Tuesday, September 14, 2010

घरमूली पञ्चमी घुम्न मन्दिर जाँदा तीनघर लुटिए

टेकनारायण भट्टराई,
स्याङ्गजा जिल्लाको रत्नपुर गाविस- ४ दिम्पा टोलमा दिनदहाडै तीन घरमा चोरी भएको छ। आईतबार दिउसो घरमूलीहरु ऋषिपञ्चमी मनाउन मन्दिरमा गएको मौका छोपेर टोलमा लुटपाट भएको प्रहरीले जनाएको छ। स्थानीय वेदनी शर्मा, महेश्वर पौडेल र युवराज आचार्यको घर फोरेर लुटेराहरुले नगद र सुन लुटेर फरार भएका स्थानीय झलकराम डेटेलले बताए।

शर्माको घरबाट एक तोलाको सुनको औठी, ५ हजार नगद लुटिएको छ। उनकै छिमेकी पौडेलको घरको कोठाको ताल्चा फोरेर दराजमा भएको एक जोडा सुनको मुन्द्रा, औंठी, चाँदीका पाउजु र ५ हजार नगद चोरी भएको प्रहरी चौकी रत्नपुरले जनाएको छ। चौकीले बताए अनुसार आचार्यको घरबाट लुटेराले २ तोलाको बेरुवा औठी र ७ हजार नगद चोरी गरेका छन्।
लुटेराहरुको स्थानीयबासी र प्रहरीले खोजी गरिरहेका छन्। एक/डेढ घण्टाको समयभित्र तिनवटै घरमा लुटेराले घरको ताल्चा फोरेर दराजमा भएको सुन र पैसा लुटेका हुन्। प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको आशंका गरेको छ। लुटेराले घरेलु हतियार देखाएर लुटपाट गरेका थिए। लुटपाट पछि त्रासका कारण गाउँले रातभर जाग्राम बसेका स्थानीयले बताए।

No comments:

Post a Comment