Friday, August 6, 2010

'होम स्टे'ले पर्यटक बढायो

पर्यटकीय क्षेत्र आसपासका गाउँमा होम स्टे सुविधा उपलब्ध भएपछि पर्यटक आवागमनमा वृद्धि भएको छ ।

कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पन्चासे, पर्वतको चित्रे र कास्कीको भदौरेका बासिन्दाले होमस्टे सेवा सञ्चालन गरेपछि पर्यटक बढेका हुन् ।

पन्चासे घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक स्वागतका लागि 'होम स्टे' सुविधासहित स्वागत सत्कार हुन्छ ।

पहिले सेवासुविधा उपलब्ध नगराउँदा पन्चासेमा पर्यटक संख्यामा वृद्धि हुन नसकेपछि अहिले प्रभावित क्षेत्रका बासिन्दा पर्यटक आकर्षण गर्ने होडमा लागिपरेका छन् । स्थानीयको प्रयासपछि पर्वत, कास्की र स्याङ्जा गरी ३ जिल्लाको संगममा २५ सय १७ मिटर उचाइमा रहेको पन्चासे क्षेत्र ग्रामीण पर्यटनको नमुना बन्न थालेको छ । होम स्टे सञ्चालन भएपछि दैनिक २ दर्जनभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।

पन्चासे र वरपरका गाउँमा ग्रामीण पर्यटनका लागि पूर्वाधार विकास गरिएकाले नयाँ गन्तव्य बन्न लागेको हो । पदयात्राका लागि ख्याति कमाएको प्राकृतिक र जैविक विविधताले भरिपूर्ण पन्चासे क्षेत्रमा पर्ने पर्वतको आर्थर र चित्रे गाविस तथा कास्कीको भदौरे गाविसमा पर्यटकका लागि 'होमस्टे' सुविधा सुरु भएको छ ।

पन्चासेको विकासमा क्रियाशील माछापुच्छ्र्रे विकास संघ र पन्चासे धार्मिक एवम् पर्यटकीय क्षेत्र विकास समितिको पहलमा स्थानीय गुरुङ समुदाय बाहुल्य बस्तीमा आन्तरिक तथा बाह्य पर्यटकका लागि घरमै बसेर खाने, सांस्कृतिक र मौलिक पहिचान झल्कने लोकसंस्कृति देखाउने व्यवस्था मिलाइएको छ ।

पन्चासे अवलोकनका लागि आउने पाहुनालाई आवश्यकताअनुसार मनोरञ्जन दिएर खुसी पार्ने गरेको पन्चासे पशुपालन समूहकी सचिव हितमाया गुरुङ बताउँछिन् ।

चित्रेका १ दर्जन, भदौरेका २ दर्जन र आर्थर गाविसमा त्यति नै संख्यामा घरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधायुक्त वातावरण तयार गरिएको छ ।

पन्चासे क्षेत्रको १ गाउँमा बास बसेपछि दिनभर पन्चासेको पदयात्रा सकेर साँझ अर्को गाउँमा पुगेर विश्राम लिन सक्ने व्यवस्था मिलाइएको पन्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले बताए । रासस

1 comment:

  1. yes! Integrated work on tourism can give better results!!!!

    ReplyDelete