Written by Bijaya Poudel, Editor-in-Chief, Vishwa sandesh |
Thursday, 25 August 2010 21:43 |
न्यू योर्क- आफ्ना दुई आँखाको नानी जस्ता दुई छोराहरु एउटा काठमाडौंमा मोटर साइकल दुर्घटना र अर्को अमेरिकामा कार दुर्घटनामा मृत्यु हुन पुगेपछि बिष्णु गौतम नेपालका सयौं जेहेन्दार र दीनहीन विद्यार्थीहरुको अनुहारमा आफ्ना छोराहरुको प्रतिबिम्ब खोज्दैछन्। बिष्णु गौतमको पुर्ख्यौली घर काभ्रे हो तर उनी काठमाडौंको तिलगंगामा बसोबास गर्दछन्। बिष्णु र यिनकी श्रीमती लक्ष्मीका दुई सन्तान थिए- कुमार र बलराम। गुणी छोरो कुमारको समाज सेवा जेठो छोरा कुमार अत्यन्त मिलनसार थिए अनि बाबुछोरा पनि घनिष्ठ मित्र जस्तै । कुमार सानै उमेरमा सफल व्यवसायी मात्र होइन सामाजिक काम गर्न सधैं एक कदम अगाडि नै थिए । यिनले काठमाडौं जिल्लाभित्रका कयौं विद्यालयहरुलाई आफ्नै खर्चमा १५ औं थान कम्प्युटर दिएका थिए भने काभ्रेको दोलालघाट पारितिरको गाउँका २२ जनालाई जीवनभर पढाइदिने प्रण गर्दै छात्रवृत्ति प्रदान गर्दै आएका थिए । 'विकासकालागि शिक्षा' भन्ने आदर्श बोकेका कुमारले बनेपास्थित एड्सका बिरामीहरुको पुनस्र्थापना केन्द्रलाई पनि सहयोग गर्दै आएका थिए अनि बेलाबेलामा चितवनको बछ्यौली माविलाई पनि सहयोग जुटाउन भ्याएका थिए । Bishnu Gautam and Lakshmi Gautam with orphans. Photos: Bijaya. मध्यरातमा कुमारको मृत्युको दु:खद खबर यस्तो लहलहाउँदो उमेरको गुणी छोरो, अरुलाई सेवा गर्न भनेपछि मरिहत्ते गर्ने अनि परिवारप्रति त्यत्तिकै जिम्मेवार कुमार एक दिन मध्यरातसम्म पनि घर आएनन्। त्यो दिन थियो- सन् २००८ को डिसेम्बर २९ तारिख । रातिसम्म बाबुआमा मनमा विभिन्न तर्कना खेलाउँदै कुर्दै थिए । तर कुमार होइन अकस्मात प्रहरीको फोन आयो- आफ्नै घरछेउको संचारग्राम अगाडि मोटरसाइकल दुर्घटना भएको खबर लिएर । त्यसपछाडि कुमार र उनको परिवारको कहिल्यै भेट भएन । घरमा आफ्ना मातापिता तथा कुमारका ८५ वर्षे वृद्ध हजुरबुवा र ७८ वर्षे वृद्ध हजुरआमालाई कसरी सम्झाए होलान् विष्णुले ? अमेरिकाबाट कान्छो छोरोको मृत्युको अर्को दु:खद खबर जेठो छोरोको अबसानपछि जेनतेन मन बुझाउँदै थिए विष्णु र र लक्ष्मीले। तर के गर्नु 'दुःखीको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया राखी मलाई अझ दुःख दे' भन्ने चर्चित हरफजस्तै भयो विष्णु गौतमकालागि । जेठो छोरो मोटरसाइकल दुर्घटनामा परी बितेको ९ महिनाभित्रै अमेरिकाको ओक्लोहामाको नर्थ-वेस्ट ओक्लोहामा युनिभसर्िटीबाट भर्खर ग्राजुएसन गरी पढ्दा खेरीको केही क्रेडिट कार्डको ऋण चुक्ता गरेर नेपाल फर्कने तयारी गरिरहेका २५ वर्षे अर्को छोरा बलरामको सन् २००९ अक्टोबर ३ तारिख कार दुर्घटनामा मृत्यु भएको खबर बोकेर आएको फोनको घन्टीले उक्त परिवारलाई अरु भाव बिह्वल बनायो । विष्णु गौतमकी धर्मपत्नी लक्ष्मी गौतम आधा घन्टा अचेत भइन् भने बुढा भएका आफ्ना बाबुआमाको घाँटीबाट स्वर नै निस्केन । यसरी पुनः मर्माहत हुन पुग्यो गौतम परिवार । लाखौंलाख छोराछोरीको अनुहारमा आफ्ना मृतक