Showing posts with label बिज्ञान. Show all posts
Showing posts with label बिज्ञान. Show all posts

Sunday, August 28, 2011

बाबुराम भट्टराईको जीवनी


२०२७ को वैशाख २० गते दिउँसो । गोर्खाको पहाडी भेगको एउटा मिडिल स्कुलमा कक्षा चलिरहेका छन् । कक्षा ७ माएउटा भर्खर जुँगालेनिहुँ खोजिरहेको खिरिलो युवा अंग्रेजी पढाइरहेको छ । आज बिहानैदेखि एउटा उत्सुकता मनमा छ, जसका बारेमा धेरै विद्यार्थीलाई अनुमान छैन । बिहानै गाउँको प्रधानको छोरा हरि ढकालले एसएलसीको रिजल्ट भएको खबर सुनाएर गएको छ। शिक्षक जो, गोर्खाको अमरज्योति मिसन स्कुलको विद्यार्थी हो, उसलाई रिजल्टमा त्यति धेरै चासो त छैन, तर कृष्णले गीतामा जति शब्द खर्चिएर 'कर्म गर फलको आशा' नगर भने पनि जाँच दिएको विद्यार्थीलाई रिजल्टको पर्खाइ भई नै हाल्छ । सो, यो तीन महिने शिक्षकलाई पनि चासो छ । अमर ज्योतिको एउटा विद्यार्थी चाँडै गाउँ फर्कियो । र, उसले एउटा खबर सुनायो । अब शिक्षकको खुल्दुली झन् बढ्दो छ । साढे दुई बज्यो, गाउँबाट रेडियो स्कुलमा आयो । र, कक्षा लिइरहेको शिक्षकबाहिर निस्किएर रेडियो सुन्न थाल्यो । रेडियोले भन्यो- 'आज प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भयो । नतिजा अनुसार अमर ज्योति हाइस्कुल, गोर्खा लुइँतेलका बाबुराम भट्टराई सर्वप्रथम भएका छन्' । समाचारले शिक्षकको अनुहार चहकिलो भयो । तर, रेडियो फिर्ता गरेर ऊ पुनः कक्षामा प्रवेश गर्‍यो र बाँकी पाठ पढाउनथाल्यो ।


चालीस वर्षपछि ललितपुरको एकान्तकुनामा त्यस दिनको स्मरण गर्दा पनि डा. बाबुराम भट्टराईको अनुहारको भाव तटस्थ थियो ।डाँडै-डाँडाले घेरिएको रिङरोडबाहिरको ललितपुरलाई बादलले आज निकै नजिकबाट घेरा हालेको छ । सेतो, कालो र फुस्रो बादलका झुप्पाहरू गुजुमुज्ज भएर सहरतिर ओर्लिन लागेजस्तो देखिन्छ । घरभित्र सौम्य, शालीन मुद्रामा भेटिएका डा. भट्टराई पनि बादलजस्तै शान्त देखिन्छन् । कोठामा माक्र्स, एङ्ग्लेल्स, लेनिन, माओको फोटो लहरै टाँगिएका छन् । तलपट्टि माओवादीले प्रस्ताव गरेको संघीय नेपालको नक्सा छ । पछि उनले बताए, यो नक्सा मैले नै डिजाइन गरेको हुँ । यस नक्साअनुसार उनको गाउँ अब तमुवान राज्यमा पर्नेछ, जसको सदरमुकाम उनले पोखराघोषित गरेका छन् । देशमा आजसम्म थुप्रै विद्यार्थी एसएलसीमा बोर्डफस्ट भए । तर, बाबुराम भट्टराईको जस्तो बोर्डफस्ट ग्ल्यामर न कसैको छ न हुने देखिन्छ । उनी उपत्यकाबाहिरका पहिलो बोर्डफस्टका रूपमा मात्र उनी प्रसिद्ध छैनन्, कहिल्यै दोस्रो नहुने जिनियसका रूपमा उनी अझ बढी प्रख्यात छन् । कसरी भइन्छ सधैं फस्र्ट ? यो मेरो मुख्य प्रश्न थियो । उनले सजिलो उत्तर दिए- रुचि,लक्ष्य र मिहिनेतले । तर, यति छोटो उत्तरले म मान्ने मुडमा थिइनँ । मलाई उनको पहिलो कक्षादेखिको पूरै कथा सुन्नु थियो । उनले सुरु गरे । मैले पढ्न सुरु गर्दा हाम्रो गाउँमा स्कुल थिएन । ल, यो त अनौठो भयो, के बाबुराम भट्टराई बिना स्कुलका फस्र्ट हुन् त ? त्यसो त होइन, मेरा जेठा बा हरिप्रसाद भट्टराई ज्योतिष हुनुहुन्थ्यो । उहाँले नै मलाई पहिलोपटक संस्कृतका श्लोक पढाउनुभएको हो, उनले भने । पुस्तकको पहिलो संगत चाहिँ यिनले मुहूर्त चिन्तामणि बाट गरे । मैले रुद्री, चण्डी पढिनँ, ६-सात वर्षको उमेरको कथा सम्झीए ।१८ सालमा उनको गाउँमा एउटा नयाँ 'चिज' को थालनी भयो । नेपाली सेनाबाट बर्खास्त भएका भक्तबहादुर भुजेल गाउँका फुच्चेहरूलाई कखरा चिनाउन तम्सिए । एकदिन उनले गाउँको चौतारामा गाउँका बच्चा जम्मा गरेर भर्ना लिए, बाबुराम बिस्तारै रोमाञ्चित हुँदै गएका छन् । टाउकाको रंग तिलचामलेबाट अलि अघि बढेपछि मान्छे पुराना कुरालेबढी उत्साही हुन्छ । यी माओवादी नेता पनि त्यस्तै देखिए । कक्षामा सातवर्षका बाबुरामदेखि २०-२२ वर्षसम्मका विद्यार्थी थिए । भुजेलगुरु टुटेफुटेको अंग्रेजी पनि बोल्थे र हरेक बिहान हामीलाई पिटी खेलाउँथे, उनले भने । चौतारी कक्षाको केही महिनामा भुजेल गुरुको स्कुल एउटा छाप्रोमा सर्‍यो । एक वर्ष जतिको छाप्राका बासपछि अब उनी औपचारिक स्कुल शिक्षाका लागि तयार भए । 

