Friday, November 12, 2010

पञ्चासे आउने पर्यटको सङ्ख्यामा बृद्धि


स्याङ्गजा लि डट कम रिपोर्टर 
जैविक विविधताले भरिपूर्ण पञ्चासे क्षेत्रमा यस वर्ष पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ।
पञ्चासेमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा दुर्इ तिहाइले  वृद्धि भएको छ।
दृश्यावलोकन, जैविक विविधता र स्थानीय संस्कृतिको धनी मानिएको पञ्चासेमा पोखरा हुँदै दृश्यावलोकनका लागि पर्यटकहरू आउन थालेका हुन्।
पञ्चासे क्षेत्रमा पर्यटकका लागि थप पूर्वाधारसमेत निर्माण भएपछि नयाँ गन्तव्य बन्दै गएको छ। ‘गत वर्षको तुलनामा दुर्इ तिहाइ पर्यटक बढेका छन्’-पञ्चासे भ्यू होटलका सञ्चालक लोकबहादुर गुरुङले भन्नुभयो।
पर्वत, कास्की र स्याङ्जा जिल्लाको सिमानामा रहेको यस क्षेत्र ८०० देखि दुर्इ हजार ५०० मिटरसम्म उचाइ रहेको छ। यस ठाउँबाट विभिन्न हिमशृङ्खलाका साथै फेवाताललगायत पोखरा, स्याङ्जा, पर्वत, बाग्लुङका साथै विभिन्न मनोरम प्राकृतिक सौर्न्दर्यको अवलोकन गर्न सकिन्छ।
पञ्चासेमा नेपालमा सबैभन्दा बढी १०७ थरीका सुनगाभा पाइन्छ। अन्नपूर्ण पदयात्रा मार्ग सडक यातायातका कारण छोटिएकाले पञ्चासेलाई नयाँ गन्तव्य बनाउने अभियान  सुरु गरिएको हो।
पोखराबाट कास्कीको भदौरे हुँदै पञ्चासेबाट वीरेठाँटीबाट अन्नपूर्ण पदयात्राका लागि पर्यटक आउने गरेका छन्। पोखरानजिक रहेकी अनदूडाँडास्थित गुम्बाबाट पनि पञ्चासे हुँदै पर्यटक आउने गरेका छन्।
जङ्गलको बीचमा रहेको यस ताल विनामूलको भएको र हिउँद, वर्षा समानरूपमा पानी रहने साथै तालमा रहेको पानीमा रूखको पात परेमा चराले टिपेर फाल्ने हुँदा यस तालको धार्मिक तथा ऐतिहासिक महत्त्वसमेत भिन्न रहेको छ।
पाँच सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको धार्मिक, ऐतिहांसिक, सांस्कृतिक, पर्यटकीय तथा जैविक विविधताको धरोहर मानिने यस पञ्चासेलाई पर्यटन, जैविक विविधता र ग्रामीण पर्यटनको मोडेलका रूपमा विकास गर्ने काम भइरहेको माछापुच्छे्र विकास सङ्घका कार्यक्रम संयोजक रामशरण सेर्ढाईंले बताउनुभयो। 

No comments:

Post a Comment