छोराहरुको प्रतिविम्ब खोज्ने अभियान आफ्ना दुई सन्तानको बिछोडले टुकि्रएका विष्णु गौतमले एउटा प्रण गरे र परिवारलाई पनि बुझाउन सफल भए कि रोएर आँसुले ओछ्यान भिजाउँदैमा फेरि कुमार र बल फर्केर आउँदैनन् त्यसैले देशभरि बाँचेका लाखौंलाख छोराछोरीको अनुहारमा आफ्ना मृतक छोराहरुको प्रतिविम्ब खोजौं । त्यसैले सामाजिक कामकालागि सधैं अग्रसर उनका छोराहरु गुमाएर विक्षिप्त बनेकी आफ्नी श्रीमती लक्ष्मी गौतमको नामबाट 'लक्ष्मी प्रतिष्ठान' संचालन गर्न पुगे- विष्णु गौतम । Lakshmi Pratisthan involves in various social activities. Photos: Bijaya. यसैबिच, गौतमले छोराहरु गुमाइसकेपछिका आफ्ना आवेगका भावनाहरु समेटेर आफ्नै रचनाको एउटा गीति क्यासेट 'लक्ष्मी' कवि माधवप्रसाद घिमिरेको हातबाट मृतक कुमारको वार्षिकीको पुण्य तिथिमा विमोचन पनि गराए अनि क्यासेटको आम्दानी पनि लक्ष्मी प्रतिष्ठानमा नै चढाउने निधो गरे । त्यसअगाडि गत वर्ष डिसेम्बर महिनामा यो पंक्तिकार काठमाडौं पुग्दा राम्रोसँग हिमचिम र चिनजानको परिवार भए पनि त्यो परिवारको खपिनसक्नु वेदनाकाकारण भेट्न जाने हिम्मत गरिरहेको थिएन तर आँसु पिएर हीरा जन्माउने क्षमताका धनि विष्णु गौतमले एक जना नजिकका मान्छेलाई लिन नै पठाएपछि भेट्न बाध्य भएको थिएं। । एउटै वर्ष आफ्ना दुई वटा अमूल्य रत्न गुमाएका विष्णु गौतमसँग आँखा जुधाउने ममा क्षमता थिएन तर उनी आफैंले भने- 'अब छोराहरुलाई सम्झन छाडिसकें र घरमा बाँचेकाहरुले पनि मन बुझाइसके, अब हामीदेखि तपाईंहरु भाग्नुपर्दैन । सहानुभूतिकाकारण नजिक आउन नसक्नेहरुलाई लक्षित गर्दै गौतमले भनेका थिए "हामी सामान्य भइसक्यौं, त्यसैले अब छिट्टै दिवंगत सन्तानको एक मात्र नजिककी हकवाला उनीहरुकी आमा र मेरी अर्धांगिनी लक्ष्मीको नाममा प्रतिष्ठान खोलेर पूर्ण रुपमा सामाजिक कार्यमा लाग्ने विचार छ ।' नभन्दै गत डिसेम्बर १९ तारिखमा आफ्नै घरको कोठालाई प्रतिष्ठानको कार्यालय बनाएर छोराहरुको मृत्युले जन्माएको दुःख बिर्साउन समाज सेवामा होमिए विष्णु गौतम । समाज सेवाकालागि सात रोपनी जग्गा संस्था जन्मिएको आठ महिना पूरा भएको छैन तर विष्णु गौतमले सामाजिक कामकैलागि काभ्रेको आफ्नो व्यक्तिगत सात रोपनी जमिन बिक्री गरिसके भने यसबीचमा उनको बिहान उठेदेखि बेलुकी नसुतेसम्म समाज सेवामा नै बित्दछ । सात दिनमा ४ दिन समाजसेवाकैलागि फिल्डमा हुन्छन् अनि ३ दिन प्रतिष्ठानको कार्यालयमा विभिन्न सम्पर्कमा बित्दछन्। जेठा छोराले प्रदान गर्दै आएको २२ जना गरिब विद्यार्थीहरुको छात्रवृत्तिमा ब्रिद्धी प्रतिष्ठान खोलेको छोटो समयमा सात लाख खर्च गरेर काभ्रेको बालप्रतिभा निमाविलाई थप कोठा निर्माण गर्नेदेखि लिएर स्व. जेठा छोराले प्रदान गर्दै आएको २२ जना गरिब विद्यार्थीहरुको छात्रवृत्तिलाई उनले ३८ जनालाई पढाउने व्यवस्था गरिदिए, त्यसमध्ये ४ जनाले त बोर्डिङस्कुलमा नै पढ्ने मौका पाएका छन् । काभ्रेको अनयकोटमा मात्र होइन मोरङको लेटाङसम्म पुगेर त्यहाँका अशिक्षित र उपेक्षित महिलाहरुलाई साधारण शिक्षा र व्यावसायिक