घरदेखि अढाई घन्टा पैदल दूरीमा रहेको लुइँटेलमा क्रिस्चियन मिसनरीहरूले नयाँ स्कुल खोले । बाबुराम त्यतै डेरा लिएर बस्ने गरी घरबाट बिदा भए । स्कुलले सुरुमै उनलाई तीन कक्षामा भर्ना लियो । तर, यहाँ पनि स्कुलचाहिँ थिएन । पहिलोपटक चौतारामा भर्ना भएको म ०१९ साल फागुन २० गते दोस्रोपटक आँपको बगैंचामा भर्ना भएँ, उनले सुनाए । केही समय बगैंचामा पढेपछि स्कुलको भवन बन्यो । चैत र वैशाख दुई महिना पढेपछि जेठमा उनी तीन कक्षाको अर्धवाषिर्क परीक्षा दिन तयार भए । नतिजा आयो, बाबुरामको जिन्दगीभर फस्र्ट हुने रेकर्डको खाता यहीँबाट खुल्यो। म फस्र्ट भएँ र तुरुन्तै चार कक्षामा बढुवा भएँ, उनले बताए । जेठबाट सुरु भयो कक्षा चारको पढाइ । मंसिरमा उनले आफूभन्दा चार महिनादेखि त्यही कक्षामा पढिरहेका साथीहरूसँग परीक्षा दिएँ । र, नतिजाले उनीबाहेक सबै आश्चर्यमा परे,फेरि पनि पहिलो हुने विद्यार्थीको नाम बाबुराम नै थियो । पाँच कक्षामा यिनको कक्षामा एउटा विद्यार्थी थपिए । ती थिए, उपेन्द्र देवकोटा । अर्को प्राइमरी स्कुलबाट आएका यी देवकोटा पनि तेज विद्यार्थी मानिन्थे । दस कक्षासम्मै बाबुराम पछिको दोस्रो भएर यिनले यसको पुष्टि पनि गरे । उपेन्द्र सधैं दोस्रो हुन्थे । उनको र मेरो नम्बरमा प्रायः सय नम्बर भन्दा बढीकै अन्तर हुन्थ्यो,उनको र तेस्रोको बीचमा पनि यति नै फरक हुन्थ्यो, बाबुरामले भने । सय भन्दा बढीको यो अन्तर दस कक्षामा तोडियो । उपेन्द्रको र मेरो टेस्टमा ६९ नम्बरको फरक पर्‍यो । रोचक त के भने एसएलसीमा पनि हाम्रो ६९ नम्बरकै फरक थियो, यो एउटा समानताको कथा थियो । यससँगै एउटा अन्तरको कथा पनि छ,एसएलसीमा बाबुराम बोर्डफस्ट भए, उपेन्द्र दसौं । बाबुरामलाई कहिल्यै लागेको थियो बोर्डफस्र्ट हुन्छु भन्ने ? कल्पनासमेत गरेको थिइनँ । जाँच राम्रो गरेको छु भन्ने चाहिँ लागेको थियो, उनले सुनाए । रेडियोमा रिजल्ट सुनेपछि उनी सरासर डेरामा पुगे । डेरामा पुग्दा त वरिपरिका केटाहरू अबिर लिएर बसेका रहेछन्, अनि बल्ल सुरु भयो 'सेलिब्रेसन' । अब भने उनलाई आमा-बालाई पनि यो खबर सुनाउन मन लाग्यो । भोलिपल्ट म घर गएँ । आमा-बा खेतमा काम गरिरहनुभएको थियो । उहाँहरूलाई भनेँ । तर, अर्धसाक्षर बा र असाक्षर आमालाई मेरो खबरले खासै असर पारेन । तर, बेलुकीपख मेरो गाउँका मानिसहरूले पनि अबिर लगाइदिए । अनि बल्ल बा-आमालाई पनि ए ! केही राम्रै भएको रहेछ क्यार भन्ने थाहा भयो, उनले भने । पछि उनको स्कुललेएउटा कार्यक्रम गरी उनलाई अबिर लगाइदियो र सय रुपैयाँ पुरस्कार दियो । एउटा उत्सवको अन्त्य यसरी भयो । त्यतिवेला कुनै 'प्लस टु' थिएनन् न त पत्रिकामा विज्ञापनको चलन नै थियो । तैपनि, महिनौं समाचार र फोटो छापिने फस्र्टहरूको तुलनामा बोर्डफस्र्ट बाबुरामको ग्ल्यामर बढी चम्किलो छ ।

 फस्र्ट हुनु भनेको लत हो, आज उनलाई यस्तो लाग्छ । फस्र्टलाई सधैं अर्काले जित्छ कि भन्ने डर हुन्छ, यो बडो खतरनाक आदत हो, उनले विश्लेषण गरे- एउटा विद्यार्थी ९९ नम्बर ल्याउँदा बिगि्रयो भन्छ अर्को ३२ ल्याएर पास हुँदा खुसी हुन्छ । एसएलसीको केही समयपछि झोलामा गुन्दु्रक पोको पारेर उनी लमतन्न परेर सुतेको पालुङटारको मैदानमा झरे । त्यतिवेला पृथ्वीराजमार्ग खुलेको थिएन, काठमाडौं आउन जहाजचढ्नुपथ्र्यो, सो उनी चालीस रुपैयाँको टिकट काटेर काठमाडौं छिरे । अनिसुरु भयो, जीवनको अर्को अध्याय, सहरसँग जोडिएको अध्याय । पालुङटारको जहाजले उनलाई एकैपटक अर्कै लाग्ने दुनियाँमा ल्याइपुर्‍याएको थियो । स्कुलमा मलाई गणित निकै मन पथ्र्यो, अस्कलमा आइएससी भर्ना हुनुपछाडिको कारण उनले बताए ।स्कुलमा मेरो गणितमा कहिल्यै ९९ नम्बर पनि आएन, सधैं सय, उनले भने र एउटा पुरानो किस्सा सुनाए । हाम्रो स्कुलको हेडमास्टर केरलाका थिए । मैले सधैं सय नम्बर ल्याएको देखेर उनले मेरो नम्बर घटाउने विचार गरेछन् । आठको जाँचमा उनले कसैले थाहा नपाउने गरी एउटा प्रश्न दस कक्षाको युनिटरी मेथडको घुसाइ दिएछन् । म कक्षाको सबैभन्दा जान्ने विद्यार्थी मात्र थिइनँ, माथिल्लो कक्षाका विद्यार्थीले पनि मलाई सोध्थे । मैले त्यो दसको प्रश्न भन्ने चालै पाइनँ । तर, आफ्नो 'कमन सेन्स' प्रयोग गरेर त्यो पनि हल गरेँ, मिलेछ । यसप्रकार यसपटक पनि उनले सय नै ल्याए । म दस कक्षामा पुगेपछि एक दिन हेडसरले नैमलाई यो कुरा बताए, उत्साही मुडमा उनले भने । बाबुराम जम्माजम्मी अंकमा मात्र फस्र्ट हुन्थेनन्, 'म हेरक विषयमा फस्र्ट हुन्थेँ' काठमाडौंको कथामा प्रवेश गर्नुअघिको कुरा उनले सुनाए । काठमाडौं फरक थियो, उनले आएपछि थाहा पाए । काठमाडौंका सेन्ट जेभिएर, आनन्दकुटीका परर्र अंग्रेजी बोल्ने विद्यार्थीका अगाडि केही दिन उनलाई बोर्डफस्र्ट भएर पनि आफू नजान्ने जस्तो लाग्यो ।'लेख्न त म अंग्रेजी राम्रो लेख्न सक्थेँ, तर बोल्ने हाम्रो अभ्यास थिएन,'कारण यस्तो थियो ।
 
