Friday, December 17, 2010

पञ्चासेमा दैनिक सयौ पर्यटकको ओइरो

लक्ष्मीप्रसाद सापकोटा
सरकारले सन् २०११ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउँदै गर्दा पर्वत, कास्की र स्याङ्जाको सिमानामा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे सही गन्तव्य हुन सक्छ । पर्वत, कास्की र स्याङ्जाको संगमस्थलमा अवस्थित यो स्थान प्राकृतिक सौन्दर्यतासँगै धार्मिक एवं ऐतिहासिक पर्यटनका लागि प्रसिद्ध छ ।
पर्वत सदरमुकामदेखि राम्जा अथवा चित्रे, कास्कीबाट नौडाँडा हुँदै भदौरे, सिधाने गाविस र स्याङ्जाबाट बाङसिंग र काउले हुँदै पञ्चासे पुग्न सकिन्छ । पञ्चासे कास्कीबाट ३५ किलोमिटर, पर्वतबाट ३५ किमि र स्याङ्जाबाट ४० किमिको दूरीमा पर्छ । तीनवटै जिल्ला सदरमुकामबाट पैदलयात्रा गरेर पनि उक्त स्थानमा पुग्न सकिन्छ । सबै जिल्लाबाट सहज रूपमा यातायातको पनि व्यवस्था छ ।
समुद्री सतहदेखि २ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे अहिले पश्चिमाञ्चल क्षेत्रकै मुख्य पर्यटकीय क्षेत्र बनिरहेको छ । घना जंगलसँगै विभिन्न धार्मिक स्थलहरूका साथै सफा र सुन्दर प्राकृतिक ताल पनि यहाँ छ । पछिल्लो समयमा दैनिक सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । यहाँबाट पश्चिमाञ्चल क्षेत्रका अन्नपूर्ण, गणेश, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«ेलगायत एक दर्जनभन्दा बढी हिमश्रृंखला एकैसाथ दख्न सकिन्छ । त्यस्तै पर्वत, बाग्लुङ, पोखरा, पाल्पा, स्याङ्जा, वालिङ, तनहुँलगायतका जिल्ला सदरमुकामसमेत अवलोकन गर्न सकिन्छ ।
यहाँ जाने पर्यटकहरू प्रायः अघिल्लै दिन पुग्छन् । पञ्चासे जाने पर्यटकका लागि कास्कीको भदौरे, पर्वतको चित्रे, राम्जा र आर्थर, त्यस्तै कास्कीको बाङसिङ र सरादीमा होमस्टेको समेत सुविधा छ । पर्यटकहरू सूर्याेदयसँगै हिमालको मनमोहक दृश्य हेर्नका लागि अघिल्लै दिन होमस्टे भएको ठाउँमा गएर बास बस्ने र अर्को दिन बिहान सबेरै उठेर डाँडामा पुग्छन् ।
अधिकांश आन्तरिक र केही मात्रमा बाह्य पर्यटक कास्कीको सिधानेसम्म गाडी रिजर्भ गरेर आउने र त्यहा“बाट मनोरम दृश्य नियाल्दै पैदल यात्रामार्फत पञ्चासे पुग्ने गरेको पञ्चासे क्षेत्र विकास समितिका अध्यक्ष गोपाल गुरुङले बताए ।
“पञ्चासेबाट लोभलाग्दा मनोरम दृश्य हेर्न पर्यटकको घुइ“चो लाग्छ,” अध्यक्ष गुरुङ्गले भने, “विगतका वर्षभन्दा अहिले मौसम राम्रो परेकाले हिमश्रृंङ्खलालगायत अन्य दृश्यसमेत सफा र स्पष्ट देखिएकाले यसपटक यहाँ आएका पर्यटक ज्यादै रमाएका छन् ।” उनका अनुसार पर्यटन वर्ष सुरु हुन लागेकाले पञ्चासेमा दिन–प्रतिदिन पर्यटकको आगमनमा वृद्धि भएको छ ।
होमस्टे सुविधाले पर्यटकलाई बढी आकर्षण गरेको पञ्चासे युवा क्लबका संस्थापक मनोज गुरुङले बताए । “यो वर्ष पञ्चासेमा गत वर्षभन्दा दोब्बरको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने उनको अनुमान छ । अहिले स्वदेशका अधिकांश जिल्लाका साथै विदेशी पर्यटकको पनि उत्तिकै लर्को लागेको गुरुङले बताए । उसो त पर्यटक मात्र हैनन्, शैक्षिक भ्रमणका लागि अवलोकन गर्न आउने शिक्षक तथा विद्यार्थीको संख्या पनि पञ्चासेमा उत्तिकै छ ।
यो क्षेत्रमा अत्यधिक जाडो हुने भए पनि जाडोको प्रवाह नगरी पर्यटक आउँछन् । होटलको अभावमा विदेशी पर्यटकहरू भने पाल टा“गेर बस्ने गरेका छन् । आन्तरिक पर्यटकहरू दुई दिनसम्म र विदेशी पर्यटकहरू चार दिनसम्म यो क्षेत्रमा घुमफिर गरी रमाउने गरेको चित्रेका होमस्टे सञ्चालकहरूले बताए ।
