Wednesday, December 1, 2010

अकबरे खुर्सानीले बजार पाएन

स्याङ्जा जिल्लाका विभिन्न भागमा उत्पादित खुर्सानी मध्ये अकबरे नामको खुर्सानीले बजार तथा उचित मूल्य पाउन सकेको छैन । ग्याष्ट्रिकको औषधी हुने विश्वासमा अकबरे खुर्सानी लगाउने कृषकको संख्यामा बृद्धि भएपनि उचित मूल्य र बजार नपाउदा कृषकहरु चिन्तित भएका छन् ।
अकबरे खुर्सानीको महत्वका बारेमा ज्ञानको कमीले गर्दा बजार र मूल्य नपाएको उक्त खुर्सानी विस्तार गर्ने संस्था स्रि्रेड अनुसन्धान उपयोग कार्यक्रमका कर्मचारी अर्जुन चौलागाईँले बताउनुभयो ।
जिल्लाका दुर्इ नगरपालिका पुतलीबजार र वालिङ सहित फेदीखोला, आर्रुखर्क, पौवेगौँडे, स्वरेक, छाङछाङ्दी, दहथुम, जगतभञ्ज्याङ लगायतका एक दर्जनभन्दा बढी गाविसका कृषकहरुले अकबरे खुर्सानीको व्यवसायिक खेती गरेका छन् ।
कृषकहरुले करिव १ सय ४० रोपनीमा व्यवसायिक अकबरे खुर्सानी लगाएका छन् । प्रति रोपनी जग्गामा सरदर ७ सय किलो फल्ने गरेको कृषकहरु बताउँछन् । जगतभज्याङ् स्थित पित्लेकका कृषक रामप्रसाद लामिछानेले स्थानीय बजारमा मात्र नभएर अन्य सहरमा समेत खुर्सानीले बजार तथा उचित मूल्य नपाएको गुनासो गर्नुभयो । अन्य खुर्सानीको तुलनामा अधिक पिरो र महङ्गो हुने कारण तरकारीमा अकबरे खुर्सानी उपयोग नगरेको स्थानिय गृहणीहरु बताँछन् ।
सामान्य खुर्सानी प्रतिकिलो २० देखि ३० रुपैयामा पाइने गरेपनि अकबरे खुर्सानीलाई प्रतिकिलो ८० रुपैयादेखि १ सय रुपैयासम्म पर्दछ ।
अकबरे खुर्सानीबाट स्वास्थ्यका लागि हुने फाइदाबारे ज्ञान नभएकोले यसले बजार र उचित मूल्य नपाएको जिल्ला कृषि विकास कार्यलयका बरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताउनुभयो ।
विभिन्न देशमा गरिएको अनुसन्धानपछि यो खुर्सानी ग्याष्ट्रिकको औषधिको रुपमा प्रयोग गर्न सकिने पत्ता लागेको हो । औषधीको रुपमा प्रयोगमा ल्याउन सकिने भएपछि कृषकलाई यस खुर्सानीको व्यवसायिक खेती गर्न सरकारी तथा गैरसरकारी कार्यालयले नै प्रोत्साहन गरेका थिए ।
कृषक उत्साहित भएर खेती गरे त्यसरी उपभोक्ता विक्री हुन नसक्दा कृषक मर्कामा परेका छन् ।

No comments:

Post a Comment