पहिलो तीनमहिने परीक्षाको नतिजा नआउन्जेल काठमाडौंका विद्यार्थीलाई पनि यस्तै लागेको थियो । तर, जब पहिलो परीक्षाको नतिजा आयो फेरि बाबुराम नै फस्र्ट भए । त्यसबेला तीन-तीन महिनामा परीक्षा हुन्थ्यो, यसको पचास नम्बर जोडिन्थ्यो, अन्तिम परीक्षा पचास नम्बरका लागि हुन्थ्यो, उनले भने । यो पहिलो तीनमहिने परीक्षामा उनले अंग्रेजीमा ७५ ल्याएका थिए जुन अस्कलको सबैभन्दा बढी थियो । अस्कलको कक्षामा उनीसँग अरू पनि केही चिनिएका नाम पढ्थे । यिनमा गणेशमान सिंहका छोरा प्रदीपमान सिंह, मनमोहन अधिकारीका छोरा प्रकाश अधिकारी र शाहीकालका मन्त्री कमल थापा सामेल थिए । यिनीहरू चाहिँ कस्ता विद्यार्थी थिए त ? प्रदीप र प्रकाश सामान्य थिए तर कमल थापा पहिलेदेखि नै अलि हावा थिए । उनी अन्तिम बेन्चमा बसेर हल्ला गर्ने, केटी जिस्क्याउने कुरामा पहिलेदखि नै तेज थिए, भट्टराईले सुनाए । तर, परीक्षाहरू सधैं सजिला हुँदैनन् । उस्तै पनि हुँदैनन्, हुने भए मानिसले बारबार परीक्षा दिनुपर्थेन होला,एउटा परीक्षा पास गरेपछि जीवनमा अरू परीक्षा हुन्थेनन् होला । आइएससीको पहिलो वर्षको परीक्षा बाबुरामका लागि फरक भएर आयो । फिजिक्सको एउटा प्रश्नमा म धेरै बेर अड्किएँ र पूरै हल गर्न सकिनँ, यसले उनको रिसको पारो पनि बढाइदियो । मलाई सारै नमजा लाग्यो, अब म फस्र्ट हुन्नँ कि भन्ने लाग्यो । अनि भोलिपल्टको पञ्चायत पेपर छाडिदिएँ, अब त उनी फस्र्ट नहुने प्रस्ट भइसकेको थियो । तर, रिजल्ट सुन्दा त म नै फस्र्ट भएछु, यसपछि उनलाई जीवनमा पहिलोपटक लाग्यो- 'मलाई कसैले जित्न सक्दैन ।' नलागोस् पनि किन ? एउटा पेपर नै छोड्दा पनि फस्र्ट भइयो भने जो-कोहीलाई पनि यस्तै लाग्छ, उनी त झन् फस्र्ट हुने बानी परेका मानिस ।अस्कल पढ्दा म लेखनाथ पौडेलको घरको छिँडीको कोठामा महिनाको पचास रुपैयाँ भाडामा बस्थेँ अरू दुई साथीसहित, यसो भनेर उनले आफूले कसरी भाडा माझ्ने काम रोजेर पढ्ने समय रोज्थे भन्ने सुनाए । बाबुरामले जीवनमा कहिल्यै ट्युसन पढेनन् । र, उनलाई आज पनि लाग्छ, ट्युसन पढेर कोही पनि जान्ने हुँदैन । यति मात्र होइन, उनले नेपालमा पढिन्जेल कहिल्यै राति दस बजेभन्दा बढी पढेनन् । म कहिल्यै जाँचको वेला पनि राति ढिलोसम्म बसेर पढिनँ, उनी सम्भिmन्छन् । के बाबुराम सामान्य पढाइले नै सधैं फस्र्ट भएका हुन् त ? 'होइन' केले हो त ? म बाह्रैमास पढ्थेँ, निद्रामा बाहेक मेरो दिमागमा सधैं पढाइकै कुरा खेल्थे, उनले रहस्य खोले । 'पढ्ने भनेको सधैं पढ्ने हो, जाँचमा पढेर कोही फस्र्ट हुँदैन, उनको यो कुरा सुनेर अहिलेका विद्यार्थीले के भन्दा हुन् ? उनी विद्यार्थीको पढाइमा शिक्षकको भूमिकालाई अहम् मान्छन् । मेरो पढाइमा भक्तबहादुर भुजेल,अमरज्योतिकी शिक्षिका एलनुर एल्किन्स र पिएचडीकी गाइड अतिया हबिबको भूमिका सबैभन्दा बढी छ, उनी राम्रा चेला देखिए । आइएससी पछि उनी कोलम्बो प्लानअन्तर्गत भारतको चण्डीगढको पन्जाब विश्वविद्यालयमा आर्किटेक्चर पढ्न गए । यहाँ पाँच वर्ष पढ्दा भने उनी बोर्डफस्र्ट हुन पाएनन् । 

