Tuesday, September 7, 2010

तीजको दिन आफ्नो छालाअनुरूप अनुहारलाई सुहाउने शृंगार कसरी गर्ने ??

हिन्दू/नेपाली   महिला तीज पोसाक मा 


नेपाली दिदी-बहिनी महान् पर्व तीज उल्लासमय रूपले मनाउने तयारीमा छन् । तीजको दिन धेरैजसो महिला व्रत बस्छन् अनि बेहुलीकै जस्तै शृंगार पनि गर्छन् । तीजको दिन आफ्नो छालाअनुरूप अनुहारलाई सुहाउने शृंगार कसरी गर्ने, कसरी बिहानदेखि बेलुकासम्म आफूलाई तरोताजा राख्ने भन्ने विषयमा जानकारी राख्नु फाइदाजनक नै हुन सक्छ ।

शृंगार गर्नुअघि आफ्नो छालाको प्रकार थाहा पाउनुपर्छ । छाला सुख्खा छ भने मेकअप कीटमा मोस्चराइजर तथा तैलीय छ भने ओइल पि|m जेल फाउन्डेसन राख्नुपर्छ । तीजको एक-दुई दिन पहिले नै कुनै दक्ष ब्युटिसियनसँग फेसियल गराउनुपर्छ किनभने फेसियल गराएको छालामा चमक हुन्छ र त्यो सफा पनि देखिन्छ । यस्तो छालामा गरिएको मेकअप सुहाउँदिलो हुन्छ ।

शृंगार गर्ने विधि

    अनुहार सफा गर्ने र छालामा सबैतिर बराबर लाग्ने गरी फाउन्डेसन लगाउने ।

    दाग-धब्बायुक्त छाला छ भने कन्सिलर प्रयोग गर्न सकिन्छ ।  कन्सिलरलाई राम्रोसँग छालामा लगाई माथिबाट लुज पाउडर वा कम्प्याक्टर पाउडर लगाउने ।

    आँखामा रातो रंगको क्रिमी आइस्याडो लगाउने । गहुँगोराहरूले ब्रन्ज कलरको आइस्याडो लगाउने ।

    आई पेन्सिलले मोटो वा पातलो जस्तो सुहाउँछ आँखाको तलमाथि रेखा तान्ने ।

    परेलामा मस्काराको एक कोट लगाई केहीबेर सुक्न दिने । त्यसपछि अर्को एक कोट लगाउने ।

    गालामा रातो रंगको लाइटमा ब्लस प्रयोग गर्ने । सिमर रुजलाई पनि मेकअप ब्लसरमा प्रयोग गर्न सकिन्छ ।

    किशोरीहरूले गुलाबी ब्लसर प्रयोग गर्नु राम्रो हुन्छ किनभने यसको प्रयोगले अनुहारमा निर्दोष सौन्दर्यको आभास दिलाउँछ ।

    ओठमा सबैभन्दा पहिले लिप वेक्सिङ प्रयोग गर्ने । ओठ खस्रो  वा फुटेको छ भने लिप स्क्रब प्रयोग गर्दा ओठमा भएको मृतकोष हटेर ओठ नरम हुन्छ ।

    ओठमा लिपस्टिकको रंगभन्दा एक सेड गाढा रंगको पेन्सिलले आउट लाइन तान्ने र ब्रसको सहायताले लिपस्टिक भर्ने । लिप्स्टिकको माथिबाट ब्राइट कलरको लिप ग्लिटर वा लिप ग्लास एक कोट लगाउने, अन्त्यमा अनावश्यक रूपमा लिपस्टिक फैलन नदिन टिस्यु पेपरलाई ओठको बीचमा राख्ने र हल्का दबाब दिने ।

    गर्मी मौसम भएकाले केशमा जुरो बनाउने । केश लामो छ भने चुल्ठो बनाई साडीको रंगसँग मिल्ने हेयर फ्लाबरको कानभन्दा दुई इन्चमाथि पिन अप गरेर लगाई चुल्ठोको शोभा बढाउन सकिन्छ । बजारमा हेयर स्टाइल डेकोरेसन गर्ने विभिन्न प्रकारका क्लचर क्लिप पाइन्छन् जसलाई प्रयोगमा ल्याउन सकिन्छ ।

    यो वषर्ाको मौसम भएकाले वाटरप्रुफ मेकअप गर्नु राम्रो हुन्छ । सम्पूर्ण मेकअप वाटरप्रुफ  नभए पनि मस्कारा भने वाटरप्रुफ प्रयोग गर्नुपर्छ ।

    तीजको अवसरमा हातमा मेहन्दी लगाई आफ्नो सम्पूर्ण सौन्दर्य बढाउन सकिन्छ । दुवै हातमा प्रशस्त सुहाउँदा चुरा लगाउने ।

    तीजको दिन दिदी-बहिनीहरू समूहमा भेला भई खुसीपूर्वक नाचगान गर्छन् । यस्तो अवसरमा सरिक हुन प्राकृतिक देखिने खालको हलुका शृंगार उपयुक्त हुन्छ ।

संस्कृतिले विकृत मोड लिएको छ 
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन उपवास बसेर उल्लासपूर्वक मनाइने यो चाड पहिले सीमित समुदाय वा जातजातिले मनाउँथे । अहिले अन्य विभिन्न समुदाय वा जातजातिले पनि यसलाई अपनाएका छन् । पौराणिक कथाअनुसार हिमालयकी  पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी निराहार व्रत बसेर तपस्या गरेपछि महादेवलाई नै स्वामीका रूपमा पाएपछि यो चाडको सुरुवात भएको मान्यता छ । तीजमा विवाहितहरू आफ्ना श्रीमान् तथा परिवारको सुख-समृद्धि र दीर्घायुको कामना गर्दै तथा अविवाहितले योग्य श्रीमान् पाऊँ भनी व्रत बस्छन् ।

तीजको अघिल्लो दिन दर खाने चलन भए पनि हिजोआज महिना दिनअघिदेखि नै दर खाने-ख्वाउने तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी रमाइलो गर्ने चलन बढेको छ । पहिले-पहिले दरका रूपमा मिठाइ, खीर तथा दूधले बनेका परिकारको चलन बढी  थियो भने हिजोआज माछा-मासुको प्रयोग बढेको पाइन्छ । व्रतको दिन पानी पनि नपिई बस्नुपर्छ भन्ने मान्यता एकथरि को छ भने यी सबै नियम मान्छेले नै बनाएका हुनाले निराहार व्रत बस्नु नपर्ने भनाइ अर्काथरिको छ । शास्त्रमा निराहार व्रत बस्नुपर्ने कुरा कतै पनि उल्लेख नभएको कुरा धर्मशास्त्रीहरू बताउँछन् । तीजका दिन महिलाहरू व्रत बस्ने, भेटघाट गरी नाचगान गरी रमाइलो गर्छन् भने चौथीका दिन स्नान गरी व्रत पारायण गरेपछि खाना खान्छन् । तेस्रो दिन ऋषिपञ्चमी पर्ने भएकाले त्यस दिन ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको  नदी, तलाउ वा धारा तथा कुवामा गई स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वास  छ । त्यसपछि अरुन्धतीसहित कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतिएको अन्नको भात र कर्कलाको तरकारी खाइन्छ ।

 तीजको दिन महिलाले लगाउने रातो साडी सुख-समृद्धि एवं साहसको प्रतीक हो । त्यसैगरी पोते शान्तिको प्रतीक हो भने रातो टीका सौभाग्यको प्रतीक हो । तीजमा विवाह गरी टाढा-टाढा गएका दिदी-बहिनीहरू, साथीसंगीहरू एकै ठाउँमा भेला भएर आफ्ना मनका भावना एवं सुख-दुःख गीत-संगीतका माध्यमबाट  साटासाट गर्छन् । पहिले-पहिलेका तीजमा गाइने गीतहरूमा छोराछोरीबीचको भेदभाव, आफूले विवाह गरेर गएको घरबाट पाएका दुःख वा पीडा आदि कुरा हुन्थे भने हिजोआज समयको गतिसँगै महिलाहरूमा आएको शैक्षिक जागरण, चेतना, सामाजिक परिवर्तन एवं बदलिँदो राजनीतिक स्वरूपअनुसार तीजमा गाइने गीतहरूमा पनि परिवर्तन आउन थालेको छ । महिलाहरू विभिन्न समसामयिक घटनाहरूमा आधारित भएर आफ्ना गीतहरूबाट सन्देश दिने काम गर्छन् ।

यी तीजका विधि तथा परम्परा भए पनि तीजमा गरिने अनावश्यक गहना तथा पहिरन प्रदर्शन भने नकारात्मक हो जसले आत्मसम्मान र आपसी सद्भावमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष असर पारिरहेको हुन्छ । हाम्रो धर्म, संस्कृति तथा शास्त्रमा श्रीमान्ले आफ्नी श्रीमतीको दीर्घायु र कल्याणका लागि पूजा गर्ने र व्रत बस्ने चलन पाइँदैन । वास्तवमा सुखद् दाम्पत्य जीवन एवं असल जीवनसाथी महिलाका लागि मात्र नभई पुरुषका निम्ति पनि उत्तिकै आवश्यक कुरा हो । हाम्रो पुरुषप्रधान समाजमा शारीरिक, मानसिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्यका दृष्टिकोणले पनि महिलाहरू धेरै पछाडि छन् । यस्ता आधारभूत कुरामा समेत निर्णय गर्ने अधिकार महिलालाई छैन । श्रीमान्लाई आफूले पाउने दःुखका बारेमा बुझाउनु र श्रीमान्ले श्रीमतीको पीडा बुझ्नु श्रीमान्को कर्तव्य हो । त्यसैले सम्पूर्ण हिन्दू नारीले परम्परालाई निरन्तरता दिँदै आफ्नो सोचमा पनि समयानुकूल परिवर्तनसहितको तीज मनाउनुपर्छ जुन समयको माग पनि हो ।   

References : 1.करुणा उदासी "कृष्ण"
                  2.Many sources .

No comments:

Post a Comment