प्राधिकरणले विस्तृत कार्ययोजना माग्यो
कोरियाली सरकारको स्वामित्वमा रहेको कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनी लिमिटेड (केएचएनपी) ले १८० मेगावाटको आँधीखोला जलाशययुक्त विद्युत् आयोजनामा लगानीको प्रस्ताव गरेको छ ।
केएचएनपी जलविद्युत् विभागका महाप्रबन्धक जुङ हेओन चुलले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक डा. जीवेन्द्र झालाई पत्र पठाई लगानीबारे इच्छा जाहेर गर्दै सहमति दिन आग्रह गरेका छन् । उनले प्राधिकरणसँगको संयुक्त सहकार्यमा यो जलाशययुक्त आयोजना निर्माण गर्न चाहेको पत्रमार्फत स्पष्ट पारेका छन् ।
केएचएनपीले आँधीखोला आयोजनालाई तीन चरणबाट निर्माण गर्ने प्रस्ताव गरेको छ । पहिलो चरणमा प्राधिकरणसँग संयुक्त लगानीका लागि आयोजनाको विकास सम्झौता गर्ने र त्यसपछि संयुक्त रूपमा आयोजनको विस्तृत इन्जिनियरिङ तयार गर्ने प्रस्ताव छ । यो प्रतिवेदन तयारपछि अन्तर्राष्ट्रिय संस्थाहरूले सहजै वित्तीय लगानीको स्वीकार गर्ने र आयोजनाबाट उत्पादन हुने बिजुली प्राधिकरणलाई बिक्री गर्ने तथा आयोजनास्थलबाट बिजुली लैजान आवश्यक प्रसारणलाइन निर्माण प्राधिकरणले गर्नुपर्ने प्रस्ताव केएचएनपीको छ । त्यस्तै, आयोजना विकासका लागि वार्ता गरी संयुक्त उपक्रम तयार गर्ने र हालको सम्भाव्यता अध्ययनलाई अद्यावधिक गर्ने प्रस्ताव पनि केएचएनपीको छ ।
आँधीखोला आयोजनाको अनुमतिपत्र प्राधिकरणसँग छ । उसले आयोजनाको सम्भाव्यता अध्ययन गरिसकेको छ । अध्ययनअनुसार आयोजना निर्माणका लागि करिब ४७ करोड अमेरिकी डलर (३४ अर्ब रुपैयाँ) लाग्ने देखिएको छ । आयोजना स्याङ्जा जिल्लामा पर्छ । आँधीखोला कालीगण्डकीको सहायक नदी हो ।
प्राधिकरणका कार्यकारी निर्देशक झाले केएचनपीको प्रस्ताव आएको पुष्टि गर्दै आयोजना विकाससम्बन्धी विस्तृत कार्ययोजना तयार गरेर पठाउन उसलाई पत्रचार गरिएको जानकारी दिए । “विस्तृत कार्ययोजना आएपछि मात्र ऊसँग वार्ता अघि बढ्छ,” उनले भने । ऊर्जा संकट बढ्दै गएकाले जलाशययुक्त आयोजनाका लागि आँधीखोलालाई अघि बढाउन लागिएको उनले बताए ।
सबै विद्युत् आयोजना नदीको बहावमा आधारित भएकाले सरकारले जलाशययुक्त आयोजनाको विकासका लागि तयारी गरेका बेला केएचएनपीको प्रस्ताव आएको हो । तत्कालीन जलस्रोतमन्त्री विष्णु पौडेलले पनि यो आयोजना अघि बढाउने तयारी गरेका थिए ।
केएचएनपीले कोरियामा जलविद्युत् तथा आणविक ऊर्जा गरी २७ वटा प्लान्टको निर्माण तथा सञ्चालन गरिरहेको छ । दुवै स्रोतबाट उसले हालसम्म २३ हजार ६० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ भने ९ हजार ४ सय ६० मेगावाट क्षमताका एक जलविद्युत्, दुई पम्पस्टोरेज र सात आणविक प्लान्ट निर्माण गरिरहेको जानकारी गराएको छ ।
कोरियाका अतिरिक्त क्यानडा, पेरु र मेसोडोनियामा ऊर्जा विकासमा लगानी गर्ने योजना बनाइएको केएचएनपीले बताएको छ । उसले कम्पनीको कुल सम्पत्ति २६ अर्ब ६० करोड अमेरिकी डलर रहेको दाबी गरेको छ । केएचएनपीले नेपालको चमेलिया विद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रसारणलाइनको ठेक्का पाइसकेको छ ।