नसकेर होइन,यहाँ बोर्डफस्र्टको चलन थिएन, ग्रेड सिस्टम थियो, म सधैं पहिलो ग्रेडमै पर्थें। चण्डीगढबाट सहरी विकास विषयमा पोस्ट ग्रयाजुयटका लागि उनी दिल्ली आए ।नेपालमा ०३६ सालको विद्यार्थी-आन्दोलन र जनमत-संग्रहको वेला थियो । यतिवेला म राजनीतितिर लागिसकेको थिएँ, नेपाली विद्यार्थी युनियनको सभापति थिएँ, उनी जीवनको अर्को अध्यायतिर प्रवेश गर्दै छन्, जुन विषयमा मलाई अहिले त्यति रुचि छैन । तर, उनी धेरै टाढा पुगेनन्, राजनीतिसँग जोडिएको पढाइको अर्को एउटा कथा सुनाउनतिर लागे । र, यसमा मलाई कुनै आपत्ति थिएन । त्यसवेलाराजनीतिक काममा यति लागियो कि अन्तिम परीक्षाको समयमा मसँग समय थिएन । स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरको परीक्षामा थुप्रै नक्सा बुझाउनुपथ्र्यो । तर, म नक्सा बनाउने समयमा सडक-आन्दोलनमा हुन्थँ । अन्त्यमा मैले पाँच दिन पाँच रात बसेर नक्सा बनाउनुपर्‍यो, जीवनमा सबैभन्दा बढी समय काम गरेको वेलाको उनले सम्झना गरे । शुक्रबार रातिबाट काम थालेको थिएँ । बिहान-बेलुका क्यान्टिनमा खाना खान आउने समयबाहेक सबै समय नक्सा नै बनाइरहेँ । अन्तिममा बुधबार साँझ मात्र सकियो । नक्सा बुझाएर बल्ल म सुत्न गएँ, उनले सुनाए । लगातार एक सय दस घन्टा लगाएर बनाएका यी नक्साले फेरि एकपटक उनलाई फस्र्ट बनाइदिए । यसपछि सुरु भयो जवाहरलाल नेहरू विश्वविद्यायलमा रिजनल डेभलपमेन्ट प्लानिङ'मा विद्यावारिधि । त्यसवेला मैले विश्वविद्यालयको पुस्तकालयमा निकै पढँ । बिहान नौ बजे पुस्तकालय खुल्दा सबैभन्दा पहिले म भित्र छिर्थें र राति १२ बजेनिस्किन्थेँ, उनी कक्षाबाट अब पढाइको कुरामा प्रवेश गरे । पिएचडीका वेला सिंहदरबार अगाडिको पुस्तकालयमा पनि धेरै पटक गएको छु । एकपटक त सबै गइसके भनेर पालेले मलाई भित्रै बन्द गरेर चाबी लगाएर हिँडेछन् । पछि त्यहीँ बस्ने अर्को पालेले खोलिदिएर म बाहिर निस्किएँ, डाक्टरसाहेब ! फस्र्ट हुने मात्र होइन,पढ्ने पनि लत नै रहेछ । जंगलको यात्राबाट फेरि सहर फर्किएर सत्ताको नजिकै पुगेको पार्टी माओवादीका नेताका रूपमा उनको राजनीतिक छवि एक ठाउँमा छ। सधैं फस्र्ट को अर्को छविले अहिले छेउमा बसेर राजनीतिको सडकमा बेपत्ता कुदिरहेका बाबुरामलाई एकोहोरो हेरिरहेको छ । खुद बाबुरामलाई पनि अहिले लाग्छ, पहिलेको जति अहिले पढ्न सकिएन । गाणतन्त्र घोषणा भएको केही दिनमा उनलाई गृहमन्त्री कृष्ण सिटौलाले एकदिन जिस्क्याए- अब त गणतन्त्र आयो नि डाक्टरसाब ! अब जाने होइन त पढ्न ? उनले कुरा अथ्र्याए- शान्ति-सम्झौता हुँदाताका मैले सिटौलालाई भूमिगत हुँदा पढ्न पाइन्थ्यो अहिले त पढ्नै पाइनँ, पढ्ने धीत मरेन भनेको थिएँ, उनले त्यही भएर जिस्क्याएका । जिस्क्याउन त कहिलेकाहीँ यिनलाई आफ्नै मनले पनि जिस्क्याउँछ । एउटा सेतो प्लास्टिकको झोलामा संगालेर राखेका केही थान राइटिङ प्याड छन् । कुराकानीकै बीचमा उनी उठेर भित्र छिरे,फर्किंदा हातमा त्यही पोको थियो । मैले आजसम्म देखेका सबैभन्दा साना अक्षर यी डायरीमा थिए । यी अक्षरको अर्को विशेषता थियो, सारै साना भएर पनि यीएक-आपसमा जोडिएका थिएनन्, जसले पनि पढ्न सक्ने गरी प्रस्ट थिए । 'यो भूमिगत हुँदा पढेका किताबबाट टिपेका टिपोट हुन्, यिनलाई संगालेर किताब निकाल्नुपर्ने, यो मनभित्रको एउटा हुटहुटी हो । नेपाली समाजको भौतिकवादी व्याख्या गरेर किताब लेख्ने धोको पनि उनमा छ । यसभन्दाठूलो पढ्ने धोको उनको मनमा छ, यो धोकोभन्दा बढी सपना बनिसकेको छ । 'मलाई गोर्खाको कुनै डाँडामा गएर 'कोअपरेडिभ कम्युन' बनाएर जीवनभर पढेर बस्ने रहर छ,' एकसाथ सयौं तरंग फैलिएको तलाउजस्तो देशको अस्थिर राजनीतिले यिनलाई यो सपना पूरा गर्ने अवसर कहिले देला ?

