डा. अर्जुन पौडेल
देशको सम्पूर्ण परिवेश हेर्ने हो भने हामी कति कुरामा आशावादी हुन सक्छौ त्यो छलफल वा विवादको विषय पक्कै हुन्छ। हामीले गरिरहेका उपलब्धिहरूलाई कुन दृष्टिले हेर्ने भन्ने मात्र पृथक् कुरा हो। हामीमा एउटा भिन्न किसिमको गरिबी छ, हामीमा एउटा भिन्नै किसिमको अभाव र भोक छ। त्यो हाम्रो आफ्नै यथार्थता हो। एकाध दुई मान्छेहरू बाहेक अधिकांश समाजको आफ्नै पीडा छ। न्युयोर्क, टोकियो, पेरिसमा रहिरहेका हाम्रा आफन्तहरूको जीवन र उनै आफन्तहरूको आफन्ती नेपाली जीवनमा आकाश र जमिनको फरक छ। बरु कुनै समानता हुन सक्ला आकाश र जमिनको बीचमा तर त्यो जीवन पद्धतिहरूको बीचमा कल्पनै गर्न नसकिने विविधता रहिरहेको छ। हामी विदेशी कुरा गर्छौ तर हाम्रै काठमान्डू र रोल्पा रुकुमको जीवन शैलीमा यस्तै भिन्नता छ। भिन्नताकै बीचमा, पृथक्ताकै बीचमा, विविधताकै बीचमा, दूरदराजका गाउँ जानैं पर्दैन, राजमार्गबाट केही घण्टाको पैदल उत्तर वा दक्षिण, पूर्व वा पश्चिम जहाँ गए पनि त्यो जीवन शैलीको फरक र असमानता प्रस्ट देख्न पाइन्छ, यही नै हाम्रो यथार्थ पहिचान हो बर्तमानको।भू-राजनैतिक परिस्थिति आफ्नो ठाउँमा छ तर पनि जन-मानस, मानसिकता र जीवन शैली मानव सभ्यताकै लागि एउटा वर्तमानको इतिहास र एउटा अनौठो उदाहरण भएर बाचिरहेका छौं हामी। अब प्रश्न उठ्न सक्छ दोष कसको हो? को दोषी छ यो सबै हुनु मा? एउटा आम नागरिकको बारेमा र साधारण जीवन धान्ने निहुँमा विदेसिएका अनेकौँ व्यक्ति वा नागरिकको कुरा कुनै बेला उठाउला, तर आज मैले उठाउन खोजेको कुरा त्यो विद्वान वर्गको हो जो विदेशमा ठूला वैज्ञानिक वा विद्वानको रूपमा चिरपरिचित नामको पछाडि दौडिएका जमात विद्यमान छ।विदेशी भूमिमा ठूलो विश्वविद्यालयमा पढिरहेका वा पढेर अनेकौँ पेसामा लागिरहेका मान्छेहरूलाई सोधौं नेपालको बारेमा नेपाल बारे उनीहरूको धारणा बुझौं र नेपाली परिवेशको बारेमा उनीहरूको मत सर्वेक्षण गरौं। नेपाल गरिब छ, नेपालमा केही गर्न सकिँदैन, मैले पढेको कुनै काम छैन यो देशलाई, मेरो ज्ञानको कुनै कदर छैन, मैले यत्रो ज्ञान हासिल गरे तर खै नेपालले मलाई कहिले चिन्ने हो? यस्तै यस्तै निराशावादी उत्तरहरूको थुप्रो नै लाग्छ वा यस्तै जबाफ पाउँछौ हामी।
तर गहन अध्ययन र बिचार गर्ने हो भने, यसो भन्दै गर्ने कोही पनि वैज्ञानिक वा विद्वानहरुले गलत भनिरहेका छैनन्। उनीहरूको मत र बिचार बिलकुल ठीक छ। उनीहरूले सोचेका कुरामा सत्यता छ। उनीहरूले हासिल गरेको ज्ञान र सीपको कदर यहाँ हुदैन। सबै तिर निराशा मात्रै देखिन्छ। राजनीति, जीवनशैली, मानसिकता सबै गरिब छ हाम्रो। हामी मानव सभ्यताको ढुँङ्गे युगमा बाचिरहेका छौ। देश विकाश, सभ्यता, शिक्षा र अनुशासनको त्यो चरणमा छौं जो शताब्दी पहिले हुनु पर्ने थियो। यस्तो अवस्थामा बिकसित राष्ट्रहरू जो खगोलिय जीवन खोजिरहेका छन्, जो सभ्यताको चरम चुलीमा छन् त्यस क्षेत्रबाट ल्याएको