यहाँ विभिन्न क्षेत्र अवलोकनका लागि भ्यू टावरसमेत निर्माण गरिएको छ । कुनै पनि खोला वा मुहानविनाको ताल यो क्षेत्रको मुख्य आकर्षण हुन् । यस क्षेत्रमा पुराना र ऐतिहासिक मन्दिरहरू पनि छन् । तालमा कुनै पात खस्यो कि हावाले उति बेलै किनारमा पु¥याइदिने यहाँको तालका बारेमा मनिसहरूको विश्वास पनि अझै रोचक छ । ५ हजार ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको पञ्चासेको जंगलमा १ सय १२ थरीका सुनाखरी र बहुमूल्य जडिबुटीसमेत पाइन्छन् । पञ्चासे जडिबुटीका लागि पनि परिचित छ ।
मुख्य पर्यटकीय क्षेत्र मन्दिर र अतिथिगृह रहेको स्थानमा खानेपानीको समस्याले गर्दा पर्यटकहरूलाई भने समस्या हुने गरेको छ । नजिकमा स्रोत नभएकाले र निकै उचाइमा रहेकाले पनि पानी सहज रूपमा उपलब्धता हुन नसकेको हो । पञ्चासेसम्म खानेपानी विस्तारका लागि काम भने सुरु भइसकेको छ ।
गत वर्षदेखि सुचारु गरिएको होमस्टे सेवाले यहाँ जानेहरूलाई केही सहज भएको छ । चाडबाडको समयमा अन्य बेलाभन्दा धेरै पर्यटक यहाँ भित्रिन्छन् । “पहिले–पहिले प्रचार–प्रसारको अभावसँगै यातायातको असुविधाले निकै कम आउँथे,” पञ्चासेमा होटल सञ्चालन गर्दै आएका लोकबहादुर गुरुङले भने, “यातायातको सुविधाले बालबालिका, बूढापाकालगायत सबै वर्गका सर्वसाधारणहरू आउने गरेका छन् ।” होमस्टे भएका गाउँहरू पञ्चासेदेखि निकै तल झर्नुपर्ने भएकाले झन्झटिलो मानेर पञ्चासेमै बस्ने गरेको लोकबहादुरले बताए । बिहानीपख देखिने सूर्योदयसँगै आफ्नो तस्बिर क्यामेरामा कैद गर्न पर्यटकहरू जाँडो सहेरै भए पनि बस्ने गरेका हुन् ।
शिवरात्री, बालाचतुर्दशी, माघे संक्रान्ति, नववर्ष, हरीबोधनी एकादशी, पूर्णिमा, लगायत विभिन्न पर्वहरूमा भक्तजनहरूको घुइँचो लाग्छ ।
होटल–व्यवसाय पर्याप्त मात्रामा नभएको र पर्यटकलाई सेवासुविधा दिने उद्देश्यका साथ व्यवसाय विस्तार गरी धेरैको संख्यामा पर्यटक भित्र्याउने अभियानको शुरुवात भइरहेको स्थानीय मनोज गुरुङले बताए । सबै खाले सेवा–सुविधाको व्यवस्था गरेर लाखौं संख्यामा पर्यटक भित्र्याउने तयारी समितिले गरेको छ । पञ्चासे क्षेत्रकै प्रचार–प्रसार र पर्यटकहरूको थप आकर्षणका लागि स्थानीयवासीहरूले ‘पञ्चासे मेला’को आयोजना गर्ने भएका छन् । कास्कीको तमाङी गाविसको सिदाने गाउँमा मेला मंसिर १६ र १७ गरी दुई दिनसम्म मेला सञ्चालन गरिनेछ । मेलामा स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यका साथ घरेलु उत्पादनको प्रदर्शनी गरिने बताइएको छ । आयोजक पञ्चासे आदर्श युवा क्लबका अनुसार मेला अवलोकनका लागि आउने पाहुनालाई स्थानीय परिकारहरूको व्यवस्था गर्ने र आन्तरिक तथा बाह्य पर्यटकका लागि होमस्टे सुविधाको व्यवस्थासमेत गरिनेछ ।
पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने पर्यटकहरूको अकार्षणको केन्द्र भइसकेको पञ्चासे क्षेत्रलाई अझ सुविधासम्पन्न बनाउनका लागि चित्रे गाविसमा भएको होमस्टेलाई थप प्रभावकारी बनाउन लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले बताए । पञ्चासे क्षेत्रको रुट मानिने उक्त गाविसमा ११ वटा घरले होम स्टे सेवा दिँदै आएका छन् । प्राकृतिक हिसाबले महत्वपूर्ण मानिएको पञ्चासेको अझै व्यापक रूपमा प्रचार–प्रसार गर्न सके पर्यटन वर्षमा लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सरोकारवालाहरू बताउँछन्

No comments:

Post a Comment