आधुनिकताको छालले गाउँबस्तीलाई छ्याप्दै गर्दा गाउँको जनसंख्या निरन्तर घट्दो छ । हुन यो विकासोन्मुख मुलुकका गाउँबस्तीहरुको साझा कथा नै हो पढेलेखेका र पाखुरीमा तागत भएका युवाहरु गाउँमा भेटिंदैनन् । आँखा देख्ने र खुट्टा टेक्नेजति सबैले गाउँ छाड्ने क्रममा तीव्रता आएको छ । स्थानीय चुनाव हुँदा वडाअध्यक्षलगायतका जनप्रतिनिधिहरु नभेटिने खतरा बढेको छ । युवाहरु रहर र वाध्यता दुबै कारणले स्वदेशकै शहर र मुग्लान पसेका छन् । पेन्सन पकाएर शहरबजारतिरै रोकिएका लाहुरे परिवारहरु देशै छाडेर देश बेलायततिर पुगिसकेका छन् । तर उनीहरुले गाउँ छाडे पनि गाउँको माया चटक्कै मार्न भने सकेका छैनन् ।
गाउँघरको मायालाई मुटुभरि सजाउने युवाहरुले सोसल नेटवर्किङ साइट 'फेसबुक' र अन्य सामुदायिक साइटहरुमा गाउँका मनमोहक तस्बिरहरु पोष्ट गर्छन् । त्यसमा हृदय नै टाँसेर भावुक 'कमेन्ट' गर्छन् । तर उनीहरु गाउँतिर फर्कने सम्भावना न्यून छ । उनीहरुको हविगत सात समुन्द्रपारि अलग-थलग अवस्थामा रहेका अनलाइन प्रेमी-प्रेमिकाको जस्तो छ । एकआपसमा माया बिछट्टै छ, मन र मुटु पनि साटिएको छ तर सशरीर भेटघाट भने कहिल्यै हँुदैन । गाउँघर र उनीहरुको सम्बन्ध पनि त्यस्तै भएको छ । इन्टरनेटको 'भर्चुअल' दुनियाँमा जतिसुकै माया पोखे पनि गाउँ अवस्था शून्यको शून्य नै छ । गाउँको दयनीय अवस्था देखेर एकजना बृद्धाले गरेको टिप्पणीको सम्झना आउँछ । उनले स्थानीय लवजमा भनेकी थिइन्, ''हाइँ मोरेपछि यो धाराको पानी कोले खाला -''
अहिलेे रित्तिंदै गएको गाउँबस्तीको दुर्दशाको साक्षी बनेको छ, लाँकुरीको बोट । लाँकुरीको फेदमा बसेर ठाडो भाका र अन्य लोकलयमा मनको बह पोख्ने पारखीहरु आजकल भेटिंदैनन् । गोधुली साँझमा लाँकुरीबोट भेला हुने युवाहरु आजकल गाउँमा छैनन् । वनपाखा शून्य छ । बच्चा हुर्किएपछिको चराको गुँणजस्तै भएको छ, त्यो लाँकुरीको बोट । लाँकुरीको फेदमा हुने सभा-कहचरी र दगलफसल हुन छाडेको छ । लाँकुरीको फेदमा दाउरा-घाँसको भारी बिसाउने क्रम मत्थरिंदै गएको छ । लाँकरीको बोट नजिकको भिरालो चौरमा केटाकेटीले चिप्लेटी खेल्न छाडेका छन् । बटुवाहरु भेटिन छाडेका छन्
Bidur Bhattarai, Syangja Rang khola .NOW: Australia , Melbourne
No comments:
Post a Comment