तालिम दिने कक्षाहरुमा हाल दुई सय जना पढ्दैछन् । अहिले प्रतिस्ठानले लामो समयदेखि बेपत्ता पारिएका पत्रकार प्रकाश ठकुरीको दुई सन्तानलाई पढाउने पनि जिम्मा लिएको छ । स्वरोजगार तालिममा सहयोग पढाउने र सिकाउने मात्र होइन हाल लक्ष्मी प्रतिष्ठानको जमानीमा स्वरोजगार लघुवित्त संस्थानहरुबाट दुई सय जनाले बिनाधितो ३०-३० हजार ऋण लिएर अचार, तितौरा बनाउने अनि बाख्रा र सुंगुर पाल्नेसम्म काम गरेर जीविकोपार्जन गर्न सफल भएका छन् । जसको जे सीप छ त्यसलाई त्यही काममा लगाएर सामाजिक रुपान्तरणको मार्गमा हिँडेका विष्णु गौतमले काभ्रेको एउटा गाउँमा रहेका करिब २५ सार्की परिवारलाई जुत्ता सिलाएर बेचबिखन गराउन थालिसके । अर्को दुर्घटना जोगाउने अभियान मृगौला खराब भएकालाई सहयोग मात्र होइन भविष्यमा दुर्घटनामा कमी आओस् भन्ने हेतुले काठमाडौंका विभिन्न सडकहरुमा रहेका डिभाइडर पनि रंगाउन थालेका छन् उनी र साथसाथै प्रतिष्ठानका स्वयंसेवकहरुलाई ट्राफिक चेतना कार्यक्रममा पनि सहभागी गराउँदै आएका छन् । पर्याबरण अभियानदेखी खानेपानीसम्म उनले हाल मात्र 'एक घर पाँच फल' जस्ता कार्यक्रम ल्याएर पर्यावरणलाई टेवा पुर्याउने कार्यक्रम मात्र होइन काभ्रेकै अनयकोटस्थित स्थानीय उपभोक्ता समूह तथा सामुदायिक वन समूहलाई कार्यक्रम संचालन गर्न एक लाख नगद सहयोग गरेका छन् भने काभ्रेकै भक्रम देवी माविलाई करिब ३० लाख मूल्य पर्ने ४ रोपनी ४ आना जग्गा उपलब्ध गराई करिब साढे चार किलोमिटरको दूरीदेखि खानेपानी ल्याएर विद्यार्थीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था गरिदिएका छन् । परिवारको गुजारा पैसा कमाउन समाजसेवालाई बदनाम गर्ने परिपाटी बनेको नेपाली समाजभित्र आफ्ना सन्तानको रिक्तता भुल्न समाज सेवामा लागेका गौतमले आजसम्म करिब १ लाख १५ हजार सदस्यता शुल्कबाहेक कसैको कौडी सहयोग नपाएको बताउँछन् । सम्पत्तिको नाममा तिलगंगामा रहेको एउटा घर हो जुन धेरै पहिला पशुपति विकास कोषले रोक्का गरिसक्यो, न बेच्न मिल्छ, न नयाँ बनाउन मिल्छ । त्यही घरमा संचालित एउटा हस्तकलाको पसल छ, त्यसैबाट गुजारा चलेको छ उनको परिवारको । "समाज सेवा मात्र एउटा विकल्प हो जसले हामीलाई सन्तुष्टि प्रदान गर्दछ"- बिष्णु गौतम हालसम्म ३२ लाख व्यक्तिगत सम्पत्ति समाज सेवाकालागि समर्पण गरीसकेका गौतम भन्छन्- 'बाँकी भौतिक जीवन जिउन मेरो अगाडि अरु विकल्प छैन, समाज सेवा मात्र एउटा विकल्प हो जसले हामीलाई सन्तुष्टि प्रदान गर्दछ । जीवनमा यस्तो घाउ भयो निको पार्ने मलहम नै छैन । म पनि अजम्बरी होइन यस्तै दश/बीस वर्षमा भौतिक शरीर छाड्नैपर्छ, त्यसैले भत्किएको देशमा दुःखीहरुको सेवामा हिँड्ने प्रयत्न गर्दैछु ।' -Bijaya Poudel in New York. Note: लेखक बिजय पौडेल न्यू योर्कबाट प्रकासित हुने पाक्षिक नेपाली पत्रिका 'विश्व सन्देश' को प्रदान सम्पादक हुन्। |
Thursday, August 26, 2010
अमेरिकामा छोराहरुको दुर्घटनामा मृत्युपछि पिताको अनुकरणीय समाज सेवा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment