Wednesday, June 8, 2011

बेखबर छन् आचार्य वालकृष्णका आमाबुवा !

भरुवा -स्याङ्जा, जेष्ठ २४ - 
भारतीय योगगुरु रामदेवको अनशनमा प्रहरी हस्तक्षेपपछि उनका निकट सहयोगी आर्चाय बालकृष्णबारे राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमा विभिन्न खबरहरू आइरहेका छन् । उनका आमा-बुवालाई भने छोराबारे कुनै पत्तै छैन । तीन दिनदेखि बेपत्ता भएको भनिएका बालकृष्ण मंगलबार हरिद्वारमा पत्रकार सम्मेलनमा देखिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वालिङ-५ भरुवामा स्थायी घर भएका बालकृष्णका बुवा जयवल्लभ सुवेदीलाइ चाहिँ छोरा बेपत्ता भएको थाहै थिएन । 'हामीलाई थाहै भएन,' उनको घर पुगेका सञ्चारकर्मीहरूसँग सुवेदीले भने, 'सम्पर्क नभएको पनि धेरै भयो । भारतमा अहिले के के भएको हो त्यो पनि थाहा छैन ।' घरमै बस्दै आएका ७७ वषर्ीय वृद्ध सुवेदीले बरु सञ्चारकर्मीहरूलाई नै सोधे, 'मेरो छोराले के गरेको रहेछ र ?'

६ छोरामध्येका जेठा बालकृष्ण मात्र नभई घरमा अहिले कुनै छोरा नभएको जनाउँदै आमा सुमित्रादेवीले भनिन्, 'हामीलाई न छिमेकीले भनेका छन् न छोराहरूले नै फोन गरेका छन् ।'

 बुवा-आमाका अनुसार २०२९ साउनमा भारतमै जन्मेका बालकृष्णलाई ३ महिनाको हुँदा नेपाल ल्याइएको थियो । ११ वर्ष पुगेपछि उमेरमा ६ कक्षा पढ्दापढ्दै बुवासँग भारत गएपछि उनी उतै बसेका थिए । 'दिल्लीमा पढेको छ भन्ने थाहा पाएर ४ वर्षपछि भेट्न गएको थिएँ,' जयवल्लभले भने, 'त्यसपछि उससँग १७ वर्षसम्म भेटघाट र फोनमा समेत कुराकानी भएन ।'

वालिङमा निर्माण भएको पतञ्जलि योग पीठ तथा आयुर्वेद भवन शिल्ाान्यास गर्न बालकृष्ण दुई वर्षअघि गृहजिल्ला आएका थिए । उनले हरिद्वार योग पीठमार्फत २ करोड ५० लाख रुपैयाँमा भवन निर्माण गराएका थिए । 'उसँग भेटघाट र फोनमा पनि कुराकानी नभएको २ वर्ष भइसक्यो,' बुवा जयवल्लभले भने ।

११ वर्षको उमेरमा हिँडेको छोरो अहिलेसम्म घरमा आएर एक रात पनि नबसेको आमा सुमित्रादेवीले बताइन् । 'भवन शिल्ाान्यास र त्यसको ११ महिनापछि उद्घाटनमा आउँदा सामान्य भेटघाटमात्र भएको हो,' उनले भनिन् ।

जयवल्लभको घरमा टेलिभिजन भए पनि हाल घर मर्मत भइरहेकाले नहेर्ने गरी थन्क्याइएको छ । त्यसैले छोराबारे आइरहेका कुनै पनि खबर उनीहरूले थाहा पाएका छैनन् ।

तैपनि बालकृष्णमाथि नेपालमा गैरकानुनी काम गरी भागेर भारत आएको भन्ने आरोप भने आमा-बुवाले अस्वीकार गरे । 'उ त्यस्तो गर्ने मान्छे नै होइन,' जयवल्लभले भने, 'विवाह गरभन्दा पनि मानेन । म अरूको सेवा गर्छु । राम्रो कामा लागेको छु भनिरह्यो ।' उनले नगर्ने बताएपछि अरू छोराहरूको विवाह गरिदिएको उनले बताए ।

जयवल्लभका अरू छोराहरूमध्ये दुई जना रामदेवले स्थापना गरेको पतञ्जलि योगमा कार्यरत छन् । एक जना काठमाडौंमा र तीन जना दिल्लीमा छन् ।

यसैबीच बालकृष्णले स्याङ्जा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको कुनै रेकर्ड नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद ओलीले जनाएका छन् ।



जानु पंगेनी को रिपोर्ट ! 
ई कान्तिपुर सपोर्ट !

No comments:

Post a Comment