Monday, January 10, 2011

शिक्षामा सूचना तथा सञ्चार प्रविधि ( आइ टी ) कार्यक्रम स्याङ्जाबाट सुरु

लोकनाथ मरासिनी

पौष २६, स्याङ्जा ।

सामुदायिक रेडियो स्याङ्गजा सुन्न नभुल्नु होला 
   सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर बृद्धि गर्ने उद्धेश्यका साथ अगाडि बढाइएको शिक्षामा सूचना तथा सञ्चार प्रविधि कार्यक्रम सोमबार स्याङ्जाबाट औपचारीक रुपमा सुरुवात गरीएको छ ।

  शैक्षिक क्षेत्रमा अगाडि रहेको स्याङ्जामा मुलुकमै पहिलो पटक उक्त कार्यक्रम वालिङ ८ खहरेस्थित रणवीर जनहित उच्च मध्यामिक विद्यालयबाट शुरुवात गरिएको हो ।

   निजी विद्यालयहरुले शिक्षण सिकाईमा सुचना तथा सञ्चारको विधि प्रयोग गरेकाले विद्यार्थीहरुको सकिाई उपलब्धी उत्कृष्ट हुदै गएको अवश्थामा सामुदायिक विद्यालयहरुमा पनि प्रविधिको प्रयोग गरेर विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप उपलव्ध गराउने उद्देश्यले स्याङ्जामा पहिलोपटक सो कार्यक्रम कार्यशाला गोष्ठि मार्फत शुभारम्भ गरिएको छ ।

 सन् २०२५ सम्म देशभरका करीव ३३ हजार विद्यालयमा उक्त कार्यक्रम लागु गर्ने सरकारको लक्ष्य रहेको छ ।
 शिक्षामा सूचना तथा सञ्चार प्रविधि विषयक दुईदिने कार्यशाला गोष्ठीको शिक्षा सचिव शंकर पाण्डेले सोमबार वालिङ्मा उद्घाटन गर्दै सूचना प्रविधिको माध्यमबाट विद्यार्थीहरुलाई पारङ्गत बनाउन कार्यक्रम लागु गरिएको बताउनुभयो ।

 त्यस्तै शिक्षा विभागका महानिर्देशक डा. लवदेव अवस्थीले विद्यालय र विद्यार्थीले नयाँ प्रविधि प्रयोग गरेर सिकाई उपलव्धी फलदायी बनाउनु पर्ने बताउनुभयो ।

 उहाँले सवै विद्यार्थीको सूचना र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

निर्देशक खगराज बरालले सूचना प्रविधिको ज्ञानविना डिग्री पास गरेर पनि निरक्षर जस्तो ठहरिन सक्ने भएकाले यसको पहुँच र वदलिदो परिस्थिति अनुसार सीप हासिल गर्न पाइलट प्रोग्रामको रुपमा स्याङ्जामा लागु गरिएको बताउनुभयो ।
कार्यक्रममा व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिका सचिव सोमबहादुर थापा, पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बावुराम पौडेल, रणवीर जनहित उच्च माविका अध्यक्ष सूर्यप्रसाद रेग्मी लगायतले बोल्नुभएको थियो ।
 जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले स्वागत र शिक्षा विभागका शाखा अधिकृत दिपेन्द्र सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Thursday, August 12, 2010

अमेरिका किन अगाडी एशिया/नेपाल किन पछाडी ???

 डा सम्राट अधिकारी (PHD , भौतिक शास्त्र )
 प्रसिद्ध पुलिट्जर पुरस्कारप्राप्त ‘गन, जर्म एण्ड स्टिल, द फेट अफ ह्युमन सोसाइटी' जेर्ड     डाइमण्डले आधुनिकयुगमा मानव विकासको दौडमा किन कुनै समाज, जाति वा राष्ट्र ज्ञानविज्ञान, कला, संस्कृति, राजनिती र आविष्कारका हिसाबले निकै अगाडी बढे तर अरू बढ्न सकेनन् भन्ने विषयको तर्कसंगत व्याख्या गरेका छन्। सबै मानिसलाई प्रकृतिले त उस्तै बौद्धिकता दिएको हुन्छ तर आधुनिक मानव इतिहासमा ज्ञानविज्ञानको भूराजनीतिक केन्द्र किन युरोपमात्रै बन्न सक्यो र संसारका अन्य क्षेत्र बन्न सकेनन् त? पपुवा न्यु गिनी तथा कतिपय अफ्रिकी देशमा ज्ञानविज्ञानको विकासको त कुरै छाडौँ त्यहाँका मानिस अहिलेसम्म पनि सिकार खेलेर, कन्दमूल खोजेर गुजारा चलाउने फिरन्ता जीवन बिताइरहेका छन्? मानव विकासको थालनी त त्यहाँ र युरोपमा सँगै भएको थियो।

डाइमन्डको तर्क छ - युरोप र मध्यपूर्वलाई भूगोल, वातावरण र त्यहाँको जैविक विविधताले ज्ञानविज्ञानको केन्द्र बनायो। त्यहाँ पाइने खाद्यान्न बढी पोसिलो हुने र त्यहाँका जनावर बहुउपयोगी हुने भएकोले उनीहरूले थोरै मानवीय श्रमले पनि बढी खाद्यान्न उत्पादन गर्न सके र बाँचेको समय नयाँ कुराको खोजीमा लगाउन पाए। हलो, ढिकी, जाँतोजस्ता प्रारम्भिक औजारमात्र होइन, आगोको समेत आविष्कार गर्न उनीहरू सफल भए। तर पपुवा न्युगिनीजस्ता देशमा पाइने खाद्यान्न, बालीनाली बढी श्रममूलक भएकोले त्यहाँका बासिन्दाले अधिकांश समय खाना जुटाउनकै लागि लगाउनु पर्ने भयो। तिनले अरू केही सोच्ने फुर्सदै नपाएकाले त्यहाँ नयाँ खोज र आविष्कार हुनै सकेन। फलस्वरूप त्यहाँ ज्ञानविज्ञानको विकास भएन तयसैले मानवीय विकासको यो फराकिलो खाडल देखा पर्‍यो।