ज्ञान र सीप वास्तवमै हाम्रा लागी अनुत्पादक नै हुन्। हामी जीवनजलको विकल्प नुन चिनी र पानीको प्रचारमा छौ, सिप्रो वा चारौ पाचौ पुस्ते चरणका औषधी विज्ञानको विकल्पमा घोलटाप्रे र काली सिन्कीको प्रयोगमा छौ। कसरी काम लाग्छ तिमिले हामीले पढेका र जानेका कुरा यो देशका लागी? खगोलिय यात्रा तय गरिरहेका संसारका बिकसित राष्ट्र र प्रयोगशालामा लिएको ज्ञानले गाउँको घट्ट चल्दैन। त्यो ज्ञानले डोको वा नाम्लो बुन्न सिकाउने सीप दिदैन। आधारभूत आवश्यकताका न्यूनतम आपूर्तिको आभास, त्यो ज्ञानले अवश्य पनि दिँदैन।
देशको परिवेश र आवश्यकता हेरेर, बुझेर र न्यूनतम जीवन शैलीको पक्षमा त्यो बिकसित राष्ट्रमा काम गरिरहेका कुनै पनि वैज्ञानिक हाम्रा लागि काम नलाग्ने मान्छे भन्दा केही पनि हुने छैनन्। जुन जुन देशमा हामी काम गरिरहेका छौ, त्यही त्यही देशको आवश्यकता पूर्तिका लागि हामी शैक्षिक लाहुरे भन्दा केही पनि हैनौ। अरबी मरुभूमिमा दुःखका पसिना बगाएर काम गरिरहेका एउटा साधारण नागरिक र संसारकै ठूला प्रयोगशालाको चिसो हावा खादै काम गरिरहेका हामीमा कुनै फरक छैन किनकी हामी विदेशी कठपुतली हौं र भइरहेका छौं।
देशले खर्चेर विदेश पढ्न पठाएका वैज्ञानिकहरू पढि सकेर देश नफर्की उतै पलायन भएका अनेकौँ उदाहरणहरू मध्य, रोग भोक, शोकसँग जुधेर, आफ्नै परिश्रम र जोडमा विदेश पुगेका कुनै वैज्ञानिक देश फर्कलान् र देशले काँचुली फेर्ला भन्ने सोच्नु ठूलो भुल भन्दा केही हुदैन। त्यसैले राज्यले शिक्षा ज्ञान र जीवन शैली स्थानीय रूपमै योजना बद्ध तवरले सुरु गर्नु पर्छ। जे आवश्यकता हुन्छ आधारभूत विकासका लागि त्यसैका लागी चाहिने जनशक्ति र वैज्ञानिकहरूको उत्पादन स्थानीय स्तरमै बनाउने योजना र कार्य विधि लागू गर्नु पर्छ। देशमै पढेका र देशकै परिवेशमा बिद्धत्व हासिल गरेका जनशक्तिले कोदो, मकै खाएर स्थानीय समस्यामा आफ्नो योगदान दिन सके भने त्यो राष्ट्रका लागी निकै फलदाही र उपलब्धि मूलक हुने छ। छातीमा हात राखेर भन्नु पर्दा र सोच्दा हामी जो विदेशी भूमिमा वैज्ञानिक बन्ने दौडमा छौं, जो मान सम्मान कमाइरहेका छौ, कसैले पनि पढेर स्वदेश फर्कौला देशको विकाश गरौला भनेर सोचेका धेरै थोरै र नगण्य सख्यामा हौला। आदर्शका कुरा गर्दा, देशलाई कति माया गर्छस् भनेर सोध्दा हामी देशको गरिबी, राजनैतिक अस्थिरता र अभावलाई अगाडि तर्साएर उम्कने गरेका छौं।
त्यसैले मेरो देशले आफै सोच्नु पर्छ। विदेशी पैसा, विदेशी जीवन शैली र विदेशी परिवेशमा रमाउने वैज्ञानिक वा भनौं एक्याडेमीक लाहुरेको आशामा बस्नु हुदैन। नितान्त फरक र आफ्नै परिवेशको विकाशको सुरुवात गर्नु पर्छ। मलाइ लाग्छ मैले ठूलो टेक्निकल फड्को मारेको छु अनुसन्धानको क्रममा तर पनि मेरो देशको घट्टलाई न्यूनतम घर्षणमा कसरी घुमाउन सकिन्छ भन्ने कुराको अनुसन्धान गरेको भए त्यसले मेरो देशको एउटा गाउँको जीवन शैलीमा सहजता दिन सक्थ्यो होला। कुनै गरिबको अनुहारमा सानो मुस्कान दिन सक्थे होला। मेरा ठूला ठूला अनुसन्धान र त्यसको शोधपत्रले एउटा विदेशी कम्पनी वा विदेशी भूमिलाई केही कमाउने सहज उपाय सुल्झाए हुलाँ, मानव सभ्यताको विकाशमा मेरो पनि योगदान छ भनेर भनौला वा मन बुझाउला तर हाम्रा आफ्नोका लागि के त? म आफै म भएर कुरा गरे पनि यो आम समस्या पक्कै हो र यो नै एउटा यथार्थता पनि ।
