Sunday, September 19, 2010

कमन सेन्स भएका नेपालीहरुका लागी एक सोच



                                                                                                                       लेखक : उज्जवल थापा (युवा उद्यमी )


                  एउटा विवेकसील (कमन सेन्स) नेपाली अभियानको उदय



हामी समग्र नेपालीहरु वर्तमान राजनीतिक नेतृत्वको उट्पट्याङबाट आजित भैसकेका छौं ।
हाम्रो नेपालको भविष्यको बारेमा सोच्ने विवेक वर्तमान नेतृत्वमा नभएको निष्कर्षमा हामी पुग्यौं । त्यसैले अब हामी युवाहरु नै यस देशको लागि सही काम गर्ने एक नयाँ विवेकशील नेतृत्वहरु हुनेछौं । युवा नेपालको भविष्य होइन, यस देशको वर्तमान हो ! ८०% नेपाली अहिले ४० बर्ष मुनिकै छन्।
करिश्मा /भिजन भएका नेतृत्व तथा विचारमा उद्यमशीलता भएका युवाहरु एकीकृत भएर एक विवेकसील युवा अभियानको सुरुवात गरौँ। हरेक क्षेत्रका प्रभावशाली युवाहरु, वर्तमान राजनीतिक दलमै सहभागी भएका देखि लिएर सामाजिक लगाव भएका विवेकसील व्यक्तित्वहरु, बैज्ञानिक हरु ,डाक्टर देखि इन्जिनियरहरु, वैज्ञानिक तथा सामाजिक कार्यकर्ताहरु देखि अनि आफ्नै पौरखले कमाएर खाने स्वाबलम्बी पेसाकर्मी नेपालीहरु यस अभियानको मेरुदण्ड हुने छन्। बिचार अनेक भए पनि बिबेक एकै शैली भएकाहरुबाट हुन्छ हाम्रो नेपालको उदय।
युवालाई सामान्यतया उमेरले परिभाषित गर्ने गर्छौँ तर कुनै पनि विचारधारामा नअल्झिई विद्यमान अवस्थालाई ध्यानमा राखी आफ्ना विचारहरुलाई विवेकसील ढङ्गले परिवर्तन गर्न सक्ने युवा जोश र क्षमता भएका जुनसुकै उमेरका नेपाली र नेपालप्रेमीलाई हामी युवा मान्छौ र यस अभियानका मेरुदण्ड बन्नेछन् ।
यस नेतृत्वले देशलाई नयाँ दिशा दिनको लागि श्रृखंलाबद्ध रूपमा विवेकशील नीतिहरु सार्वजनिक गर्नेछ । नेपाल एक गतिशील तर जोखिमपूर्ण अवस्थामा छ जहाँ सयौं जात, हजारौं समस्या, लाखौं स्वतन्त्र विचार राखनेहरु एउटा समृद्ध जीवनको आश गरिरहेका छन् ।
नेपाल र नेपालीको आत्मसम्मानलाई केन्द्रबिन्दु राखेर युवा जोस सहित काम गर्ने बौदिकता भएको नेतृत्वले नेपाललाई अगाडी हाँक्नु पर्दछ । यो अभियानले युवाहरुलाई नेपालको शान्ति र दीगोपनको लागि प्राथमिक हिस्सेदार तथा संवाहक बनाउने सुनिश्चित गर्दछ ।
जिम्मेवारी भनेको शक्ति हातमा आएपछि सकिँदैन, बल्ल शुरु हुन्छ। परिश्रमको फल ब्यक्तिगत सम्पतिमा मात्र होइन, हाम्रो समाजको समृद्धिमा हुन्छ। हामी मालिक हुने होडबाजीमा होइन, सहजकर्तामा सिमित हुन्छौँ। हामी नेपालीलाई देशभक्त बनाउने बाटोमा लान्छौ, देश भत्काउने तिर होइन।
हाम्रो विवेकसील (कमन सेन्स) नेपाली अभियानका मार्ग-दर्शक आधारभूत सिद्धान्तहरु:
समृद्ध नेपाली नै सुखी नेपाली। समृद्धि हरेक नेपालीको आवश्यकता हो जसले उनको अन्य आधारभुत मानव अधिकार सुनिश्चित गर्न बाटो खुलाऊँछ । एक समृद्ध महिला त्यो हो जोसँग आत्मसम्मानका साथ आफ्नो परिवारलाई गरीबीको भुमरीबाट टाढा राखन सफल हुन्छिन् । एक समृद्ध महिला आफ्नो अधिकार अरुलाई शोषण नगरीकन, दुख नदिईकन माग गर्न सक्छिन् र प्राप्त पनि गर्छिन् । एक समृद्ध नेपालीसँग नैतिकवान बन्नको लागि आफ्नो परिवारलाई शिक्षित बनाउन सक्ने स्रोत हुन्छ । हाम्रो अभियानले उनलाई समृद्धिको बाटोमा लगिनेछ ।
