिक र आर्थिक विकास आवश्यक रहेको बताए।
सहारा समुहका कार्यक्रम अधिकृत गिरीजा काफ्ले, दुर्गा वाग्ले लगायतले महिला अग्रसर भएमात्र विकास सम्भव हुने विचार व्यक्त गरेका थिए। सहारा समुहका सचिव कमल पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सहाराले स्याङ्जा जिल्लाका २० गाउँ विकास समितिलाई कार्यक्षेत्र छनौट गरी छ सय महिलालाई समूहमा संगठित गरेको छ। समुह गठन भएका गाविसमा महिला समुह मार्फत सहकारी संचालन गरिएको कार्यक्रम अधिकृत काफ्लेले बताइन्।
सहारा समुहमा आवद्ध महिलाहरुलाई माहुरी पालन, अदुवा, मौसमी तथा बेमौसमी तरकारी खेती, बंगुर पालन र कफि खेती गर्नमा विउविजन, आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।

No comments:

Post a Comment