Tuesday, August 3, 2010

कालीगण्डकी बन्द , के भै रहेको छ त ?

काठमाडौ, श्रावण १८ - सबैभन्दा ठुलो स्यांग्जा जिल्ला मा रहेको कालीगण्डकी ए (१४४ मेगावाट) विद्युत्गृहको एउटा युनिट एकाएक बन्द भएपछि त्यसको मर्मतका लागि सम्पूर्ण उत्पादन ठप्प भएको छ । विद्युत्गृह बन्द हुँदा छ घन्टा थप भई लोडसेडिङ सोमबारदेखि दैनिक आठ घन्टा पुगेको छ । वर्षायामको सुरुआतसँगै लोडसेडिङको तनावबाट मुक्तप्रायः भएका उपभोक्ता पुनः मारमा पर्ने भएका छन् ।

विद्युत् प्राधिकरणका प्रणाली सञ्चालक शेरसिंह भाटका अनुसार कालीगण्डकीका ४८ मेगावाटका तीनवटा युनिट एकसाथ बन्द गर्नु परेकाले लोडसेडिङ वृद्धि भएको हो । दिनमा दुईपटक चार/चार घन्टाका दरले लोडसेडिङ हुने भाटले बताए । 'बिहान, दिउँसो, बेलुकी र राति जुनसुकै बेला पनि दुई/दुई घन्टा हुनेछ,' भाटले भने । यसअघि खोलामा पानीको सतह वृद्धि भएका कारण पूर्ण क्षमतामा उत्पादन भएकाले लोडसेडिङ दैनिक दुई घन्टामा सीमित थियो । दुई युनिटबाट ९६ मेगावाट उत्पादन भइरहेको कालीगण्डकी 'ए' को बिग्रेको एउटा युनिट मर्मत गर्न पूरै विद्युत्गृह बन्द गर्नुपरेको केन्द्र प्रमुख ईश्वरीप्रसाद तिवारीले बताए । उनका अनुसार बिग्रेको युनिट मर्मतका लागि सबै पानी सुकाउनुपर्ने भएकाले बन्द भएको हो । 'पानी रित्याउन नसकेकै कारण मर्मत हुन नसकेर एउटा युनिट बन्द गर्नुपरेको हो,' तिवारीले भने ।

प्राधिकरणले आफूले नियमित मर्मत सम्भार गर्न नसकेपछि विश्व बैंकलाई गुहारेको थियो । विश्व बैंकद्वारा नियुक्त इटालियन परामर्शदाताले केही दिन अध्ययन गरी प्राधिकरण व्यवस्थापनलाई आफ्नो सिफारिससहितको प्रतिवेदन बुझाएपछि मर्मतका लागि विद्युत्गृह नै बन्द गर्ने निचोडमा पुगेको हो । कालीगण्डकीको हाइड्रोलिक स्टलस्ट्रक्चर लटका निर्माता जापानी कम्पनी हिटाचसीका प्राविधिकहरू आएर स्थलगत अध्ययन गरेको तिवारीले जानकारी दिए । टर्बाइन घुमाउने इनलेट भल्भमा पानी चुहिएपछि ४८ मेगावाट बिजुली उत्पादन हुने करिब एक महिनादेखि बन्द थियो । इनलेट भल्भमा पानी छेक्ने सिल आठ वर्षदेखि नफेरेका कारण खिइएर पानी चुहिएको हो । बालुवा धेरै आउने नदीमा यस्तो समस्या हुने गर्छ । सामान्यतया कालीगण्डकीबाट ३० लाख युनिट बिजुली उत्पादन हुन्छ । प्राधिकरणको औसत बिक्री मूल्य प्रतियुनिट साढे छ रुपैयाँका दरले दैनिक एक करोड ९५ लाख रुपैयाँ घाटा हुनेछ ।

वषर्ायाम भएकाले खोलामा पानीको सतह वृद्धि भई प्राधिकरण तथा निजी क्षेत्रका विद्युत्गृहले पूर्ण क्षमतामा बिजुली उत्पादन गरेकाले यतिखेर लोडसेडिङ दैनिक दुई घन्टामा सीमित छ । कालीगण्डकीमा पनि १४४ मेगावाटै उत्पादन गर्न सक्ने पानी छ ।

No comments:

Post a Comment