डाइमन्डको तर्कलाई दोहर्‍याउने हो भने पेट भरिएपछि मात्रै ज्ञानविज्ञानको विकास हुन्छ र नत्र देश माथि उठ्न सक्तैन भन्न सकिन्छ। ज्ञानविज्ञानको विकासले आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक विकास हुने र त्यही विकासले ज्ञानविज्ञानको क्षेत्रलाई अझै फराकिलो पार्ने चक्र चलिरहन्छ। त्यही चक्रले समाजलाई अगाडि बढाउँछ। त्यसैले होला कुनै बेला मानव सभ्यताको विकास भएका ग्रीस, रोम, इजिप्ट ज्ञानविज्ञानको केन्द्र बन्न पुगे। उहिलेका ठूला खोज र आविष्कार त्यहीँ भए। दोश्रो विश्व युद्व पहिले जर्मनी र पतन हुनुभन्दा पहिले सोभियत संघ पनि केही समय ज्ञानविज्ञानको केन्द्रका रूपमा देखा परे। अहिले संयुक्तराज्य अमेरिका विश्वको ज्ञानविज्ञानको केन्द्र बनिरहेको छ।अहिले विश्वमा सबैभन्दा धेरै वैज्ञानिक र अनुसन्धानात्मक लेखरचना अमेरिकाबाटै प्रकाशित हुन्छ। केही वर्ष यता विश्व प्रसिद्ध नोबल पुरस्कार पाउनेमा पनि अमेरिकी वैज्ञानिकै धेरै छन्। साइम्यागो जर्नल एण्ड कन्ट्री र्‍यांकका अनुसार, अमेरिकाबाट वर्षेनी साढे ३ लाखभन्दा बढी शोधपरक लेखरचना प्रकाशित हुन्छन्। अमेरिकामा वर्षेनी करिब ३० हजारले पिएचडी उपाधि पाउँछन्। अमेरिकाको अहिलेको सबैभन्दा महत्वपूर्ण उद्योग ज्ञानविज्ञान हो। उदाहरणका लागि विश्वमा तहल्का मच्चाइरहेको आइफोनको डिजाइन एप्पल कम्पनी, क्यालिफोर्नियामा गरिन्छ तर त्यसको निर्माण चीनमा गरिन्छ। त्यस्तै अमेरिकी डिपार्टमेन्टल स्टोरमा पाइने तयारी पोसाकको डिजाइन अमेरिकी डिजाइनरले गर्छ तर सिउने काम अल्पविकसित राष्ट्रका कारिगरले गर्छन्। आधुनिक जीवन शैलीका लागि अपरिहार्य बनेको इन्टरनेटको विकासमात्रै होइन, विश्वको सबैभन्दा बढी हेरिने पाँच वेबसाइट पनि अमेरिकाकै आविष्कार हुन्।पछिल्लो समयमा भने विश्व आर्थिक विकासको केन्द्र अमेरिकाबाट एसियातिर सरेजस्तै ज्ञानविज्ञानको भूराजनीतिक स्वरूप पनि फेरिँदै छ  विश्वभरी १९८० देखि २००९ सम्म ३० वर्षको विज्ञान तथा प्रविधीको क्षेत्रमा भएका विभिन्न अनुसन्धानका प्रकाशित नतिजा केलाउँदै हालै सार्वजनिक गरिएको ‘३० इयर्स इन साइन्स, सेक्युलर मोमेन्ट इन नलेज क्रियसन' भन्ने प्रतिवेदनमा ज्ञानविज्ञानको केन्द्र फेरिएको उल्लेख छ। उक्त प्रतिवेदनअनुसार, विगत तीस वर्षमा एसियाको ज्ञानविज्ञान क्षेत्रमा (अनुसन्धानात्मक लेख रचनालाई आधार मान्दा) करिब १५५ प्रतिशत वृद्धि भएको छ।

सन् २००९ मा चीनको ज्ञानविज्ञान क्षेत्रको वृद्धिदर अमेरिकाको भन्दा पाँच गुणा बढी थियो। तर त्यही समयमा अमेरिकाको ज्ञानविज्ञानको विकास भने विश्वको सरदरभन्दा कम थियो। यही दरमा विकास हुने हो भने सन् २०१५ मा चीनले ज्ञानविज्ञान क्षेत्रमा (अनुसन्धानात्मक लेख रचनालाई आधार मान्दा) अमेरिकालाई उछिन्ने प्रतिवेदनमा उल्लेख छ।अर्थात्, अब चीनको पहिचान सस्तोमा सामान बनाउने र बेच्ने मुलुकमा सीमित रहने छैन। चीन ज्ञानविज्ञानको क्षेत्रमा पनि अग्रणी राष्ट्र हुने तरखरमा छ। संभवतः चीन आफूलाई अरूले डिजाइन गरेको सामान ‘एसेम्बल' गर्नेमात्र होइन, आविष्कार र नयाँ खोज गर्ने केन्द्रका रूपमा पनि स्थापित गर्ने तरखरमा छ।नेपालमा चीनको आर्थिक विकास र प्रगति तथा त्यसबाट लाभ लिने चर्चा हुन्छ। तर चीनमा यतिखेर आर्थिकभन्दा पनि उल्लेख्य विकास भएको क्षेत्र ज्ञानविज्ञानको हो। यसले विश्वको ज्ञानविज्ञानको भूराजनितिक स्वरूपलाई फेर्दैछ। विश्वमा ज्ञानविज्ञानको क्षेत्रमा यसरि अगाडी बढेको चीनको सानो छिमेकी हाम्रो देशले संगतको फल लिन सक्ला त? आदिम कालका ऋषिमुनिलेजस्तै हिमालयको यस काखलाई पुनः ज्ञानभूमि बनाउन सकिएला त?

" अब आफै सोच्नु पर्छ":

     डा. अर्जुन पौडेल
देशको सम्पूर्ण परिवेश हेर्ने हो भने हामी कति कुरामा आशावादी हुन सक्छौ त्यो छलफल वा विवादको विषय पक्कै हुन्छ। हामीले गरिरहेका उपलब्धिहरूलाई कुन दृष्टिले हेर्ने भन्ने मात्र पृथक् कुरा हो। हामीमा एउटा भिन्न किसिमको गरिबी छ, हामीमा एउटा भिन्नै किसिमको अभाव र भोक छ। त्यो हाम्रो आफ्नै यथार्थता हो। एकाध दुई मान्छेहरू बाहेक अधिकांश समाजको आफ्नै पीडा छ। न्युयोर्क, टोकियो, पेरिसमा रहिरहेका हाम्रा आफन्तहरूको जीवन र उनै आफन्तहरूको आफन्ती नेपाली जीवनमा आकाश र जमिनको फरक छ। बरु कुनै समानता हुन सक्ला आकाश र जमिनको बीचमा तर त्यो जीवन पद्धतिहरूको बीचमा कल्पनै गर्न नसकिने विविधता रहिरहेको छ। हामी विदेशी कुरा गर्छौ तर हाम्रै काठमान्डू र रोल्पा रुकुमको जीवन शैलीमा यस्तै भिन्नता छ। भिन्नताकै बीचमा, पृथक्ताकै बीचमा, विविधताकै बीचमा, दूरदराजका गाउँ जानैं पर्दैन, राजमार्गबाट केही घण्टाको पैदल उत्तर वा दक्षिण, पूर्व वा पश्चिम जहाँ गए पनि त्यो जीवन शैलीको फरक र असमानता प्रस्ट देख्न पाइन्छ, यही नै हाम्रो यथार्थ पहिचान हो बर्तमानको।