स्वनिर्भर नेपाली बन्छन् सच्छ्म नेपाली। हामी तपाईंको आफूलाई स्वनिर्भर बनाउने लक्ष्यमा साथ दिन्छौं। शासकले अन्तयमा आफ्नो कामलाई ‍औचित्यहीन बनाउँनु पर्छ ताकि भविष्यमा उनीहरुको निम्न आवश्यकता मात्र पर्ने स्थिति रओस्। हामी मालिक बन्ने बाटोमा जान चाहन्नौ।
दुब्लो, लचिलो सरकार नै हुन्छ चनाखो हिनताबोध सरकार।
हाम्रो शासकीय अवधारणाले हरेक समुदायलाई आपसी दीगोपनता-निर्भरता र विश्वव्यापी सहकार्य तथा व्यापारको आधारले सम्पन्न बनाउँनेछ । केन्द्रीय सरकारको भूमिका देशमा शान्ति तथा अमनचयन कायम गर्नु, न्युनतम भौतिक पूर्वाधारको विकास गर्नु तथा देशको सम्मान कायम राख्न्ने काममा हुनेछ । राष्ट्रनिर्माणको काम सरकारले लगाव भएका युवा सामाजिक उद्यमी तथा विज्ञहरुलाई सुम्पनेछ जसले स्थानीय समुदायसँगै मिलेर सम्पन्न नेपाल बनाउँनेछन् ।
सिंगो नेपाल नै हाम्रो नेपाल।
नेपालमा एकता र समानताको साथमा विविधतालाई अगाडि बढाउछौँ । हामी विविधतालाई एउटा उपहारको रुपमा स्वीकार्र्छौं र यसलाई बुद्धिमानीका साथ प्रयोग गर्न चाहन्छौं । तर यहाँ रहेका सयौं जातिको परिप्रेक्ष्यमा बेमेलको मूल्यमा विविधता भयो भने नेपाली र नेपालको विकास र अस्तित्वको लागि नै घातक बन्छ जुन हामी हर हालतमा रोक्नेछौं । साझा जिम्मेवारीसहितको विविधता नै हाम्रो मन्त्र हो । हामी समानता विविधतासहितको खोज्दछौं ।
विवेकशीलता अंगाल्ने नेपाल प्रगतिउन्मुख नेपाल।
समय बित्दै जाँदा हाम्रा विचारहरुमा पनि परिवर्तन हुँदै जानेछन् । त्यसैले विवेकशीलताका आधारभूत सिद्धान्तहरु पनि परिवर्तन हुँदै जानेछन् । यदि कुनै सिद्धान्त जुन बदलिएको परिस्थितिमा सान्दर्भिक हुन छोड्छ तिनलाई नै अँगाली राख्यौं भने हामी ‍औचित्यहीन हुन्छौं ।
पौरखी नेपाली नै सच्चा नेपाली।
हाम्रा भावी सन्ततिहरु यस विश्वको संरक्षक बन्नुपर्दछ, उनीहरुले यस धरती र पर्यावरण जोगाउनुछ । एक नेपालीको सिर्जना तथा आविष्कारलाई समाज तथा कुनै पनि राजनीतिक माहोलले बाधा पुर्याउनु हुँदैन । समाज माथि व्यक्तित्वको बर्चस्व र विशिष्टता कायमै रहनुपर्छ । हामी नेपालीहरुमा फेरि अर्निको, गौतम बुद्ध जस्तै अनेकौँ महान हस्थी अगाडि आई विश्वमा नाम कमाउने काम गरुन् भन्ने चाहन्छौं ।
खुला नेपाल हुन्छ उज्यालो नेपाल।
वर्तमान अवस्थामा हामी हाम्रा दुई शक्तिशाली छिमेकीहरुसँग रणनीतिक आपसी सम्मानको नीति अबिलम्बन गर्नेछौं । हाम्रो अर्थतन्त्रलाई उनीहरुसँग खुलारुपमा नजिकिदैँ जोड्नेछौं जसले गर्दा उनीहरुको द्रुतगतिमा बढेको हामी आर्थिक विकासबाट लाभान्वित हुन सकौं । यो नै हाम्रो अल्पकालीन विदेश नितिको आधार हुनेछ । हामीले सिर्जना गर्ने आर्थिक भातृत्वले अन्तरछिमेकी राजनीतिक खिचातानीलाई एक कदम पछाडि राखनेछ।
सारांसमा हामी आम नेपाली जति बढी स्वनिर्भर हुन्छौँ त्यति नै नेताहरुको धरपकड कम रहन्छ । देशको नेत्रित्व यसै दिशामा उन्मुख भई काम गर्नेछन् । यो नै हाम्रो नेत्तित्वको प्रमुख मार्गदर्शण हुनेछ ।

No comments:

Post a Comment