त्यसैले ठूला ठूला आदर्शका कुरा गरेर वा आफूले ठूला ठूला काम गरेको नामको भरमा हामीले पढेका कुराहरू हाम्रो समाज र देशलाई कति धेरै काम लाग्छ, कति मात्रामा हाम्रो परिवेशमा उपयोग गर्न सकिएका वास्तवमै सोच्नु पर्ने कुरा हो। चन्द्रमाको यात्रा तय गर्ने रकेटको बारेमा पढेका जानेका हाम्रा वैज्ञानिकहरू, देशका अनेकौँ खण्डहरहरूमा झोलुङ्गे पुल बनाउने र चलाउने काम गर्न सक्लान् वा इच्छुक होलान्?, क्लौन पद्धतिमा दक्षता हासिल गरेका डाक्टरहरू रुकुम रोल्पा वा कुनै बिकट गाउँमा गएर जीवनजल नभए नुन चिनी पानी खानु भनेर सिकाउन सक्छन् वा इच्छुक हुन्छन्? कुनै टेक्निकल संस्थाबाट मोटरकार, बस वा हवाईजहाज बनाउने वैज्ञानिकहरू, गाउँका न्यून आए भएका गरिब किसानलाई डोको नाम्लो बुन्न सिकाउन सक्लान् वा इच्छा गर्लान्? विदेशी विश्वविद्यालयमा पढाइरहेका कुनै बिद्धान प्रोफेसर के हाम्रो गाउँमा गएर भोका नङ्गा गरिब जनताका छोरा छोरीलाई क ख ग सिकाएर बस्न सक्लान् वा इच्छुक होलान्? हामी सधैँ विदेशी र बिदेसिएकाहरु प्रति आशा गरिरहेका छौ।
त्यसैले अब ढिलो नगरी देशमै एउटा राष्ट्रिय अभियान चलाउनु पर्छ गाउँ गाउँमा, सभ्यताको नयाँ सुरुवात गर्नु पर्छ स्थानीय स्तरबाटै । देशमै बसेर केही गर्छौ भन्नेहरूको पहिचान हुनु पर्छ पहिले अनि परिचालन। यो अभियानमा नयाँ स्कूल, स्थानीय सीप र साधनको अधिकतम उपयोग गराउन सकिने र सिकाउने शिक्षालयहरूको सुरुवात गर्नु पर्छ। आर्थिक स्तर के हो? सभ्यता के हो? मानवता के हो? हामी को हौ? हाम्रो अवस्था कस्तो छ? आदि आफैलाई चिन्ने, समाजलाई चिन्ने र आफ्नो आवश्यकतालाई पहिचान गर्न सक्ने मानिसको, समाजको विकाश गर्नु पर्छ। हामी आज समाजलाई आर्थिक, शैक्षिक र राजनैतिक फड्को मार्ने झूटा कुराहरू गरेर बसिरहेका छौ तर विकास फड्को मारेर हैन, बिन्दु बिन्दुबाट हुन्छ र त्यही बिन्दु बिन्दु जोडेर रेखा हुन्छ र सभ्य समाजको सुरुवात हुन्छ। यसो भनिरहँदा विदेशमा कार्यरत वैज्ञानिकहरू बा सीपको काम पटक्कै छैन भन्ने हैन। पहिले आधारभूत जग बसाल्दै जाँदा बिस्तारै उनै उच्च ज्ञान हासिल गरेका वैज्ञानिक वा सीपको आवश्यकता कुनै कालखण्डमा अवश्य पनि पर्ने छ र देशले अहिले विदेशमा रहिरहेको यो संचित जनशक्तिको अधिकतम उपयोग गर्ने छ।
लेखकको अरू व्यक्तिगत लेख र बिचारको लागि हेर्नुस दूर्जय चेतना
एकदम सही हो डा. सा'ब...... तर हामी विवश छौँ।
ReplyDeleteएकदम सही हो डा. सा'ब...... तर हामी विवश छौँ।
ReplyDelete