भू-राजनैतिक परिस्थिति आफ्नो ठाउँमा छ तर पनि जन-मानस, मानसिकता र जीवन शैली मानव सभ्यताकै लागि एउटा वर्तमानको इतिहास र एउटा अनौठो उदाहरण भएर बाचिरहेका छौं हामी। अब प्रश्न उठ्न सक्छ दोष कसको हो? को दोषी छ यो सबै हुनु मा? एउटा आम नागरिकको बारेमा र साधारण जीवन धान्ने निहुँमा विदेसिएका अनेकौँ व्यक्ति वा नागरिकको कुरा कुनै बेला उठाउला, तर आज मैले उठाउन खोजेको कुरा त्यो विद्वान वर्गको हो जो विदेशमा ठूला वैज्ञानिक वा विद्वानको रूपमा चिरपरिचित नामको पछाडि दौडिएका जमात विद्यमान छ।विदेशी भूमिमा ठूलो विश्वविद्यालयमा पढिरहेका वा पढेर अनेकौँ पेसामा लागिरहेका मान्छेहरूलाई सोधौं नेपालको बारेमा नेपाल बारे उनीहरूको धारणा बुझौं र नेपाली परिवेशको बारेमा उनीहरूको मत सर्वेक्षण गरौं। नेपाल गरिब छ, नेपालमा केही गर्न सकिँदैन, मैले पढेको कुनै काम छैन यो देशलाई, मेरो ज्ञानको कुनै कदर छैन, मैले यत्रो ज्ञान हासिल गरे तर खै नेपालले मलाई कहिले चिन्ने हो? यस्तै यस्तै निराशावादी उत्तरहरूको थुप्रो नै लाग्छ वा यस्तै जबाफ पाउँछौ हामी।

तर गहन अध्ययन र बिचार गर्ने हो भने, यसो भन्दै गर्ने कोही पनि वैज्ञानिक वा विद्वानहरुले गलत भनिरहेका छैनन्। उनीहरूको मत र बिचार बिलकुल ठीक छ। उनीहरूले सोचेका कुरामा सत्यता छ। उनीहरूले हासिल गरेको ज्ञान र सीपको कदर यहाँ हुदैन। सबै तिर निराशा मात्रै देखिन्छ। राजनीति, जीवनशैली, मानसिकता सबै गरिब छ हाम्रो। हामी मानव सभ्यताको ढुँङ्गे युगमा बाचिरहेका छौ। देश विकाश, सभ्यता, शिक्षा र अनुशासनको त्यो चरणमा छौं जो शताब्दी पहिले हुनु पर्ने थियो। यस्तो अवस्थामा बिकसित राष्ट्रहरू जो खगोलिय जीवन खोजिरहेका छन्, जो सभ्यताको चरम चुलीमा छन् त्यस क्षेत्रबाट ल्याएको ज्ञान र सीप वास्तवमै हाम्रा लागी अनुत्पादक नै हुन्। हामी जीवनजलको विकल्प नुन चिनी र पानीको प्रचारमा छौ, सिप्रो वा चारौ पाचौ पुस्ते चरणका औषधी विज्ञानको विकल्पमा घोलटाप्रे र काली सिन्कीको प्रयोगमा छौ। कसरी काम लाग्छ तिमिले हामीले पढेका र जानेका कुरा यो देशका लागी? खगोलिय यात्रा तय गरिरहेका संसारका बिकसित राष्ट्र र प्रयोगशालामा लिएको ज्ञानले गाउँको घट्ट चल्दैन। त्यो ज्ञानले डोको वा नाम्लो बुन्न सिकाउने सीप दिदैन। आधारभूत आवश्यकताका न्यूनतम आपूर्तिको आभास, त्यो ज्ञानले अवश्य पनि दिँदैन।
देशको परिवेश र आवश्यकता हेरेर, बुझेर र न्यूनतम जीवन शैलीको पक्षमा त्यो बिकसित राष्ट्रमा काम गरिरहेका कुनै पनि वैज्ञानिक हाम्रा लागि काम नलाग्ने मान्छे भन्दा केही पनि हुने छैनन्। जुन जुन देशमा हामी काम गरिरहेका छौ, त्यही त्यही देशको आवश्यकता पूर्तिका लागि हामी शैक्षिक लाहुरे भन्दा केही पनि हैनौ। अरबी मरुभूमिमा दुःखका पसिना बगाएर काम गरिरहेका एउटा साधारण नागरिक र संसारकै ठूला प्रयोगशालाको चिसो हावा खादै काम गरिरहेका हामीमा कुनै फरक छैन किनकी हामी विदेशी कठपुतली हौं र भइरहेका छौं।

