Thursday, July 29, 2010

स्याङ्जामा उत्पादीत कफी जर्मनी, जापान र अमेरिका निकासी हुने!

स्याङ्जामा उत्पादीत कफी जर्मनी, जापान र अमेरिका निकासी हुने भएको छ। रासानिक मल विना स्थानिय श्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकोले नेपालबाट वर्षिनी कफी निर्यात बृद्धि हुदै गएको छ। चालु वर्षदेखि जिल्ला कफी व्यवसायी संघको पहलमा गठित जिल्ला कफी सहकारी मार्फत पहिलो पटक त्यी देशमा कफी निर्यात गर्न लागेको हो। विगतका वर्षमा यहाँ उत्पादीत कफी अमेरिका, जापान, कोरिया र हल्याण्डमा निर्यात हुदै आएको थियो।
जिल्लामा ८२ कफी उत्पादक समूह र ७ वटा कफी उत्पादक सहकारी सस्था लिमिटेड रहेका छन्। समूह र सहकारी संस्था मार्फत उत्पादीत कफी जिल्ला कफी सहकारी मार्फत पहिलो पटक निर्यात गर्न थालिएको हो। यसअघि हाइल्याण्ड कफी कम्पनी काठमाडौं, एभरेष्ट कफी मिल पाँचखाल काभ्रे, प्लानटेक कफी कम्पनी काठमाडौं मार्फत यहाँका कफी विदेश निर्यात हुदै आएको थियो।
चालु वर्ष स्याङ्जाबाट ड्राई पार्चमेन्ट कफी ५५ टन र ड्राई चेरी कफी ५ टन विदेश निर्यात हुने भएको छ। जिल्ला कफी व्यवसायी समितिको पहलमा ड्राई पार्चमेन्ट प्रतिकिलो १ सय ५५ रुपयाँ निधारण गरिएको छ भने ड्राई चेरीको लागि ४० रुपयाँ प्रतिकिलो तय गरिएको छ।
जिल्लाबाट २०६६ मा ड्राई पार्चमेन्ट ४५ टन र ड्राई चेरी ५ टन कफी विदेश निर्यात भएको थियो। जिल्लामा हालसम्म करिव ४ हजार ५ सय परिवार कफी खेतीमा संलग्न रहेको जिल्ला कफी व्यवसायी संघका अध्यक्ष फणीनारायण अर्यालले बताए। उनका अनुसार, संघमा हालसम्म २ हजार ५ सय परिवार प्रत्यक्ष रुपमा आवद्ध भएका छन्।
जिल्लाका २ नगरपालिका र ६० गाउं विकास समिति मध्ये पुतलीबजार र वालिङ् नगरपालिका सहित २९ गाउं विकास समितिमा स्थानिय कृषकहरुले व्यवसायीक रुपमै कफी खेती गर्दै आएका छन्। स्याङ्जामा २ सय १५ हेक्टर जमिनमा कफी खेती गरिएको छ

No comments:

Post a Comment