Saturday, July 31, 2010

स्याङ्जाको कफी अमेरिका र जापानमा पठाएर यहाँका कृषकले भारतको चियापत्ती खान्छन्!!! ।

स्याङ्जा, श्रावण १४(बसन्ती बास्तोला) -

जिल्लाको कफी अमेरिका र जापानमा पठाएर यहाँका कृषकले भारतको चियापत्ती खान्छन् ।

उनीहरू घरभरि कफी हुँदा समेत चियापत्ती किन्न पसल जाने गर्छन् । चियापत्तीमा बसेको स्वाद यस्तो छ कि जिल्लामा जति मीठो कफी उत्पादन भए पनि चियापत्ती विस्थापित हुने अवस्थामा छैन ।

चियामा कफी मिसाएर ल्याउने गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए । 'कफीमात्रै राम्रो र खाने चीज हो भन्ने अझै परेको छैन,' उनले भने । आफूले लाखौंको कफीखेती गर्दै आए पनि घरमा कफी खाने कृषक १ प्रतिशत पनि छैनन् । कृषक र व्यापारीका घरमा मात्रै होइन होटलमा पनि चिया खाने चलन छ । ग्राहकले चिया खोज्ने कारण कफी नपकाउने गरेको पुतलीबजारमा रहेको ममता होटलकी सञ्चालक हिमा ठकुरीले बताइन् । 'सबैले चिया माग्छन् कफी खोज्दैनन्,' उनले भनिन् ।

यहाँको कफी बास्नादार र अर्गानिक भएको कारण अमेरिका जापान र कोरियामा माग बढी रहेको जिल्ला कफी व्यवसायी संघका कोषाध्यक्ष बोधराज अर्यालले बताए । उनले भने, 'हाम्रो जिल्लाको कफी नमुना बन्दै छ ।' कफीमार्फत नेपालको पहिचान विदेशमा फैलिन थाले पनि उत्पादन गर्ने मानिसले नै नखाँदा सबै अचम्ममा पर्ने गर्छन् । कफी बनाउन झन्झटिलो भएको कारण कफी नखाने अर्यालले बताए । उनले भने, 'कफी बनाउने मेसिन जिल्लामा छैनन् ।' घरमा पुरानो प्रविधिले कफी बनाउन सबैले दुःख मान्ने कारण कफी खाँदैनन् । चियापत्ती किन्ने ग्राहक कफीको महत्त्व नबुझ्ने कारण किनेर खाँदैनन् ।

आफूले प्रयोग नगर्ने कफी उनीहरूले पहिला हाइल्यान्ड कफी प्रमोसन कम्पनी, एभरेस्ट कफी मिल, प्लानटेक कफीमार्फत बाहिरी देश निर्यात हुँदै आएको कफी यस वर्ष बढी तेस्रो मुलुक जाँदैछ । अहिले केही कफी कृषकमार्फत सीधै जापान कोरिया जाँदैछन् । अहिले ग्राहक र कृषकको सीधा सम्पर्क हुनाले पनि कृषकले बढी मूल्य पाउँनेछन् । यस वर्ष अहिलेसम्मकै बढी कफी उत्पादन भएको हो । गत वर्ष ३२ टन कफी निर्यात भएको थियो । यस वर्ष कफी बिक्रीबाट करिब एक करोड भित्र्याउने लक्ष्य लिइएको अर्यालले बताए ।

यस जिल्लाको २ नगरपालिका र ६० मध्ये ४० गाविसमा व्यावसायिक कफीखेती गरिन्छ । एक गाउँ एक उत्पादन कार्यक्रममा पनि यस जिल्लाका ३ गाविस छनोट भएका छन् । हावापानीको हिसाबले कफीका लागि यहाँको जग्गा उपयुक्त भएको जिल्ला कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकारी चेतनाथ अधिकारीले बताए । उनले भने, 'चिसो पहाडी जिल्ला भएकाले यहाँको कफी बास्नादार छ ।' तर यसरी उत्पादन भए पनि जिल्लामै कफी खाने संस्कार नहुनु दुःखलाग्दो भएको बताए |

No comments:

Post a Comment