देशले खर्चेर विदेश पढ्न पठाएका वैज्ञानिकहरू पढि सकेर देश नफर्की उतै पलायन भएका अनेकौँ उदाहरणहरू मध्य, रोग भोक, शोकसँग जुधेर, आफ्नै परिश्रम र जोडमा विदेश पुगेका कुनै वैज्ञानिक देश फर्कलान् र देशले काँचुली फेर्ला भन्ने सोच्नु ठूलो भुल भन्दा केही हुदैन। त्यसैले राज्यले शिक्षा ज्ञान र जीवन शैली स्थानीय रूपमै योजना बद्ध तवरले सुरु गर्नु पर्छ। जे आवश्यकता हुन्छ आधारभूत विकासका लागि त्यसैका लागी चाहिने जनशक्ति र वैज्ञानिकहरूको उत्पादन स्थानीय स्तरमै बनाउने योजना र कार्य विधि लागू गर्नु पर्छ। देशमै पढेका र देशकै परिवेशमा बिद्धत्व हासिल गरेका जनशक्तिले कोदो, मकै खाएर स्थानीय समस्यामा आफ्नो योगदान दिन सके भने त्यो राष्ट्रका लागी निकै फलदाही र उपलब्धि मूलक हुने छ। छातीमा हात राखेर भन्नु पर्दा र सोच्दा हामी जो विदेशी भूमिमा वैज्ञानिक बन्ने दौडमा छौं, जो मान सम्मान कमाइरहेका छौ, कसैले पनि पढेर स्वदेश फर्कौला देशको विकाश गरौला भनेर सोचेका धेरै थोरै र नगण्य सख्यामा हौला। आदर्शका कुरा गर्दा, देशलाई कति माया गर्छस् भनेर सोध्दा हामी देशको गरिबी, राजनैतिक अस्थिरता र अभावलाई अगाडि तर्साएर उम्कने गरेका छौं।

त्यसैले मेरो देशले आफै सोच्नु पर्छ। विदेशी पैसा, विदेशी जीवन शैली र विदेशी परिवेशमा रमाउने वैज्ञानिक वा भनौं एक्याडेमीक लाहुरेको आशामा बस्नु हुदैन। नितान्त फरक र आफ्नै परिवेशको विकाशको सुरुवात गर्नु पर्छ। मलाइ लाग्छ मैले ठूलो टेक्निकल फड्को मारेको छु अनुसन्धानको क्रममा तर पनि मेरो देशको घट्टलाई न्यूनतम घर्षणमा कसरी घुमाउन सकिन्छ भन्ने कुराको अनुसन्धान गरेको भए त्यसले मेरो देशको एउटा गाउँको जीवन शैलीमा सहजता दिन सक्थ्यो होला। कुनै गरिबको अनुहारमा सानो मुस्कान दिन सक्थे होला। मेरा ठूला ठूला अनुसन्धान र त्यसको शोधपत्रले एउटा विदेशी कम्पनी वा विदेशी भूमिलाई केही कमाउने सहज उपाय सुल्झाए हुलाँ, मानव सभ्यताको विकाशमा मेरो पनि योगदान छ भनेर भनौला वा मन बुझाउला तर हाम्रा आफ्नोका लागि के त? म आफै म भएर कुरा गरे पनि यो आम समस्या पक्कै हो र यो नै एउटा यथार्थता पनि ।

त्यसैले ठूला ठूला आदर्शका कुरा गरेर वा आफूले ठूला ठूला काम गरेको नामको भरमा हामीले पढेका कुराहरू हाम्रो समाज र देशलाई कति धेरै काम लाग्छ, कति मात्रामा हाम्रो परिवेशमा उपयोग गर्न सकिएका वास्तवमै सोच्नु पर्ने कुरा हो। चन्द्रमाको यात्रा तय गर्ने रकेटको बारेमा पढेका जानेका हाम्रा वैज्ञानिकहरू, देशका अनेकौँ खण्डहरहरूमा झोलुङ्गे पुल बनाउने र चलाउने काम गर्न सक्लान् वा इच्छुक होलान्?, क्लौन पद्धतिमा दक्षता हासिल गरेका डाक्टरहरू रुकुम रोल्पा वा कुनै बिकट गाउँमा गएर जीवनजल नभए नुन चिनी पानी खानु भनेर सिकाउन सक्छन् वा इच्छुक हुन्छन्? कुनै टेक्निकल संस्थाबाट मोटरकार, बस वा हवाईजहाज बनाउने वैज्ञानिकहरू, गाउँका न्यून आए भएका गरिब किसानलाई डोको नाम्लो बुन्न सिकाउन सक्लान् वा इच्छा गर्लान्? विदेशी विश्वविद्यालयमा पढाइरहेका कुनै बिद्धान प्रोफेसर के हाम्रो गाउँमा गएर भोका नङ्गा गरिब जनताका छोरा छोरीलाई क ख ग सिकाएर बस्न सक्लान् वा इच्छुक होलान्? हामी सधैँ विदेशी र बिदेसिएकाहरु प्रति आशा गरिरहेका छौ।

त्यसैले अब ढिलो नगरी देशमै एउटा राष्ट्रिय अभियान चलाउनु पर्छ गाउँ गाउँमा, सभ्यताको नयाँ सुरुवात गर्नु पर्छ स्थानीय स्तरबाटै । देशमै बसेर केही गर्छौ भन्नेहरूको पहिचान हुनु पर्छ पहिले अनि परिचालन। यो अभियानमा नयाँ स्कूल, स्थानीय सीप र साधनको अधिकतम उपयोग गराउन सकिने र सिकाउने शिक्षालयहरूको सुरुवात गर्नु पर्छ। आर्थिक स्तर के हो? सभ्यता के हो? मानवता के हो? हामी को हौ? हाम्रो अवस्था कस्तो छ? आदि आफैलाई चिन्ने, समाजलाई चिन्ने र आफ्नो आवश्यकतालाई पहिचान गर्न सक्ने मानिसको, समाजको विकाश गर्नु पर्छ। हामी आज समाजलाई आर्थिक, शैक्षिक र राजनैतिक फड्को मार्ने झूटा कुराहरू गरेर बसिरहेका छौ तर विकास फड्को मारेर हैन, बिन्दु बिन्दुबाट हुन्छ र त्यही बिन्दु बिन्दु जोडेर रेखा हुन्छ र सभ्य समाजको सुरुवात हुन्छ। यसो भनिरहँदा विदेशमा कार्यरत वैज्ञानिकहरू बा सीपको काम पटक्कै छैन भन्ने हैन। पहिले आधारभूत जग बसाल्दै जाँदा बिस्तारै उनै उच्च ज्ञान हासिल गरेका वैज्ञानिक वा सीपको आवश्यकता कुनै कालखण्डमा अवश्य पनि पर्ने छ र देशले अहिले विदेशमा रहिरहेको यो संचित जनशक्तिको अधिकतम उपयोग गर्ने छ।


लेखकको अरू व्यक्तिगत लेख र बिचारको लागि हेर्नुस दूर्जय चेतना