Thursday, November 4, 2010

बेलायत बाट एक किशोरी को पिडा !

यो पत्र कोरेको दिन अक्टोबर २७। मैले नेपाल छोडेर अध्ययनका लागि संयुक्त
अधिराज्य बेलायत आएको ९ दिन भयो। तिहारमा प्यारो भाइको निधार खाली राख्दै,
आमाको अनुहारभरि आँसुका ढिका खसाउँदै भाइटीकाको अघिल्लो दिन कतार एयरवेजबाट
उच्च शिक्षा हासिल गर्न यहाँ आएकी थिएँ। लाग्दैछ , मेरा सपनाहरू तुहिन थालेका
छन्। मैले बुनेका सपनाका महलहरु भताभुङ्ग हुँदैछन्। मैले सोचेको बेलायत र यहाँ
आएर हेर्दाको बेलायतमा धेरै अन्तर रहेछ। स्वर्गको कुनै ठाउँ छाडेर नर्कमा आएकी
रहेछु भन्ने आभास हुँदैछ।कसरी सुनाऊँ, यहाँ मजस्तै नेपाली विद्यार्थी र नारीले
भोग्नुपरेको दुःख, व्यथा? जति लेखे पनि कम हुन्छ। आँसु आउँछ, मन भक्कानिन्छ तर
सहनुपरेको छ। सात वर्षअघि जनयुद्ध कालमा विद्रोहीको आक्रमणमा परेर मेरा बाको
निधन भयो। बेनी आक्रमणको त्यो नमीठो घाउ निको नहुँदै २०६० सालमा माओवादीको बम
विष्फोटमा परी आमाको दाहिने हात गुम्यो। भर्खर नौ कक्षामा पढ्दै गरेकी ममाथि
सारा घर -परिवारको र ५ वर्षको अवोध भाइ सम्हाल्ने जिम्मेवारी आइलागेको थियो।
एउटा हात गुमाए पनि मलाई मेरी आमाले दुःख, कष्ट गरेर बाह्र अर्थात् प्लस टुसम्म
पढाउनुभयो। बाको सपना साकार पार्ने मेरो लक्ष्य थियो। नेपालमा हुने शिक्षाको
राजनीति , देशको अवस्था र घरको स्थितिले गर्दा घरजग्गा बैंकमा राखी, केही पैसा
मामाबाट सहयोग लिई आठ लाख रुपैयाँ खर्च गरेर यहाँ आएकी हुँ।

जम्मा एक लाख बीस हजारको ट्राभल चेक लिएर यहाँ आएँ। ट्राभल चेक साट्दा ९२३
पाउण्ड पाएकी थिएँ। यहाँ आएको नौ दिन भइसक्यो। मसँग अब जम्मा ५७५ पाउण्ड छ। यो
लण्डन सहर कति महँगो छ भने अबको एक महिनाभित्र कुनै काम पाइनँ भने म नेपाल
फर्कनुको विकल्प छैन। ट्राभल टुरिज्म पढ्न आएकी थिएँ। आएकै दिन कलेज निलम्बनमा
परेको थाहा पाएँ। छानोबाट खसेजस्तै भएँ। अब के गर्ने होला , कहाँ कसलाई भन्ने
होला भनेर डर लागिरहेको थियो। अझ दुःखको कुरा त कन्सल्टेन्सीले देखाएको कलेजको
भवनमा प्रत्येक फ्ल्याटमा गरी ६ वटा छुट्टाछुट्टै कलेज सञ्चालित रहेछन्। लन्डन
कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट र एङ्गलियन कलेजलगायत अरु कलेज एउटै
भवनमा सञ्चालित छन्। कति अस्तव्यस्त छ भने त्योभन्दा त मैले अध्ययन गरेको
बागलुङकै गाउँको एउटा उच्च मावि धेरै कुरामा सक्षम थियो।

सुनेकी छु, यहाँ १५० भन्दा धेरै नेपाली अलपत्र छन्। कति नेपाल फर्किए। तर,
अधिकांश फर्किन पाएका छैनन्। एक नेपाली विद्यार्थीले आत्महत्या गरे रे। कोही
पागल भए रे। सुनेको छु, एक नेपाली युवती अफ्रिकीबाट बलात्कृत भइन्। यतिका घटना
हुँदा पनि नेपाल सरकार, शिक्षा मन्त्रालय र पैसामा बिकेका कन्सल्टेन्सीहरुलाई
यहाँका नेपाली विद्यार्थीबारे कुनै चिन्ता छैन। २ हजार रेमिटेन्स भित्रिन्छ
भन्ने धारणा बाकेका शिक्षा मन्त्रालय प्रत्येक विद्यार्थीबाट बाहिरिने लाखौँ
रुपैयाँको गणना गर्दो रहेनछ।

म यहाँ फसे पनि अब आउने साथीहरुलाई आग्रह गर्छु, यहाँ आउँदा वा अरु कुनै देशमा
जाँदा राम्ररी बुझेर मात्र जानुहोला। कसैको भ्रम र झूठा आश्वासनमा नपर्नु होला।
हामी मिल्यौँ भने हाम्रो पैसाले नेपालमै भव्य युनिभर्सिटी बन्न सक्छ। नाम
राखौँ, सगरमाथा युनिभर्सिटी वा भेरी कर्णाली इन्टरनेशनल युनिभर्सिटी जहाँ
संसारबाट विद्यार्थी पढ्न आऊन्। हामी १०० जना मिल्दा त्यो सम्भव छ भने नेपालबाट
बाहिर पढ्न जाने हजारौँ मिल्ने हो भने र त्यो पैसा शैक्षिक क्षेत्रमा लगानी
गर्ने हो भने नेपाल विश्वको प्रमुख शैक्षिक केन्द्र बन्न सक्छ मलाई नेपाल
छाडेर आएकामा धेरै पछुतो छ। पैसा कमाउन नसके पनि नेपाल बसेर केही गरेकी भए बाको
सपना साकार पार्थेँ होला। त्यसैले यहाँ आउन चाहने जोकोहीले एक पटक बुझेर मात्र
आउनुहोस्। देशको माया छ भने देशमै केही गर्नुस्। नयाँ नेपाल र नयाँ संविधान
निर्माणको यो महत्वपूर्ण क्षणमा देशको शिक्षित वर्ग विदेशिएपछि संविधान कस्तो
बन्ला ? त्यसैले नेपालमै केही गरौँ। मैले यहाँ कमाएर घरको ऋण तिर्ने कुरा त परै
जाओस् मलाई खान बस्न र अर्को वर्ष कलेजको फिः तिर्ने पैसा कमाउन पनि गाह्रो
भएको छ। त्यसैले अबको एक वर्षभित्र म जसरी पनि नेपाल फर्कन्छु। म वाचा गर्छु ,
नेपाल फर्केर नेपाल र नेपालीको लागि केही गर्छु। मलाई छातीभरि नेपालको माया
हुने नेपालीको साथको खाँचो छ। आउनुहोस्, हामीसँगै मिलेर नयाँ नेपाल निर्माणमा
जुटौँ।


अनिता थापा छेत्री ,बेलायत बाट 

No comments:

Post a Comment